आन्दोलन प्रभावित व्यवसाय पुनर्स्थापना गर्न सहुलियत दरमा कर्जा, आधार दरमा ०.५ प्रतिशत प्रिमियम

91
Shares

काठमाडौं । जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित व्यवसायिले व्यवसाय पुनर्स्थापनाका लागि आधार दरमा ०.५ प्रतिशत प्रतिशत प्रिमियममै कर्जा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई जारी गरेको एकिकृत निर्देशन संशोधन गर्दै उक्त आन्दोलनबाट प्रभावित भएका व्यवसाय पुर्नस्थापना गर्न सहुलियत कर्जा दिन निर्देशन दिएको हो ।

‘जेन जी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग/व्यवसाय पुनर्स्थापना गरी सञ्चालन गर्न कर्जा प्रवाह गर्दा व्यवसाय सञ्चालनमा आउन लाग्ने समयसम्मका लागि बैंकहरुले आफ्‌नो आधार दरमा बढीमा ०.५ (शून्य दशमलब पाँच) प्रतिशत विन्दु प्रिमियममात्र थप गरी कर्जाको ब्याजदर कायम गर्नु पर्नेछ,’ संशोधित निर्देशन भनिएको छ ।

यसरी प्रवाह भएको कर्जाको स्वपुँजी अनुपात ८०ः२० भन्दा बढी भएमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्थालाई १ वर्ष छुट दिएको निर्देशनमा उल्लेख छ ।