वायुसेवा कम्पनीले लिने हवाइ भाडासँगै इन्धन शुल्क, यात्रु सेवा शुल्क,भ्याट, एजेन्सीको खर्चसहितको लागत टिकटमै जोडिएको हुन्छ । हरेक वायुसेवा कम्पनीले न्युनतम र अधिकतम भाडाकाे सीमा तोक्ने र सोही अनुसार विभिन्न क्लास निर्धारण गरेर टिकटको मूल्य तोक्छन् । यात्रुकाे चाप बढी हुने बेला उनीहरुले माथिल्लो क्लासको मात्रै टिकट बेच्न जोड गर्ने भएकोले पनि हवाई भाडा सामान्य अवस्थाको तुलनामा महँगो हुने गरेको छ ।

काठमाडौं । दशैंको चटारोसँगै काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढेको छ । पटक पटकको सडक मार्ग अवरुद्धले हवाई यात्रा गरेर गन्तव्यमा पुग्ने यात्रुको हतारो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निकै धेरै देखिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक साढे ३ सय वटा उडान आन्तरिकतर्फ मात्रै हुने गरेको छ । विमानस्थलबाट दैनिक करिब १८ हजारसम्म यात्रुको आन्तरिकतर्फ नै आवतजावत हुने गरेको छ ।
यात्रुको व्यवस्थापन मिलाउन यतिबेला आन्तरिक उडानका वायुसेवा कम्पनीलाई भ्याइनभ्याइ छ । उडान चापले आकासमै जहाज होल्ड हुने (एयर ट्राफिक)को समस्या पनि उत्तिकै बढेको छ ।
सामान्य समयको भन्दा यात्रु चाप, उडानको संख्या बृद्धि र समयमा नै सेवा दिनुपर्ने चुनौतीका कारण त्रिभुवन विमानस्थल कार्यालयलाई एयरट्राफिकको व्यवस्थापन मिलाउन त्यत्तिकै चुनौती छ ।

हवाई यात्रा गर्नुपर्ने, आतपकालीन सेवा लिने तथा बाध्यताले गर्ने उडानमा सामान्य समयको भन्दा भाडादर बढी हुने गुनासो हरेक दशैंमा नै धेरै आउने गरेको छ । आम नागरिकको खर्च बढी हुने, टार्न पुर्याउनै सकस भोगिरहेका नेपालीलाई यो बेला महँगो टिकटले थप तनाव दिएको हुन्छ ।
वायुसेवा सञ्चालक संघले भने नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम भाडादरभन्दा कममा नै उडान गर्ने निर्णय गरेको छ । वायुसेवाहरुले अब जारी गर्ने टिकटमा अधिकतमभन्दा कम दर लिन सम्बन्धित वायुसेवा कम्पनीलाई विहीबार आग्रह समेत गरेका छन् ।
सम्बन्धित वायुसेवा कम्पनी भने दशैंमा एकतर्फी यात्रु हुने भएकोले अरु बेलाको तुलनामा भाडा बढी लिनुपर्ने बाध्यता भएको बताउँछन् । यती एयरलान्सका प्रवक्ता सुदर्शन वर्तौला यो बेला काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढेको भएपनि भित्रनेको कम हुन्छन् । ‘जाँदा हरेक उडानमा खचाखच यात्रु देखिन्छ तर फर्कन खाली सिटको वास्ता कसैले नगर्ने गरेका हुँदैनन् ।’

यसरी निर्धारण हुन्छ हवाई भाडादर
वायुसेवा कम्पनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको ‘हवाई भाडा नियमन सम्बन्धी निर्देशिका २०७३’ ले तोकोको सीमाभन्दा बढी भाडा लिन पाउँदैनन् ।
निर्देशिकाले तोकेको सीमाभन्दा बढी भाडा लिन नपाउने भएकोले न्यूनतम, आधार र अधिकतम भाडादर तोकिएको हुन्छ । सोही दर अनुसार वायुसेवाले इन्धन शुल्क, यात्रु सेवा शुल्क, १३ प्रतिशतले हुन आउने भ्याटजोडर एकमुष्ट रकम टिकटका रुपमा लिन्छन ।
वायुसेवा कम्पनीले लिने भाडादरमा नै सम्बन्धित कम्पनीको लागत र टिकटिङ एजेन्सीको खर्च जोडिएको हुन्छ । वायुसेवा कम्पनीले लिने भाडा सबै गन्तव्यको लागि तोकिएको हुन्छ भने इन्धन शुल्क पनि हरेक गन्तव्य अनुसार फरक फरक हुन्छ । वायुसेवा कम्पनीले एउटै गन्तव्यको लागि विभिन्न क्लास तय गरेर भाडादर राखेको हुन्छ ।

यात्रु कम हुँदा सस्तो भाडादर बेच्ने र जति बढी हुँदै जान्छन त्योभन्दा माथिल्लो दरको भाडादरमा टिकट बेच्दै जाने गर्छन् । त्यसैले पनि न्यूनतम र अधिकमत भाडादरको सीमाको फरक धेरै देखिएपनि त्यो भाडाएर एकपछि अर्को क्लासहुँदै गएर निर्धारण हुन्छ ।
सबैभन्दा अगाडि टिकट काट्ने यात्रुले सस्तो टिकट पाउने र ढिलो काट्नेलाई तुलानात्मक रुपमा महँगो पर्दै जाने वायुसेवा कम्पनीको टिकटको सिस्टम नै भएको पनि सम्बन्धित वायुसेवा कम्पनीको भनाइ छ ।
वायुसेवा कम्पनीहरुले दशैंको लागि भन्दै सस्तो भाडादर नखोल्ने र आधार दरभन्दा बढीको मात्रै राख्ने गरेका छन् । जसका कारण् बढी मूल्यको टिकट देखिएको हो । यद्यपी अधिकतम सीमा नलिने र सो भन्दा तल्लो सीमासम्मको टिकट मात्रै बिक्री गर्ने सम्बन्धित वायुसेवाले बताएका छन् ।
अन्तर्राष्ट्रय उडानको टिकट भने झन बजारले निर्धारण गर्नै भन्दै खुला छाेड्ने हुँदा सिजन र कुनै कारणले बढाउने चापमा सामान्य अवस्थाकाे भन्दा निकै उच्च दरमा पुग्ने गर्छ । आन्तरिकमा जस्तो अधिकतम सीमा नतोकिने हुनाले वायुसेवा कम्पनीहरुले माग र आपूर्तिको सिद्धान्त अनुसार टिकट दर तय गर्ने गरेका हुन्छन् ।








प्रतिक्रिया