
काठमाडौं । संविधान दिवसको उपलक्ष्यमा अमेरिकाले नेपाललाई शुभकामना दिएको छ ।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले अमेरिकी सरकारका तर्फबाट नेपाली जनतालाई संविधान दिवसको अवसरमा बधाई सन्देश दिएका छन् ।
नेपालमा रहेको अमेरिकी राजदूतावासले रुबियोको शुभकामना सन्देश प्रकाशन गर्दै पारदर्शी सरकार बनाउनका लागि नेपाली जनताले राखेको चाहनालाई अमेरिकाले सहयोग गर्ने बताए । आगामी केही महिनाभित्र हुन लागेको आम निर्वाचनको तयारी हुँदै गर्दा देशको संवैधानिक मान्यतामा रहेर लोकतान्त्रिक समाधान खोज्नुपर्ने रुबियोको भनाइ छ ।
उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिलाई श्रद्धाञ्जलि दिँदै विरोध कार्यक्रममा मारिएका र घाइते भएका व्यक्तिको परिवारप्रति समवेदना पनि प्रकट गरेका छन् ।
नेपालीहरू आशावादी भविष्यका लागि योग्य रहेको र त्यो भविष्य आर्थिक वृद्धिलाई अघि बढाउन, क्षेत्रीय सुरक्षालाई बलियो बनाउन र सबैका लागि समृद्धिको प्रवर्धन गर्नमा केन्द्रित हुनुपर्ने रुबियोले बताए ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताले नेपालको यातायात र ऊर्जा पूर्वाधार विस्तारमा योगदान गर्ने, रोजगारी सिर्जना गर्ने र दीर्घकालीन आर्थिक वृद्धिलाई सहयोग गर्ने उनको भनाइ छ । यसले अमेरिका र नेपालको साझेदारीलाई सुदृढ बनाउने र अमेरिकी कम्पनीहरूलाई व्यापारको अवसर पनि प्रदान गर्ने उनले बताए ।
संविधान दिवसको अवसरमा नेपाली जनतालाई बधाई ज्ञापन गर्दै दक्षिण एसियामा स्थिरता प्रवर्धन गर्न र थप सुरक्षित विश्व बनाउनमा योगदान गर्नका लागि नेपालसँग सहकार्य गर्न अमेरिका तयार रहेको पनि रुबियोको भनाइ छ ।








प्रतिक्रिया