जेनजी विद्रोहले उठाएका मुद्दा सम्बोधन नगरी पार्टी अघि बढ्न सक्दैन : जनार्दन शर्मा

63
Shares

काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले हालैको जेनजी विद्रोहले उठाएका एजेन्डालाई सम्बोधन नगरी पार्टी र देश अघि बढ्न नसक्ने बताएका छन् । बिहीबार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले भ्रष्टाचार, कमिसनतन्त्र, दलतन्त्र, परिवारवादलगायत कारण देश संकटमा परेको निष्कर्ष प्रस्तुत गरे।

शर्माले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पुनर्गठन अब अपरिहार्य भएको स्पष्ट पार्दै भने, ‘अध्यक्ष प्रचण्डसहित दशकौँदेखि एउटै पदमा रहेका पदाधिकारीले सामूहिक राजीनामा दिई आगामी महाधिवेशनमा निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय लिनुपर्छ।’

उनले पार्टीले स्वतन्त्र सम्पत्ति छानबिन आयोग गठन गरी नेताहरूको सम्पत्ति सार्वजनिक गरिनुपर्ने माग राखे। साथै, अध्यक्ष प्रचण्डसहित हालका पदाधिकारी निर्देशक कमिटीको रूपमा रहँदै नयाँ पुस्ताको नेतृत्वलाई सहयोग गर्ने संयन्त्र बनाउनुपर्ने धारणा राखे।

शर्माले भने, ‘यसबाट पुरानो नेतृत्वको योगदान र सम्मान सुरक्षित हुनेछ भने नयाँ पुस्ताको नेतृत्वलाई जनताले विश्वास गर्ने वातावरण पनि बन्नेछ।’

उनका अनुसार जेनजी आन्दोलनले मुखरित पारेका भ्रष्टाचारविरुद्धको संघर्ष र नेतृत्व पुस्तान्तरणको मागलाई पार्टीले आत्मसात गर्नुपर्ने आवश्यकता देखिएको छ। अन्यथा महाधिवेशन पुनः विधान अधिवेशनजस्तै औपचारिक मात्र हुने खतरा रहेको उनले चेतावनी दिए।

शर्माले प्रचण्डको ऐतिहासिक योगदानलाई उच्च सम्मान गर्दै नयाँ पुस्ता अध्ययनशील, श्रमशील र अग्रगामी रहेको विश्वास व्यक्त गरे। उनले भने, ‘२१औँ शताब्दीमा युवा र सम्पूर्ण जनताको अपेक्षाअनुसार पार्टीलाई एकताबद्ध गर्ने यही उपाय हो। यस निर्णयले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न योगदान पुर्‍याउनेछ।’