अमेरिकी सांसदहरूले चीनका प्रधानमन्त्रीसँग गरे सैन्य वार्ताको अनुरोध

357
Shares

एजेन्सी । अमेरिकाको रिपब्लिकन र डेमोक्रेटिक पार्टीका सांसदहरूले आइतवार चीनका प्रधानमन्त्री ली छ्याङसँग भेटघाट गरेका छन् ।

उनीहरूले चीन र अमेरिकाबीच सैन्य संवाद जारी राख्नुपर्ने बताएका छन् ।

सन् २०२३ मा अमेरिकी सिनेटरहरूले अमेरिका यात्रा गरेका थिए । यसपालि तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका सदस्यहरू भ्रमणमा गएका हुन् ।

रिपब्लिकन सांसद एडम स्मिथको नेतृत्वमा चीन पुगेको प्रतिनिधिमण्डललाई प्रधानमन्त्री लीले स्वागत गरेका थिए । यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बढाउने लीको भनाइ छ ।

सांसद स्मिथले व्यापार र अर्थतन्त्रको विषय भ्रमणको प्रमुख एजेन्डा भएको बताए । तर आफूहरू दुई देशका सेनाबीचको संवादमा पनि इच्छुक रहेको उनको भनाइ छ । आर्म्ड सर्भिसेस कमिटीको सदस्यको हैसियतमा बोल्दै स्मिथले दुई सेनाबीच संवाद नहुनु चिन्ताजनक विषय भएको बताए ।

प्रतिनिधिमण्डलमा रिपब्लिकन सांसद माइकल बमगार्टनरका साथै डेमोक्रेटिक पार्टीका रो खन्ना र क्रिसी हुलाहान पनि छन् । उनीहरू बिहीवारसम्म चीनमा रहनेछन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकालमा चीनसँग व्यापारयुद्ध चर्केको छ ।

तर, व्यापार वार्ता सकारात्मक रूपमा अघि बढेको ट्रम्पको भनाइ छ । आगामी अक्टोबरमा चीनका राष्ट्रपति सी चिनपिङले दक्षिण कोरियामा भेटघाट गर्ने बताएका छन् । उनले सन् २०२६ को आरम्भतिर चीन भ्रमण गर्ने बताएका छन् । शुक्रवार ट्रम्प र सीबीच फोनवार्ता भएको थियो ।