फागुन २१ को निर्वाचनबारे सरकारले थाल्यो छलफल, मतदाता नामावलीका विषयमा आयोगसँग कुराकानी

154
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगसँग छलफल गरेका छन् । अगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक जनशक्ति, सामग्री, स्रोत र मतदाता नामावलीको विषयमा उनीहरुले आयोगका आयुक्त लगायत कर्मचारीहरुसँग छलफल गरेका हुन् ।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निश्पक्ष वातावरणमा सम्पन्न गराउन दुवै पक्षले एकअर्कालाई सहयोग गर्ने समझदारी भएको निर्वाचन आयोगका सूचना अधिकारी नारायणप्रसाद भट्टराईले बताए । उनका अनुसार विद्यमान निर्वाचनसम्बन्धी कानूनी व्यवस्थामा आवश्यकताअनुसार सुधार गर्ने सहमति समेत भएको बताए ।

उनले भने, ‘शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा स्वच्छ निर्वाचन गराउने गरी नेपाल सरकारले निर्वाचन आयोगलाई आवश्यक सहयोग गर्ने र निर्वाचन आयोगले सबै निर्वाचन पूर्वतयारीका सबै पक्षमा ध्यान दिएर प्रभावकारी रुपमा कार्य गर्ने भन्ने समझदारी भएको छ । अहिले हामीले प्रारम्भिक छलफल गरेका हौँ । थप चुनौतिका बारेमा पछि छलफल हुनेछ ।’ मंगलबार जनशक्ति र स्रोतको विषयमा छलफल भएको छ भने निर्वाचनभित्र जोडिएका विषयहरुमा आयोग र सरकारबीच सहकार्य गरेर अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ । विद्यमान निर्वाचनसम्बन्धी कानून व्यवस्थामा आवश्यकताअनुसार सुधार गर्ने भन्नेकुरामा पनि छलफल भएको भट्टराईले बताए ।

अगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउन सरकारले सरोकारवालासँग छलफल सुरु गरेको हो ।