भारतले गर्‍यो अग्नि क्षेप्यास्त्रको परीक्षण, २ हजार किलोमिटर टाढा प्रहार गर्न सक्षम

217
Shares

एजेन्सी । भारतले अर्को पुस्ताको इन्टरमिडियट रेन्जको अग्नि क्षेप्यास्त्रको सोमवार परीक्षण गरेको छ ।

यसले भारतको रणनीतिक प्रतिरक्षा क्षमता बढाएको विश्लेषकहरूले बताएका छन् ।

डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेशनले स्ट्राटेजिक फोर्सेस कमान्डसँग मिलेर क्षेप्यास्त्र परीक्षण गरेको थियो । यसबाट मिशनका सबै लक्ष्यहरू पूरा भएको भारतीय अधिकारीहरू दाबी गर्छन् ।

अग्नि प्राइम क्षेप्यास्त्रले २ हजार किलोमिटर टाढाको लक्ष्यलाई प्रहार गर्न सक्छ । यो अत्याधुनिक क्षेप्यास्त्र प्रणालीलाई रेलमा राखेर गुडिरहेको अवस्थाबाट समेत प्रहार गर्न सकिन्छ । देशको कुनै पनि कुनाबाट यसलाई प्रक्षेपण गर्न मिल्छ ।

यसमा अत्याधुनिक सञ्चार प्रणाली र बलियो सुरक्षा संयन्त्र राखिएकाले उच्च जोखिमको स्थितिमा पनि यो भरपर्दो हतियार हो ।

रेलबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र बनाएर भारतले शत्रुलाई रोक्ने र प्रत्याक्रमण गर्ने क्षमता बढाएको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले डीआरडीहो, एसएफसी र सशस्त्र बलहरूलाई यस उपलब्धिका लागि बधाई दिएका छन् ।

रेलबाट प्रक्षेपण गर्न मिल्ने क्यानिस्टराइज्ड मिसाइल लन्च सिस्टम भएका कम देशहरूमा भारत पनि परेको सिंहले बताए ।