
एजेन्सी । अमेरिकी सेनाका सयौं जनरल र एड्मिरलहरू अर्को साताको मंगलवार भर्जिनियामा आयोजना हुने बैठकमा सहभागी हुँदैछन् ।
त्यहाँ उनीहरूले रक्षामन्त्री पिट हेगसेथलाई भेट्ने कतिपय अमेरिकी अधिकारीहरूले सीएनएनलाई बताए । बैठकको एजेन्डा स्पष्ट छैन ।
उक्त बैठक भर्जिनियाको क्वान्टिकोस्थित सैनिक केन्द्रमा हुने अपेक्षा गरिएको छ । कतिपय अधिकारीहरूले बैठकबारे कसैलाई केही थाहा नभएको बताए । न त जनरल र फ्ल्याग अफिसरहरूलाई नै केही थाहा छ, न त किन अचानक कार्यतालिकामा यो बैठकको कार्यक्रम थपियो भन्ने कुरा नै थाहा छ ।
बैठकका विषयमा विभिन्न अड्कलबाजी चलेका छन् । जस्तै, सामूहिक शारीरिक परीक्षण, रक्षा विभागको पछिल्लो अवस्था सम्बन्धी ब्रिफिङ वा ठूलो संख्यामा अफिसरहरूलाई हटाउने घोषणा बैठमा गरिन सक्छ । जे भए पनि, यति धेरै वरिष्ठ अफिसरलाई एकैचोटि बोलाउनु असामान्य कुरा हो ।
केही अधिकारीहरूले सुरक्षासम्बन्धी चिन्ता पनि व्यक्त गरेका छन् । यति धेरै उच्चपदस्थ अफिसरहरूलाई एउटै स्थानमा राख्नु खतरनाक हुनसक्छ । हेगसेथले ठूलो सैन्य अभियानको घोषणा गर्ने वा कमान्ड संरचनाको पूर्ण पुनर्गठन गर्ने योजना बनाएका छैनन् यस्तो बैठक राख्नुलाई उचित कारण भन्न सकिन्न ।”
कतिपयले भेनेजुएलामाथि आक्रमणका लागि हेगसेथले योजना बनाउनका लागि यो बैठक बोलाइएको अनुमान पनि गरेका छन् ।
यस बैठकबारे पहिलोपटक बिहीवार बिहान द वाशिङटन पोस्टले समाचार सार्वजनिक गरेको थियो ।
हेगसेथले आफ्ना वरिष्ठ सैन्य अधिकृतहरूलाई अर्को साता सम्बोधन गर्ने पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले पुष्टि गरे । तर, पेन्टागनले बैठकको उद्देश्यबारे वा सबै जनरल र फ्ल्याग अफिसरहरूलाई बोलाइएको हो कि भन्ने प्रश्नमा जवाफ दिएको छैन ।
बिहीवार दिउँसो ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई यस बैठकबारे सोध्दा उनले भने, “संसारभरबाट मानिसहरू भेट्न आउनु राम्रो कुरा होइन र ?”
ट्रम्पले यो बैठक केही हदसम्म सैन्य उपकरणहरूको समीक्षा गर्ने विषयसँग सम्बन्धित रहेको बताए ।
“हामीसँग संसारकै उत्कृष्ट उपकरण छ,” उनले भने । “धेरै जनरलहरू यहाँ आउन चाहन्छन् । उनीहरूले उपकरण राखेका स्थलहरू पनि हेर्नेछन् । नयाँ हतियारबारे पनि छलफल गर्नेछन् ।”
तर सबै एकतारे वा सोभन्दा माथिका अफिसरहरूका लागि यो बैठक डाकिएको हो वा कमान्डरको भूमिकामा रहेका अफिसरहरूका लागि मात्र बैठक गरिएको हो भन्ने प्रस्ट छैन ।
ट्रम्प प्रशासनले जनवरी महिनादेखि नै धेरै उच्चपदस्थ जनरल र एड्मिरललाई पदमुक्त गर्दै आएको छ । कतिपयलाई हेगसेथको समावेशिता सम्बन्धी एजेन्डाविरुद्धको अभियानका कारण हटाइएको हो भने अरूलाई स्पष्ट कारण नदिइकनै पदबाट हटाइएको हो । साथै, मे महिनामा हेगसेथले रक्षा मन्त्रालयलाई चारतारे जनरल र एड्मिरलहरूको संख्या कम्तीमा २० प्रतिशतले घटाउन आदेश दिएका थिए ।
अहिलेसम्म हटाइएकामध्ये केही प्रमुख व्यक्तिहरू संयुक्त प्रमुखहरूको पूर्व अध्यक्ष जनरल सीक्यू ब्राउन, नेभल अपरेसनका पूर्व प्रमुख एड्मिरल लिसा फ्रान्चेटी, कोस्ट गार्डका पूर्व कमान्डेन्ट एड्मिरल लिन्डा फेगन, वायुसेनाका पूर्व उपप्रमुख जनरल जेम्स स्लाइफ, अमेरिकी रक्षा गुप्तचर एजेन्सीका पूर्व प्रमुख लेफ्टिनेन्ट जनरल जेफ्री क्रुज, नेभल रिजर्भका पूर्व प्रमुख भाइस एड्मिरल न्यान्सी लाकोर, र नेभल स्पेसल वारफेयर कमान्डका पूर्व प्रमुख रियर एड्मिरल मिल्टन स्यान्ड्स ।
रक्षामन्त्री बन्नुअघि हेगसेथले वर्तमान जनरल र एड्मिरलहरूबारे आलोचना गर्ने गरेका थिए । पोहोर साल एउटा पोडकास्टमा उनले भनेका थिए, “सेनाका एकतिहाइ वरिष्ठ अधिकारीहरू सक्रिय रूपमा राजनीतीकरणतर्फको धकेलाइमा सहभागी छन् ।” अर्को पोडकास्टमा उनले भनेका थिए, “वरिष्ठ अधिकारीहरू सबै गलत नियमअनुसार खेलिरहेका छन् र त्यसले वाशिङटनका विचारधारावादीहरूलाई मात्र सन्तुष्ट पार्छ ।”








प्रतिक्रिया