
एजेन्सी । बंगलादेश सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले दक्षिण एसियाली क्षेत्रीय सहकार्य संगठन सार्क ब्युँताउनका लागि प्रस्ताव गरेका छन् ।
दक्षिण एसिया र मध्य एसियाको जिम्मेवारी पाउने गरी भारतका लागि अमेरिकी राजदूतमा प्रस्ताव गरिएका सर्जिओ गोरसँगको कुराकानीमा युनुसले यो विषय उठाएका हुन् ।
युनुसले गोरसँग न्युयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा कुराकानी गरेका हुन् । बंगलादेशको अन्तरिम सरकारले सार्कलाई ब्युँताउनका लागि प्रयास बढाइरहेको युनुसले बताए ।
भूपरिवेष्ठित मुलुकहरू नेपाल र भुटानका साथै भारतको पूर्वोत्तरका सात राज्यहरूसँगको आर्थिक सम्बन्ध सुदृढ बनाउनका लागि पनि सार्क ब्युँताउनु जरुरी रहेको युनुसले बताए ।
दुई वर्षको अन्तरालमा हुनुपर्ने भए पनि सन् २०१४ मा काठमाडौंमा भएको शिखर सम्मेलन नै अन्तिम हो । सन् २०१६ मा कश्मीरको उरीमा पाकिस्तान समर्थित आतंकवादीहरूले आक्रमण गरेपछि पाकिस्तानको इस्लामाबादमा हुनुपर्ने सम्मेलनलाई भारतले बहिष्कार गरेको थियो ।
पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन गरिरहुन्जेल सार्क शिखर सम्मेलन र संवाद हुन नसक्ने भारतको अड्डी छ । सार्कको साटो भारतले बिमस्टेकलाई अघि सारेको छ । त्यसमा पाकिस्तान सदस्य छैन ।
युनुसको प्रस्तावमा गोरको कस्तो प्रतिक्रिया रह्यो भनी खुलेको छैन । भारतले सार्कलाई ब्युँताउनका लागि बाह्य दबाब आएमा त्यसको प्रतिकार गर्ने संकेत दिएको छ ।
पाकिस्तानले सार्कको भर्चुअल सम्मेलन गर्न खोजेको भए पनि पहलगाममा आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच सानो युद्ध भएकाले त्यो पनि सम्भव देखिएको छैन ।
नेपालले पनि सार्कलाई ब्युँताउन चाहेको छ । तर, भारतको इच्छाविना सार्कले पुनर्जीवन पाउने सम्भावना छैन ।
यसैबीच चीनले पाकिस्तान र बंगलादेशसँग मिलेर कुनमिङमा त्रिपक्षीय वार्ता गरी दक्षिण एसियामा नयाँ क्षेत्रीय संगठन बनाउन प्रस्ताव गरेको छ । तर, यो संगठन कुनै देशविरुद्ध लक्षित नरहेको भनी बंगलादेशले पछि स्पष्ट पारेको थियो ।
युनुसका लागि सार्क क्षेत्रीय सहकार्य र सम्पर्क बढाउनका लागि महत्त्वपूर्ण संगठन हो । सम्पूर्ण दक्षिण एसियाली क्षेत्रमा आर्थिक सहकार्यका लागि सार्कलाई पुनर्जीवन दिनुपर्ने उनको भनाइ छ । यसलाई युरोपेली संघ जस्तो मोडलमा विकसित गर्न सकिने उनको कथन छ ।
सार्क राष्ट्रहरू एक ठाउँमा उभिएमा अनेकौं समस्याहरू समाधान हुने युनुसको दाबी छ ।
युनुस बंगलादेशलाई दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको समूह आसियानको पनि सदस्य बनाउन चाहन्छन् । त्यसमा जोडिँदा बंगलादेशको विकासले गति पाउने युनुसको भनाइ छ ।








प्रतिक्रिया