रुसलाई कागजी बाघको संज्ञा दिँदै ट्रम्पले भने, ‘युक्रेनले आफ्नो भूभाग फिर्ता लिन सक्छ’

378
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसलाई कागजी बाघको संज्ञा दिएका छन् ।

ट्रम्पले संयुक्त राष्ट्रसंघको साधारणसभाको साइडलाइनमा कुराकानी गर्दै युक्रेनले रुसको आक्रमणअघि नियन्त्रणमा राखेको क्षेत्र पुनः हात पार्न सक्ने बताए । नेटो सदस्यहरूको एयरस्पेसमा रुसी विमान वा ड्रोन पसेमा त्यसलाई खसाउन सकिने पनि ट्रम्पले बताए ।

सन् २०१४ मा क्राइमिया र सन् २०२२ को आक्रमणपछि युक्रेनको पूर्वी क्षेत्रमा रहेका भूभागमाथि रुसले कब्जा जमाएको छ । त्यो भूभाग युक्रेनले फिर्ता लिन सक्ने भनी ट्रम्पले युक्रेनका विषयमा पहिलोपटक सकारात्मक कुरा गरेका छन् ।

पहिला उनले शान्ति सम्झौताका लागि युक्रेनले आफ्ना भूभाग त्याग्नुपर्ने भन्ने गरेका थिए ।

त्यसैगरी नेटो सदस्यहरूले रुसको विमानलाई क्षेप्यास्त्र हानेर खसाउन सक्ने भनेर नेटो र रुसको द्वन्द्वको सम्भावनालाई पनि औंल्याएका छन् । युक्रेनलाई हतियार सहयोग गर्ने कामभन्दा यो एक कदम अघि बढेको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग न्युयोर्कमा कुराकानी गरेपछि ट्रम्पको बयान आएको हो ।

पछि सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले यस युद्धमा रुस कागजी बाघ देखिएको लेखे । युद्धले गर्दा रुसको ठूलो रकम खर्च भइरहेको र उसलाई पेट्रोलियम पदार्थ बनाउन गाह्रो परिरहेको पनि ट्रम्पले लेखे ।

युरोपेली संघको सहयोगमा युक्रेनले सबै भूभाग फिर्ता लिन सक्ने पनि ट्रम्पको भनाइ छ ।

पुटिन र रुस ठूलो आर्थिक संकटमा परेको र युक्रेनले निर्णायक कदम चाल्ने बेला यही भएको उनले लेखे ।

जेलेन्स्की ट्रम्पको पोस्ट पढेर उत्साहित भए । उनले ट्रम्पलाई गेमचेन्जर भन्दै प्रशंसा गरे । न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै उनले ट्रम्पको पोस्टबाट ठूलो परिवर्तनको संकेत पाइएको बताए ।

तर, ट्रम्पले पोस्ट गरेको केही घन्टापछि अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले फरक धारणा राख्दै यो युद्ध सैन्य तहमा अन्त्य नहुने बताए ।

युद्ध सम्झौतामा टुंगिने उनले बताए । यस खतरनाक युद्धको शान्तिपूर्ण समाधानका लागि अमेरिका प्रतिबद्ध रहेको उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा बताए । उनले युद्ध अन्त्य गर्नका लागि सबैको योगदान हुनुपर्ने बताए ।

Skip This