अमेरिकामा टीभीहरूलाई किन निशाना बनाउँदैछन् ट्रम्प ?

49
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कतिपय टीभी नेटवर्कहरूको अनुमतिपत्र खारेज गर्नुपर्ने बताएका छन् ।

अमेरिकाको प्रसारण नियामक संस्था फेडरल कम्युनिकेशन्स कमिशन (एफसीसी) को निर्देशनमा एबीसी टीभीले प्रस्तोता जिम्मी किमललाई निलम्बन गरेको विषयलाई समर्थन गर्दै ट्रम्पले अनुमतिपत्र खारेजीको कुरा उठाएका हुन् ।

डिज्नी कम्पनीको स्वामित्व रहेको एबीसी नेटवर्कले कमेडियन किमललाई अनिश्चित कालका लागि निलम्बन गरिएको घोषणा गरेको थियो । किमलले कन्जर्भेटिभ इन्फ्लुएन्सर चार्ली कर्कको हत्याका विषयमा गरेको टिप्पणीको चर्को आलोचना भएपछि एबीसीले उनलाई निलम्बन गरेको हो ।

सोमवार किमलले आफ्नो कार्यक्रममा कर्कको हत्या गर्ने रबिन्सन मागा रिपब्लिकन भएको संकेत गरेका थिए । तर, युटाह राज्यका अधिकारीहरूले ती आक्रमणकारी वामपन्थी विचारधाराबाट प्रभावित भएको बताएका छन् ।

नियामक संस्था एफसीसीले किमलको टिप्पणीमा कारवाही गरिने चेतावनी दिएपछि एबीसीले उनको शो हटाएको हो ।

किमल लामो समयदेखि ट्रम्पका कटु आलोचक हुन् ।

यसअघि ट्रम्पका आलोचक स्टिभन कोल्बार्टको शो पनि बन्द गराइएको थियो ।

ट्रम्पले कानूनी दाउपेच, आर्थिक प्रलोभन र सार्वजनिक दबाब अभियानमार्फत कम्पनीहरूलाई रिपब्लिकन पार्टी र आफ्नो शक्ति बढ्ने गरी परिवर्तन गर्न फकाइरहेका छन् । आफ्ना आलोचकहरूलाई मौन बनाउनका लागि ट्रम्पले गरिरहेको प्रयास अन्तर्गत किमललाई निलम्बन गरिएको एसीएलयू जस्ता स्वतन्त्र अभिव्यक्तिको पैरवी गर्ने समूहहरूले जनाएका छन् ।

डिज्नी लगायतका अमेरिकी कम्पनीहरूले ट्रम्पको इच्छाबमोजिम काम गरेको भन्दै मिडियाविद्हरूले आलोचना गरेका छन् ।

डिज्नीले एबीसीमाथि ट्रम्पले दायर गरेको मानहानिको मुद्दालाई अदालतमा लड्नुको साटो पैसा तिरेर सल्टाएको थियो । त्यस्तै प्यारामाउन्टले सीबीएसविरुद्ध ट्रम्पको मुद्दालाई गत जुलाई महिनामा पैसा दिएर सल्टाएको थियो । प्यारामाउन्टको मुद्दा बलियो भएको कानूनविद्हरूले भनेका थिए तर उसले मुद्दा लड्न चाहेन ।

ट्रम्पले अहिले द वाल स्ट्रीट जर्नल र द न्युयोर्क टाइम्सविरुद्ध मुद्दा लडिरहेका छन् । उनले त्यससँगै सरकारको नियामक शक्तिको उपयोग पनि गरिरहेका छन् ।

एफसीसीका अध्यक्ष ब्रेन्डन कारलाई ट्रम्पले नियुक्त गरेका हुन् । ट्रम्पले मन नपराएका टीभी स्टेशनहरूका विरुद्ध कारले अनुसन्धान थालेका छन् । उनले राजनीतिक शक्ति पनि अभ्यास गरिरहेका छन् ।