
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकतामा जोड दिएका छन् । भिडियो सन्देशमार्फत उनले जेनजी विद्रोहपछि बदलिएको परिस्थितिलाई आत्मसात् गर्दै संगठनलाई नयाँ ढंगले पुनर्गठन गर्न सबैलाई साथ दिन आग्रह गरेका हुन् ।
संकटका प्रत्येक घडीमा पार्टी पुनर्गठित हुँदै आएको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै वर्तमान अवस्थालाई समेत अवसरको रूपमा लिनुपर्ने उनको भनाइ छ । उनले भने, “आत्मभर्त्सना नगरी आत्मसमीक्षा गर्न सकियो भने पार्टीलाई अझ सशक्त बनाउन सकिन्छ।”
भट्टराईले इतिहासका विभिन्न मोडमा आन्दोलनसँगै पुनर्गठनका मिसालहरू रहेको उल्लेख गर्दै १९ माघ २०६१ को प्रसंग सम्झिए। तत्कालीन राजा ज्ञानेन्द्रले संविधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कू’ गरेपछि समाज र पार्टीमा सन्नाटा छाएको अवस्थामा युवा पुस्ताको नेतृत्वमा पुनर्गठनको बहस चलेको र त्यसैबाट एमालेको नवौं महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्ने एजेन्डा स्वीकार गरेको उनले बताए।
उनले नेतृत्वको सम्मानसहित पार्टीलाई जोगाउन पुनर्गठन निर्णायक साबित भएको उल्लेख गरे। कमजोरी स्वीकृत नगर्ने प्रवृत्तिले उल्टै विपक्षीलाई बलियो बनाउने चेतावनी पनि दिए।








प्रतिक्रिया