राष्ट्रसंघमा सम्बोधन गरेर फर्किंदा फ्रान्सका राष्ट्रपतिलाई हैरानी, गल्लीमा पैदलै हिँड्न बाध्य

301
Shares

एजेन्सी । अमेरिकाको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको भवनमा साधारणसभालाई सम्बोधन गरेर फर्किएका फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले हैरानी बेहोर्नुपरेको छ ।

राष्ट्रसंघमा प्यालेस्टाइन राज्यलाई फ्रान्सले औपचारिक मान्यता दिएको घोषणा गरेका म्याक्रोन भवनबाट निस्केर आफ्नो कार्यतालिका अनुसार फ्रान्सेली दूतावास जान खोजिरहेका थिए ।

तर, त्यतिखेर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको मोटरकेड आउन लागेको थियो । सुरक्षाकर्मीहरूले सबैलाई रोकेर राखेका थिए ।

म्याक्रोनको जत्थालाई पनि अमेरिकी सुरक्षाकर्मीहरूले रोके । त्यसपछि म्याक्रोन गाडीबाट निस्केर सडकपेटीबाट हिँड्न थाले । उनलाई न्युयोर्कका प्रहरी अधिकृतहरूले अभिवादन गरेका थिए ।

‘माफ गर्नुहोला, राष्ट्रपतिज्यू । अहिले सबै कुरा रोकिएको छ,’ एक प्रहरी अधिकृतले म्याक्रोनलाई भनेका थिए ।

प्रभावशाली देश फ्रान्सका राष्ट्रपतिले सडकछेउमा उभिएर ट्राफिक खुल्ने प्रतीक्षा गरेको दृश्य रोचक थियो ।

त्यसपछि म्याक्रोनले गोजीबाट मोबाइल फोन झिके । उनले राष्ट्रपति ट्रम्पलाई फोन लगाउँदै भने, ‘थाहा छ ? तपाईंका लागि सबै कुरा रोकिएकाले म सडकमा प्रतीक्षा गरिरहेको छु ।’

फोनवार्तामा म्याक्रोन र ट्रम्पले विभिन्न अन्तर्राष्ट्रिय विषयमा कुराकानी गरेको बताइएको छ ।

फोनमा कुरा गर्दैगर्दा म्याक्रोन पैदलै हिँड्न थाले । पछि सडक खुल्यो तर पैदलयात्रीका लागि मात्र । म्याक्रोनको जत्था ट्राफिकमा अड्किएपछि म्याक्रोन पैदलै फ्रान्सेली दूतावासतर्फ गए । उनी हिँडिरहेको देख्दा न्युयोर्कवासीहरू छक्क परे ।

म्याक्रोन लगभग आधा घन्टा म्यानह्याटनको गल्लीगल्ली हिँडे । त्यसक्रममा उनले ट्रम्पसँग पनि कुराकानी गरेका थिए र बटुवाहरूसँग गफ पनि गरेका थिए ।

कालो शीशा भएका कारमा विश्वका नेताहरू गुडेको देखिरहेका न्युयोर्कवासी फ्रान्सका राष्ट्रपति पैदलै हिँडेको देख्दा आश्चर्यमा परेका हुन् ।