
एजेन्सी । दक्षिण एसियामा विद्यमान तुलनात्मक शान्तिले यस क्षेत्रबाहिरका मानिसलाई सधैं चकित पार्ने गरेको छ ।
यहाँ चरम असमानता छ, तर क्रान्तिहरू भने खासै हुँदैनन् । वर्गीय एकता दुर्लभ छ । यहाँको राजनीति प्रायः धनी र गरिबको दूरी घटाउनेतर्फ उन्मुख हुँदैन । तर, यो शताब्दीयौंदेखि टिकेको स्थायित्व इन्स्टाग्रामको युगमा टिकिरहला जस्तो देखिँदैन । दक्षिण एसियामा क्रान्ति अहिले प्रत्यक्ष प्रसारण भइरहेको छ ।
भारतको राजधानी दिल्लीका राजनीतिक अभिजात वर्ग आफ्नो सानो हिमाली छिमेकी नेपालतर्फ ध्यानपूर्वक हेर्दैछन् । नेपाल सांस्कृतिक र आर्थिक रूपमा भारतसँग घनिष्ठ रूपमा जोडिएको छ ।
सेप्टेम्बर महिनामा नेपाली युवाको भीड काठमाडौंका सडकमा ओर्लियो । तीमध्ये धेरैजसो कलेजका विद्यार्थी थिए । उनीहरूको विरोध प्रदर्शनले प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनायो । कारागारबाट १३ हजार ५०० कैदी भागे । प्रमुख सरकारी भवनहरूमा आगजनी भयो ।
यी सबैको कारण के थियो त ? उत्तर हो : टिकटक र इन्स्टाग्राममा पोस्ट गरिएका छोटा भिडियोहरू जसमा नेताका छोराछोरी (नेपो बेबी इन्फ्लुएन्सर) को विलासी जीवनलाई देशको गरिबीका भयावह दृश्यहरूसँग जोडेर देखाइएको थियो ।
त्यति मात्र नभई सरकारले ठूला गल्तीहरू गर्दै गयो । उसले सामाजिक सञ्जाल बन्द गर्ने प्रयास गर्यो र प्रदर्शनकारीमाथि गोली चलायो । बर्दीमा रहेका सुरक्षाकर्मीले सडकमा विद्यार्थीहरूलाई मारेपछि आन्दोलन झन् चर्किने गर्छ । यही कुरा गत वर्ष बंगलादेशमा पनि भएको थियो । दुवै देशमा सुरक्षाकर्मीहरूको चर्को दमनले गर्दा नै अन्ततः गोली हान्ने आदेश दिनेहरूको दुर्भाग्य निर्धारण गरिदियो ।
तर, एउटा आन्दोलन दुई सातामै सामाजिक सञ्जालका ‘रिल्स’ बाट क्रान्तिसम्म पुग्नु अनौठै हो । विशेषगरी, प्रारम्भिक विरोध प्रदर्शनलाई उक्साउने तस्वीर र भिडियोहरू खासै असामान्य थिएनन् । महँगा ब्याग वा रंगीचंगी पेय पदार्थ देखाउँदै नेताका छोराछोरीले तस्बिर र भिडियो हालेका थिए । ती भिडियोहरू रुस वा खाडी मुलुकका ओलिगार्कहरूको सन्तानका भिडियो जस्तै लाग्थे । सम्भवतः ती इन्फ्लुएन्सरहरूले आफैंलाई त्यही मापदण्डसँग तुलना गरेका थिए । नेपालीहरूसँग नभई अन्य देशका अभिजात वर्गका छोराछोरीसँग उनीहरू आफूलाई तुलना गरिरहेका थिए ।
अघिल्ला शताब्दीमा यस्तो कुराले समस्या ल्याउँदैनथ्यो । महाराजाहरूले रोल्सरोयस किन्दा पनि भीड भेला हुँदैनथ्यो । तर, अहिले परिस्थिति केही बदलिएको छ ।
सन् २०२२ मा श्रीलंकाको आर्थिक पतनपछि आक्रोशित प्रदर्शनकारीहरू राष्ट्रपतिको महल कब्जा गर्दा त्यहाँको विलासी जीवनशैली देखेर अचम्मित भए । सन् २०२४ मा बंगलादेशकी प्रधानमन्त्री देश छाडेर भागेपछि भीडले उनको ढाकास्थित निवासबाट फर्निचर, ब्याग र विशाल माछासमेत लुट्यो । गरगहना र घरपालुवा बिरालो जस्ता केही वस्तुहरू पछि फिर्ता गरियो ।
तर, नेपालका प्रदर्शनकारीहरू दक्षिण एसियाका अन्य देशका विरोधकर्ताभन्दा बढी हिंसात्मक भए । नेताहरूका घरहरूमा आक्रमण गरियो । एकजना पूर्वप्रधानमन्त्रीको निवास जलाइँदा उनकी वृद्ध श्रीमती घरभित्रै थिइन् । लामो समयदेखि दबिएको आक्रोश सडकमा विस्फोट हुँदा त्यो थप हिंसात्मक हुन्छ भन्ने तथ्य यहाँ प्रस्ट देखियो ।
अब भारतको कुरा गरौं । विगतमा भ्रष्टाचारविरोधी आन्दोलनले भारतमा सरकारहरू ढालेको उदाहरण छन् । असमानताप्रतिको आक्रोशले पनि त्यस्तै गर्न सक्छ । भारतको अभिजातवर्ग सधैं राजनीतिलाई वंश परम्पराको अवसर ठान्छ र छिमेकमा क्रान्ति भए पनि त्यो मानसिकता सजिलै फेरिँदैन ।
तर, असन्तोषका आवाज भने सुनिन थालेका छन् । आत्मनिर्भर बन्नुपर्ने वा मातृभाषामा पढ्नुपर्ने भनेर उपदेश दिने नेताहरू आफ्ना सन्तानलाई चािहँ विदेश पढ्न पठाउँछन् भन्ने विषयमा असन्तोष छ । काठमाडौंमा पनि यो नै असन्तोषको ठूलो कारण थियो ।
देशभित्र गरिएको खर्च कदाचित् सह्य हुन सक्छ । तर, देश छाडेर जाने अनि त्यहाँ विलासी जीवन बिताइरहेको देखाउने गर्दा चाहिँ जनतालाई जलन हुन्छ । तिमी महँगो ब्याग बोक, तर फिफ्थ एभेन्यूमा किनेको फोटो पोस्ट नगरेको भए पनि हुन्थ्यो ।
नेपाली जनताको आक्रोश अझै व्यापक दायरामा नरहेको यसले देखाउँछ । अहिले काठमाडौंका सडकमा प्रदर्शनकारी छैनन् र सुशीला कार्की नयाँ प्रधानमन्त्री चयन भएकी छन् । उनको नाम सडक वा सेनाबाट नभई डिस्कोर्ड सर्भरमा भएको मतदानबाट पारित भएको हो ।
नेपालमा ३ करोड जनसंख्या छ, जसमा धेरैजना इन्टरनेट प्रयोग गर्छन् । तर, अंग्रेजीमा चल्ने डिस्कोर्ड सर्वेक्षणमा भाग लिनेको संख्या निकै सानो हुन्छ । अन्तिम मतदानमा जम्मा ७ हजार ७ सय १३ जना मात्र सहभागी भए ।
ढुक्कसँग भन्न सकिन्छ, ती ७ हजार ७ सय १३ जनाको परिवारले नेपालको प्रतिव्यक्ति आम्दानी (वार्षिक करिब १४ सय अमेरिकी डलर भन्दा धेरै कमाउँछन् । ‘नेपो बेबी’ भिडियोहरूले इन्फ्लुएन्सरहरूलाई देशका गरिबसँग तुलना गराए पनि डिस्कोर्ड वा सडकमा जापानी मंगा वान पिसबाट प्रेरित पोस्टर बोकेर उभिनेहरू सबैभन्दा गरिब वर्गका मानिस थिएनन् ।
यसको उच्चमध्यम वर्गका मानिसले राजनीतिसँग जोडिएको अभिजात वर्गजस्तै गरी विश्वस्तरीय जीवनशैली बाँच्ने अवसर देखेकाले शायद दक्षिण एसिया लामो समय शान्त रहेको हो । तर, आर्थिक वृद्धि सुस्त हुँदा, प्राविधिक विकास द्रुत गतिमा हुँदै जाँदा, यात्रा तथा व्यापारमा प्रतिबन्ध बढ्दा उच्चमध्यम वर्गका विकल्पहरू बन्द हुँदैछन् । यसो हुँदै गर्दा टिकटक र इन्स्टाग्रामले उच्चमध्यम वर्गलाई सधैं के छुटिरहेको छ भन्ने कुरा सम्झाइरहेका छन् ।
केही सामाजिक सञ्जालहरू प्रदर्शन गर्नका लागि बनेका हुन्छन् । तिनीहरूले प्रेरित गर्छन्, प्रभाव पार्छन् र इर्ष्या पनि जन्माउँछन् । तर, अहिले असर व्यक्तिको आत्मसम्मानमा मात्र नभई सम्पूर्ण समाजमा पर्न थालेको छ । आर्थिक असमानता लामो समयदेखि सहिरहेको समाज पनि अन्ततः यस दबाबले किनारमा धकेलिन सक्छ र विद्रोहका रूपमा विस्फोट हुन्छ ।
ब्लूमबर्गमा प्रकाशित मिहिर शर्माको विश्लेषण








प्रतिक्रिया