
एजेन्सी । चीनले आफूलाई विकासशील राष्ट्र भन्दै विश्व व्यापार संगठनबाट लिइरहेको लाभ त्याग्ने भएको छ ।
सिन्ह्वा समाचार संस्थाका अनुसार, चीनका प्रधानमन्त्री ली छ्याङले विश्व व्यापार संगठनको विद्यमान र नयाँ सहमतिमा चीनले विशेष र फरक सुविधामा दाबी नगर्ने बताएका छन् ।
अमेरिकाको न्युयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको साधारणसभाको साइडलाइन बैठकमा छ्याङले यो कुरा बताएका हुन् ।
‘यो वर्षौंदेखिको मेहनतको प्रतिफल हो र म यस विषयमा चीनको नेतृत्वको प्रशंसा गर्छु,’ विश्व व्यापार संगठनका महानिर्देशक न्गोजी ओकोन्जो–इविआलाले बताए ।
चीन तथा अन्य प्रमुख अर्थतन्त्रहरूले विकासशील राष्ट्रहरूको हैसियतमा उच्च भन्सार शुल्क निर्धारण गर्ने र छुट उपयोग गर्ने गरिरहेको भन्दै अमेरिकाले लामो समयदेखि आलोचना गर्दै आएको थियो । त्यसलाई नत्यागेसम्म विश्व व्यापार संगठनमा अर्थपूर्ण सुधार नहुने अमेरिकाको भनाइ छ ।
साउदी अरब जस्ता अर्थतन्त्रले पनि आफूलाई विकासशील गरेर लाभ उठाइरहेका छन् । चीनले त्यसलाई पूर्ण परित्याग गरेमा अरूले पनि सिको गर्ने अमेरिकाको अपेक्षा छ ।
विश्वका शीर्ष अर्थतन्त्र अमेरिका र चीनबीच अहिले व्यापारयुद्ध चलिरहेको छ । अमेरिकाले चिनियाँ वस्तुको आयातमा उच्च भन्सार शुल्क लगाएको छ भने चीनले पनि जवाफी कारवाही चलाएको छ ।
विगतमा चीनले आफ्नो विकासशील हैसियतमा सम्झौता नगर्ने बताउँदै आएको थियो तर विशेष र फरक सुविधा, छुट र औद्योगिक नीतिका विषयलाई सुधार सम्बन्धी छलफलमा ल्याउन लचिलो बनेको जनाएको छ । सन् २०२६ मा क्यामरूनमा विश्व व्यापार संगठनमा आबद्ध मुलुकहरूले मन्त्रीस्तरीय बैठक आयोजना हुँदैछ ।








प्रतिक्रिया