पोल्यान्डमा नेटोको प्रतिरक्षाका लागि बेलायती लडाकु विमानद्वारा गश्ती, रुससँग भिडन्तको तयारी ?

1.3k
Shares

एजेन्सी । बेलायती लडाकु विमानहरू नेटोको ईस्टर्न सेन्ट्री मिशनका लागि पोल्यान्डमा पहिलोपटक उडेका छन् ।

रुसले पोल्यान्डको एयरस्पेसमा ड्रोन पठाएको भन्दै पश्चिमी सैन्य गठबन्धन नेटोले सीमाक्षेत्रको प्रतिरक्षा थालेको हो ।

बेलायत सरकारले गत सोमवार यसको घोषणा गरेको हो । रक्षामन्त्री जोन हिलीले बयान जारी गरेर बेलायती लडाकु विमानहरूले नेटोको एयरस्पेसलाई प्रतिरक्षा गरिने स्पष्ट संकेत दिएको बताए ।

रोयर एयसस्पेस टाइफुन्सका दुईवटा विमान पूर्वी इंग्ल्यान्डको सैन्य अड्डाबाट शुक्रवार राति उडेका थिए । उनीहरूले पोल्यान्डको आकाशमा गश्ती गरी रुसबाट आउने जोखिमको सामना गर्ने बताइएको छ । गश्ती गरिसकेर ती विमानहरू शनिवार बिहान फर्केका थिए ।

युक्रेनमा रुसले आक्रमण गरेयता पहिलोपटक नेटोको एयरस्पेसलाई रुसले जानाजान छेडेको र बेलायतले त्यसको प्रतिक्रिया दिएको बेलायत सरकारको भनाइ छ ।

बेलायत सरकारले सन् २०२७ को अप्रिलसम्ममा रक्षा खर्च कुल गार्हस्थ्य उत्पादनको २.६ प्रतिशतसम्म बढाउने प्रतिज्ञा गरेको छ । युरोपको सुरक्षालाई बेलायतले योगदान गर्ने भनी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई सन्देश दिन खोजिएको हो । ट्रम्पले युरोपेली मुलुकहरू रक्षामा पर्याप्त खर्च नगरी अमेरिकामा बढी निर्भर रहेको भनी आलोचना गर्दै आएका छन् ।

नेटोका अन्य सदस्य मुलुकहरूको एयरस्पेसमा पनि रुसी ड्रोन प्रवेश गरेको बताइएको छ । गत शुक्रवार रुसका तीन लडाकु विमानहरू १२ मिनेटसम्म आफ्नो एयरस्पेसमा प्रवेश गरेको इस्टोनियाले आरोप लगाएको छ ।

रुसले हालैका दिनमा तेस्रोपटक नेटोको एयरस्पेसमा खतरनाक गतिविधि गरेको भन्दै हिलीले निन्दा गरेका छन् ।

रुसको रक्षा मन्त्रालयले इस्टोनियाको एयरस्पेसमा आफ्ना विमानहरू नपसेको र तिनीहरू अन्तर्राष्ट्रिय क्षेत्रमा मात्र उडेको जनाएको छ । युरोपेली मुलुकहरूले नेटोलाई रुसविरुद्ध लडाउनका लागि प्रयास गरिरहेको रुसी अधिकारीहरू बताउँछन् ।