
काठमाडौं । नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले आफू प्रश्न गर्ने बाटोबाट जवाफ दिने ठाउँमा पुगेको भन्दै जनतालाई प्रत्यक्ष अनुभूत हुनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो २५ वर्षको पेशागत जीवन पत्रकारितामा बिताएको स्मरण गर्दै अब सरकारको तर्फबाट जवाफ दिने जिम्मेवारी आएको बताए।
‘मेरो जिन्दगीको २५ वर्ष सधैं प्रश्न सोधेर बिताएँ, आज जवाफ दिने ठाउँमा छु,’ उनले भने, ‘त्यो भन्दा नयाँ सत्य पनि छैन, लुकेको सत्य पनि छैन । तपाईँहरूले जगदीश खरेललाई हेर्दा धेरैले आफ्नै अनुहार देख्नुहुनेछ— तपाईँका संघर्ष, सफलता र सन्तुष्टि।’
मन्त्री खरेलले सरकार एक्लैले देश बनाउन नसक्ने भन्दै सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । ‘अहिले हामीले देश बनाउने बेला आएको छ । सरकार एक्लैले बनाउन सक्दैन । राज्यका निकायहरूले मात्रै बनाउन सक्दैनन्। त्यसैले तपाईँहरूको भूमिकासमेत महत्त्वपूर्ण हुन्छ,’ उनले आग्रह गरे।
खरेलले आफ्नो कार्यकालमा ‘खरानी र धुलो टकटक्याउँदै’ जनतालाई अनुभूत हुनेगरी काम गर्ने बताए । ‘हामी मन्त्रीहरूका लागि देश पहिला, जनता पहिला अनि मात्र अरु कुरा आउँछ,’ उनले भने, ‘नेपालको कर्मचारीतन्त्र स्वतन्त्र भएर नेताको गोटी नबन्दा धेरै काम गर्न सक्छ । लोकसेवा पास गरेर आएका कर्मचारी दख्खल राख्छन् ।’
मन्त्रालय सञ्चालनका क्रममा आफूले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्दै खरेलले ब्युरोक्रेसीप्रति विश्वास प्रकट गरे । ‘सचिवज्यू, तपाईंको मन्त्रालयका सबै कर्मचारी अनुभवी हुनुहुन्छ, काम अघि बढाउनुस् । मन्त्रीको तर्फबाट हस्तक्षेप हुँदैन । म तपाईंबाट सिक्छु,’ उनले भने, ‘म मेरो देशको ब्युरोक्रेसीलाई विश्वास गर्न चाहन्छु, हस्तक्षेप गर्दिनँ- यो मेरो प्रतिबद्धता हो ।’








प्रतिक्रिया