भारतको लद्दाखमा जेनजीले गरे आन्दोलन, भाजपा कार्यालयमा आगजनी

2.7k
Shares

एजेन्सी । भारतको केन्द्रशासित क्षेत्र लद्दाखको राजधानी लेहमा जेनजी युवाहरूको विरोध प्रदर्शन हिंसात्मक बनेको छ ।

जनताको धैर्यको बाँध फुट्न थालेको भनी लेह एपेक्स बडी (ल्याब) का नेताहरूले चेतावनी दिएको दुई दिनपछि हिंसात्मक प्रदर्शन भएको हो ।

लद्दाखलाई राज्य बनाउनुपर्ने मागका साथै त्यस क्षेत्रको अद्वितीय चरित्रलाई कायम राख्न पनि माग गरिएको छ ।

ल्याबका नेताहरूले सेप्टेम्बर १० बाट भोक हडताल थालेका थिए । आफ्ना माग पूरा नहुन्जेल भोक हडताल गरिरहने उनीहरूको भनाइ छ ।

प्रख्यात अभियन्ता सोनाम वाङचुकले पनि यसै संस्थाको मातहतमा धर्ना दिइरहेका थिए । तर, हिंसा भड्किएपछि उनले त्यसको निन्दा गर्दै धर्ना त्यागेका थिए ।

ल्याबले कार्गिल डेमोक्रेटिक अलायन्ससँग मिलेर गृह मन्त्रालयलाई आफ्नो माग पेश गरेको छ । विगत चार वर्षदेखि उनीहरूले विभिन्न माग राख्दै आएका छन् ।

ल्याबको युवा संगठनले बुधवार विरोध प्रदर्शनको आह्वान गरेको थियो । उसले केन्द्र सरकारसँग तत्काल वार्ताको माग गरेको छ ।

गृह मन्त्रालयले चाहिँ अक्टोबर ६ मा वार्ता हुने जनाएको छ ।

त्यसमा आपत्ति जनाउँदै भएको बन्द र हडतालमा हिंसा भड्किएको हो । लेहमा रहेको भारतीय जनता पार्टीको कार्यालयमा आगजनी पनि गरिएको छ ।

भाजपा नेतृत्वको केन्द्र सरकारले लद्दाखलाई संविधानको छैटौं अनुसूचीमा राख्नका लापग गरेको प्रतिज्ञा पूरा गर्नुपर्ने बताए । हिल काउन्सिलको निर्वाचनअघि यो प्रतिज्ञा पूरा गर्नुपर्ने उनको भनाइ छ ।

शान्तिपूर्ण आन्दोलनले केही पनि हासिल नभएको भन्दै मानिस अधैर्य बनेको वाङचुकको भनाइ छ । भारतलाई असहज बनाउने कुनै काम पनि आफूहरूले गर्न नचाहेको उनले बताए ।

लद्दाखमा रहेका दुई प्रमुख धर्मावलम्बी बौद्ध र मुसलमानहरूले मिलेर आन्दोलन गरिरहेका छन् ।