सरकारले बनायो भौतिक पूर्वाधार पुनरर्निमाण कोष, व्यक्तिगतदेखि संस्थागत रुपमा योगदान गर्न आग्रह

420
Shares

काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा पुनरर्निमाण कोष गठन गरेको छ । । भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गर्न उक्त कोष खडा गरेको अर्थ मन्त्रालयले बुधबार जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भौतिक संरचनाको पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना सम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउन उक्त कोष आवश्यक रहेको पनि उल्लेख छ ।

मन्त्रिपरिषद्को यही असोज ०५ गतेको निर्णयबाट भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी भएको उल्लेख छ । उक्त गठन आदेशले आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान, राहत र पुनर्स्थापना सम्बन्धी कार्यको लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदानका गर्न पनि सरकारले आग्रह गरेको छ ।

यही भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भएर ठूलो क्षति भएको छ । त्यस्ता भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको पनि अर्थ मन्त्रालयको भनाइ छ ।

नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन नेपाल सरकार सबैमा हार्दिक आह्वान गरेको पनि अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सूचनमा उल्लेख छ ।

यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउनखर्च कट्टी गर्न पाइने उल्लेख छ ।