लद्दाखमा हिंसात्मक प्रदर्शन : सोनाम वाङचुक किन मुछिए विवादमा ?

1.4k
Shares

एजेन्सी । भारतको केन्द्रशासित क्षेत्र लद्दाखको राजधानी लेहमा बुधवार भएको हिंसात्मक प्रदर्शनका कारण चारजनाको मृत्यु भएको छ र ७० भन्दा बढी मानिस घाइते भएका छन् ।

प्रदर्शनका क्रममा भारतीय जनता पार्टीको कार्यालय र सीआरपीएफ सुरक्षाकर्मीहरूको गाडीमा पनि आगजनी भएको थियो । त्यसपछि लेहमा कर्फ्यु लगाइएको छ ।

बुधवारको हिंसाअघि दुई हप्तासम्म शान्तिपूर्ण प्रदर्शन भइरहेका थिए । वातावरण अभियन्ता सोनाम वाङचुकले भोक हडताल गरिरहेका थिए ।

तर, उनले दिएका बयानले हिंसा भड्किएको भारत सरकारको आरोप छ । उनले नेपालमा भएको जेनजी आन्दोलन र सन् २०११ मा भएको अरब क्रान्तिको सन्दर्भ उठाउँदै युवाहरूको धैर्यको बाँध टुट्न थालेको बताएका थिए । त्यो उत्तेजनात्मक अभिव्यक्ति भएको सरकारको आरोप छ ।

लेहमा हिंसा भड्किएपछि वाङचुकले त्यसको निन्दा गर्दै भोक हडताल फिर्ता लिएका छन् । त्यसक्रममा पनि उनले यो जेनजी आन्दोलन भएको बताए ।

भारतीय जनता पार्टीले सन् २०२० मा गरेको प्रतिज्ञा पूरा नगरेको र स्थानीय युवाहरू लामो समयदेखि बेरोजगार रहिरहेकाले गर्दा लेहमा हिंसा भड्किएको वाङचुकले दाबी गरेका छन् ।

सन् २०१९ मा भारतको संसद्ले जम्मु कश्मीरलाई विशेष अधिकार दिने धारा ३७० खारेज गर्दै जम्मु कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको थियो । त्यसैक्रममा लद्दाखलाई पनि बेग्लै केन्द्रशासित क्षेत्र बनाइएको थियो ।

जम्मु कश्मीर जस्तो गरी लद्दाखको बेग्लै विधानसभा छैन ।

सोनाम वाङचुक लगायतले लद्दाखलाई केन्द्रशासित क्षेत्र बनाएको कुरालाई स्वागत गरेका थिए । तर, लेफ्टिनेन्ट गभर्नरको शासनमा राजनीतिक शून्यता छाएको भनी लद्दाखीहरूले चिन्ता व्यक्त गरेका थिए । लद्दाखमा विधानसभा नभएकाले केन्द्र सरकारको सिधै शासन चलिरहेको छ ।

केन्द्रशासित क्षेत्र जम्मु कश्मीरमा पनि पोहोर सालसम्म निर्वाचित सरकार थिएन । तर, विधानसभा निर्वाचनपछि मुख्यमन्त्री उमर अब्दुल्लाको नेतृत्वमा सरकार गठन भएको छ ।

लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने भन्दै विशाल प्रदर्शन र भोक हडतालहरू हुँदै आएका थिए । पहिलोपटक बौद्ध र मुसलमान समुदायका संस्था मिलेर लद्दाखलाई पूर्ण राज्य बनाउनका लागि संयुक्त आन्दोलन गरेका थिए ।

केन्द्र सरकारले लद्दाखको मागको अध्ययनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । कुराकानी पनि भएको हो तर त्यसको ठोस निष्कर्ष निस्केन । गत मार्च महिनामा लद्दाखी प्रतिनिधिहरूले केन्द्र सरकारका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका थिए ।

त्यसपछि लद्दाखमा पूर्ण राज्यका लागि र संविधानको छैटौं अनुसूची अन्तर्गतको सुरक्षा दिलाउनका लागि लगातार प्रदर्शन हुँदै आएका थिए । संविधानको छैटौं अनुसूचीले आदिवासी वा पहाडी क्षेत्रका बासिन्दालाई संवैधानिक सुरक्षा र बढी स्वायत्तता दिन्छ । लद्दाखीहरूले आफ्नो आदिवासी पहिचान र कमजोर पर्यावरणको संरक्षणका लागि थप स्वायत्तता पाउनुपर्ने माग पनि राखिरहेका छन् ।

सोनाम वाङचुकको नेतृत्वमा भएको भोक हडतालमा रहेकामध्ये दुईजनाको स्वास्थ्य बिग्रिएपछि अस्पताल लगिएको थियो । त्यसपछि बौद्धहरूको संस्था लेह एपेक्स बडी (ल्याब) को विद्यार्थी संगठनले बुधवार हडतालको आह्वान गरेको थियो ।

ल्याबका नेताहरूले गृह मन्त्रालयसँग कुराकानी गर्दै आएका थिए । गृहले अर्को वार्ता अक्टोबर ६ मा गरिने भनी आफैं मिति निर्धारण गरेपछि ल्याब नेताहरू असन्तुष्ट थिए । लद्दाखीहरूले लामो समयदेखि भोक हडताल गरिरहेकोमा ढिलो गरी वार्ता राख्नु ठीक नभएको उनीहरूको भनाइ छ ।

सरकारले अकर्मण्यता देखाएकाले लद्दाखीहरूमा असन्तुष्टि बढेको प्रदर्शनकारीहरूको भनाइ छ ।

पूर्ण राज्यको मागसँगै लद्दाखीहरूले थप रोजगारी, भूमिमा अधिकार र संवैधानिक संरक्षणको माग गरिरहेका छन् । त्यससँगै लद्दाखको कमजोर पर्यावरण, विशाल परियोजनाका कारण वातावरणमा परेको जोखिम र स्थानीयहरूसँग परामर्श नगरिकन गरिएका विकासले पनि लद्दाखीहरूलाई आक्रोशित तुल्याइरहेको छ ।

भोक हडतालको नेतृत्व सोनाम वाङचुकको नेतृत्वमा भएको हो । उनी मेकाकिनल इन्जिनियर हुन् । सन् २०१८ मा उनले रामोन म्यागसेसे पुरस्कार जितेका थिए । म्यागसेसे पुरस्कार जित्ने व्यक्तिहरू पश्चिमको वफादार हुने गरेको पाइएको छ ।

नेपाली भाषा पनि राम्रोसँग बोल्न सक्ने वाङचुकबाटै प्रभावित भएर सन् २००९ मा आएको बलिउड फिल्म थ्री इडियट्सको पात्र फुनसुख वाङ्दु बनाइएको हो । त्यो भूमिका आमिर खानले निर्वाह गरेका थिए ।

ती वाङचुकले भड्किलो कुरा गरेर हिंसा गराउन भूमिका खेलेको भारतको केन्द्र सरकारको आरोप छ । हिंसा भड्किएपछि भोक हडताल अन्त्य गरी परिस्थितिलाई नसम्हालिकन एम्बुलेन्स चढेर उनी आफ्नो गाउँ गएको केन्द्र सरकारको आरोप छ ।

वाङचुकले चाहिँ भाजपाले गरेको प्रतिज्ञा कार्यान्वयन नगरेकाले हिंसा भड्किएको र बुधवार आफ्नो जीवनको सबभन्दा दुःखदायी दिन भएको बताए ।

भाजपाले विपक्षी दल कांग्रेसले हिंसात्मक प्रदर्शन गराएको भनी आरोप लगाएको थियो । तर, वाङचुकले कांग्रेससँग ५ हजार मान्छे बोलाउने हैसियत नभएको भन्दै त्यो आरोप खारेज गरेका थिए ।

भाजपा नेता अमित मालवीयले लेहमा भएको हिंसाको फोटो र भिडियो सार्वजनिक गर्दै अप्पर लेह वार्डका कांग्रेस काउन्सिलर फुन्तसोग स्टानजिन त्सेपागले भीडलाई भड्काएको आरोप लगाए । ती व्यक्ति नै भाजपाको कार्यालय र हिल काउन्सिलमा आगजनी गर्ने भीडको हिस्सा भएको मालवीयको भनाइ छ ।

कांग्रेस नेता राहुल गान्धीले यसैको सपना देखिरहेको हुन सक्ने मालवीयको भनाइ छ । गान्धीले केही दिनअघि देशका युवा र जेनजीलाई लोकतन्त्र जोगाउन र भोटचोरी रोक्नका लागि आह्वान गरेका थिए ।

अहिले लद्दाखमा बिस्तारै शान्ति छाएको छ । विरोध प्रदर्शन बन्द भएका छन् र प्रशासनले भेलामा रोक लगाएको छ । आज र भोलि लद्दाखी नेताहरूसँग केन्द्र सरकारले भेटघाट गर्न खोजेको छ ।