
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा रहेको बिजुली भर्याङमा चढेको केही समयपछि नै अचानक बन्द भएको छ ।
कसले बिजुली भर्याङ (एस्कलेटर) बन्द गरिदिएको हो र यसमा कुनै षड्यन्त्र भएको हो कि हैन भनी छानबिन गरिएको छ ।
राष्ट्रसंघका अधिकारीहरूका अनुसार, ट्रम्पको भिडियो खिच्ने व्यक्तिले झुक्किएर सुरक्षा बटन थिचिदिएकाले बिजुली भर्याङ बन्द भएको हुन सक्छ ।
राष्ट्रसंघ भवनमा लिफ्ट बन्द भएको घटनापछि टेलिप्रम्पटर पनि चलेको थिएन । ट्रम्पले आफ्नो सम्बोधनका क्रममा यस विषयमा ठट्यौली पनि गरेका थिए ।
‘संयुक्त राष्ट्रसंघबाट मैले दुईवटा कुरा पाएँ, खराब एस्कलेटर र खराब टेलिप्रम्पटर,’ ट्रम्पले साधारणसभा बैठकमा यसो भन्दा कतिपय मुलुकका प्रतिनिधिहरू हाँसेका थिए ।
तर, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले यो गम्भीर घटना भएको बताइन् ।
‘संयुक्त राष्ट्रसंघमा राष्ट्रपति र प्रथम महिला पस्नेबित्तिकै कसैले एस्कलेटर बन्द गरेको हो भने त्यसलाई बर्खास्त गर्नुपर्छ र तत्कालै अनुसन्धान थाल्नुपर्छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखिन् ।
बिजुली भर्याङको माथिल्लो भागमा रहेको सुरक्षा संयन्त्रमा छोइएपछि त्यो अचानक बन्द भएको राष्ट्रसंघकी प्रवक्ता स्टेफन डुजारिकले बताए ।
‘भिडियोग्राफरले झुक्किएर सुरक्षा बटनमा थिचेका हुन सक्छन्,’ डुजारिकले विज्ञप्ति जारी गरेर जानकारी दिए, ‘मानिस वा वस्तु काइँयो जस्तो सिँढीमा अल्झेर नलडून् भनी सुरक्षा संयन्त्र राखिएको हुन्छ ।’
राष्ट्रसंघको यो स्पष्टीकरणमा ह्वाइट हाउसले प्रतिक्रिया दिएको छैन ।
टेलिप्रम्पटरका विषयमा चाहिँ ट्रम्प कठोर देखिए । त्यो चलाउने मान्छे समस्यामा पर्ने उनको भनाइ थियो ।
तर ह्वाइट हाउसले टेलिप्रम्पटर सञ्चालक आफैं लिएर आएको राष्ट्रसंघको भनाइ छ ।
ट्रम्पको सम्बोधन सकिएपछि राष्ट्रसंघ साधारणसभाकी अध्यक्ष आन्नालेना बाएरबोकले राष्ट्रसंघका टेलिप्रम्पटरहरू राम्ररी चलिरहेको बताइन् ।










प्रतिक्रिया