नेपालमा सत्तापलट गर्ने जेनजी आन्दोलन: कारण ‘युथ बल्ज’

युवाहरूको अनुपात ठूलो हुँदा सामाजिक र राजनीतिक अशान्ति बढ्न सक्छ

266
Shares

काठमाडौं । हिमाली राष्ट्र नेपाल हालैको ठूलो अशान्ति र हिंसात्मक आन्दोलनका कारण पुनः एकपटक विश्व मञ्चमा चर्चामा आएको छ । जसको सुरुवात ८ सेप्टेम्बर (भदौ २३) बाट भएको थियो ।

आन्दोलन चर्किँदा केवल नेपाली सत्तारूढ पक्ष मात्र नभई अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई समेत आश्चर्यचकित पारेको छ ।

आन्दोलनको प्रत्यक्ष कारण भनेको सरकारद्वारा युट्युब, फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धलाई मानिएको छ । ती प्रविधि कम्पनीहरूले सर्वोच्च अदालतको निर्देशनअनुसार तयार पारिएको अनुपालन संहिता पालना नगरेपछि सेप्टेम्बर ३ मा तोकिएको म्याद गुज्रिएको र त्यसपछि सरकारलाई पूर्ण प्रतिबन्ध लगाएको थियो । यही कदमले युवामाझ आक्रोशलाई झनै उकास्यो।

८ सेप्टेम्बरमा काठमाडौंसहित देशका विभिन्न भागमा आन्दोलन सुरु भयो । जसमा प्रहरीले बल प्रयोग गर्दा १९ जनाको ज्यान गयो । सरकारले गरेको यो कठोर दमनकारी कदमले नेपालका विभिन्न स्थानहरूमा हिंसात्मक आन्दोलन भड्कायो, जसमा संसद्, सर्वोच्च अदालत र अन्य सरकारी कार्यालयमाथि आक्रमण भयो।

दुई दिनमै केपी शर्मा ओली नेतृत्वको सरकार राजीनामा गर्न बाध्य भयो । यी घटनाक्रमहरूले नेपालका युवामाझ लामो समयदेखि पलाइरहेको असन्तोषलाई प्रष्ट देखाएको छ । जसलाई व्यापक भ्रष्टाचार, नातावाद, बेरोजगारी र सरकारी असक्षमताले थप उक्साएको हो ।

युथ बल्ज’ को अवधारणा सामाजिक परिवर्तन वा आन्दोलनको नयाँ विमर्श बनेको छ । विश्वका धेरै ऐतिहासिक घटनाले यसलाई पुष्टि गरेका छन् । सैद्धान्तिक रूपमा यो विचार गुनार हेनसोन, गेरी फुलर र ज्याक ए. गोल्डस्टोन जस्ता विद्वान्हरूको कार्यबाट प्रख्यात भएको हो । उनीहरूको भनाइमा, जब कुनै मुलुकमा युवाहरूको अनुपात धेरै हुन्छ (१५–२९ वर्षलाई सामान्यतया युवा भनिन्छ) त्यो देश आर्थिक वृद्धिको इन्जिन बन्न सक्छ । तर यदि बेरोजगारी, अवसरको कमी वा अधिकारविहीनताको महसुस भयो भने त्यही युवाशक्ति सामाजिक अशान्ति र हिंसामा परिणत हुन्छ ।

सीमित रोजगारी र स्रोतमा तीव्र प्रतिस्पर्धा गर्दा युवामाझ निराशा, आत्मसम्मानको ह्रास हुन्छ जसले आन्दोलन वा विरोधमा सहभागी हुन प्रेरित गर्छ । सन् १९७० देखि १९९९ सम्म भएको अध्ययनले जहाँ ६०% भन्दा बढी जनसंख्या ३० वर्ष मुनिका थिए, त्यहाँ ८०% आन्तरिक द्वन्द्व भएको देखाएको थियो ।

युथ बल्ज सिद्धान्त अनुसार, जब कुनै मुलुकमा युवाहरूको अनुपात असमान रूपमा ठूलो हुन्छ त्यहाँ सामाजिक र राजनीतिक अशान्ति बढ्न सक्छ । विशेष गरी जब आर्थिक अवसर र राजनीतिक सहभागिताका बाटोहरू सीमित हुन्छन्।

हालै नेपालमा भएको जेनजी आन्दोलन यस सिद्धान्तको प्रष्ट उदाहरण हो । जहाँ भ्रष्टाचार, सीमित अवसर र अभिव्यक्ति नियन्त्रणजस्ता असन्तोषहरूले ठूलो युवा परिचालन निम्त्यायो ।

सन् २०२१ को जनगणनाअनुसार नेपालको करिब ५६% जनसंख्या ३० वर्षभन्दा कम उमेरका छन् । जसमा १ करोड २४ लाखलाई १६–४० वर्षका युवाको रूपमा वर्गीकृत गरिएको छ । कुल जनसंख्याको झण्डै एक चौथाइ किशोर (१०–१९ वर्ष) र करिब एक पाँचौं युवा (१५–२४ वर्ष) छन् । डिजिटल प्रविधिमा पारंगत यो पुस्ताले असन्तोषलाई छिट्टै परिचालन गर्न र सामाजिक सञ्जालमार्फत बढाउन सक्छ ।

Source: UNFPA

नेपाल सरकारको आधिकारिक तथ्यांकअनुसार २०२२/२३ मा बेरोजगारी दर १२.६% थियो जसमा १५–२४ वर्ष उमेर समूहको बेरोजगारी दर झण्डै २२.७% थियो ।

विश्व बैंक र ट्रेडिङ इकोनोमिक्सका पूर्वानुमान अनुसार २०२४ मा बेरोजगारी दर १०.७% र २०२५ मा १०–१२% को हाराहारीमा रहनेछ ।

युवामाझको उच्च बेरोजगारी हालैको आन्दोलनको मुख्य कारण हो र भविष्यका लागि नीतिगत चुनौती पनि यही हो।

इतिहासमा युथ बल्जले ठूला आन्दोलनहरू निम्त्याएको देखिन्छ । उदाहरणका लागि, उत्तरी अफ्रिका र मध्यपूर्वका मुलुकहरू- इजिप्ट, ट्युनिसिया र यमनमा भएको ‘अरब स्प्रिङ’ आन्दोलन युवा नेतृत्वमा भएको थियो । त्यतिबेला यी मुलुकहरूको आधाभन्दा बढी जनसंख्या २५ वर्ष मुनि थियो । रोजगारीको कमी र अवसरको अभावले विद्रोहलाई झनै बलियो बनायो । इजिप्टको ताह्रिर स्क्वायरमा युवाहरूको भूमिकाले आन्दोलनलाई उत्प्रेरकको रूपमा अघि बढायो ।

सब-सहारा अफ्रिकामा २०२४ मा बेरोजगारी, भ्रष्टाचार र बढ्दो महंगीविरुद्ध युवामुखी आन्दोलनहरू नाइजेरिया, केन्या, घाना, युगान्डा र मोजाम्बिकमा फैलिएका थिए । दक्षिण एसियामा अर्को महत्वपूर्ण उदाहरण भनेको बंगलादेश हो, जहाँ विद्यार्थीहरूले अगस्ट २०२४ मा राष्ट्रव्यापी आन्दोलन गर्दै हसिना शासनलाई हटाए ।

यी सबै घटनाले केवल जनसंख्या दबाबकै कारण विद्रोह हुँदैन; बेरोजगारी, आर्थिक सङ्कट र राजनीतिक समावेशीताको कमी जब युवाशक्ति सँगै आउँछ, तब ठूला आन्दोलन सम्भव हुन्छ भन्ने देखाउँछ । युथ बल्जले उत्प्रेरकको भूमिका खेलेर आन्दोलनको सम्भावना अत्यधिक बढाउँछ ।

आगामी दिनमा नेपालले चेतावनी र अवसर दुवै पाएर अघि बढ्नु पर्नेछ । यदि नीतिनिर्माताहरूले युवाको मागलाई बुझेर रोजगारी सिर्जना गर्ने, भ्रष्टाचार उन्मूलन गर्ने र लोकतान्त्रिक संस्थाप्रति विश्वास पुनःस्थापित गर्ने सुधार ल्याए भने यही युवाशक्ति नेपालको सबैभन्दा ठूलो सम्पत्ति बन्न सक्छ । यदि होइन भने, नेपाललाई विश्वलाई फेरि सम्झाउने एउटा उदाहरण मात्र बनाइनेछ-युवालाई बेवास्ता गर्नु भनेको राष्ट्रको भविष्यसँग जुवाखेल गर्नु हो ।

नेपालको जेनजी क्रान्ति केही दिनमै सम्पन्न भए पनि यसको पाठ र यसको प्रभाव महादेश र पुस्ता पार गर्दै लामो समयसम्म महसुस गरिनेछ ।

(इन्टरनेशनल रिलेशनमा प्रकाशित लेखक आलोक शुभमको लेख । शुभम नयाँ दिल्लीस्थित ओपी जिंदल ग्लोबल विश्वविद्यालयको जिंदल स्कूल अफ इन्टरनेशनल अफेयर्समा वरिष्ठ अनुसन्धान सहकर्मी तथा डक्टोरल उम्मेदवार हुन् । उनले गुजरातको सेन्ट्रल विश्वविद्यालय, गान्धीनगरबाट अन्तर्राष्ट्रिय राजनीति विषयमा एमफिल गरेका छन् । उनको अनुसन्धान चासो भारतीय विदेश नीति, दक्षिण एसियामा भू-राजनीतिक विकासहरू र गैरपारम्परिक सुरक्षा सम्बन्धी बदलिँदो विमर्शहरूमा केन्द्रित छ।)