
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन पुनः सुरु गरेको छ । निर्वाचन घोषणा भएसँगै आयोगले जेनजी मतदाताको पनि मताधिकार सुरक्षित गर्ने गरी नामावली संकलन थालेको हो ।
सरकारले हालै अध्यादेशमार्फत् मतदाता नामावली ऐन संशोधन गरिसकेको छ । सोहीबमोजिम मतदाता नामावली संकलन कार्य कात्तिक ३० गतेसम्मको लागि पुन सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
सरकारले २०८२ फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने गरी मिति घोषणा गरिसकेको छ । लगत्तै नामावली संकलन कार्य स्थगित भएको थियो ।
जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने घोषणा गरेको छ । मतदाता नामावली ऐनको दफा ४ को उपदफा २ मा निर्वाचन मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोगका लागि मतदाता नामावली दर्ता गरिने छैन भन्ने व्यवस्थालाई अध्यादेशमार्फत् संशोधन गरेको छ ।
तर, राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरेका थुप्रै युवाहरूको योग्यता पुगेर पनि मतदाता नामावलीमा नाम दर्ता नभएकाले उनीहरूका लागि नाम दर्ता गराउन कानुनी समस्या समाधान गर्न सरकारले बुधबार मात्रै अध्यादेश जारी गरेको थियो ।
सोही अध्यादेशपछि निवार्चन आयोगले बिहीबार एक सूचना प्रकशित गर्दै कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन हुने बताएको छ । मतदाता नामावलीमा नाम दर्ता नभएका १६ वर्ष उमेर पूरा भै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकहरूले सार्वजनिक बिदाको दिन बाहेक विहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा दर्ता गर्न सकिने आयोगको सूचनामा उल्लेख छ ।
यस्तै विवाह भई अन्यत्र गएका, बसाइसराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन सकिने सूचनामा उल्लेख छ ।
बिहीबारै प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते भित्रै स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सरकारले आवश्यक पर्ने जनशक्ति, बजेट, निर्वाचन सामाग्री, सुरक्षा र कानुनी व्यवस्था लगायतका व्यवस्थाका विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरी आम निर्वाचनको प्रारम्भिक कार्य सुरु गरिसकेको जानकारी दिइन् । उनले १८ वर्ष पुगेका जेनजी युवापुस्तालाई मताधिकार प्रदान गर्ने र मतदाता नामावली अद्यावधिक गर्ने गरी विद्यमान निर्वाचन कानुनलाई अध्यादेशको माध्यमबाट संशोधन गरिसकेको पनि बताइन् ।







प्रतिक्रिया