साउदी अरब र पाकिस्तानबीच रक्षा सम्झौता, भारत सतर्क

287
Shares

एजेन्सी । साउदी अरब र पाकिस्तानले रणनीतिक पारस्परिक रक्षा सम्झौता गरेका छन् ।

उक्त सम्झौता बमोजिम, दुवै देशले एकमाथि गरिएको आक्रमणलाई अर्कोमाथि पनि गरिएको आक्रमणका रूपमा लिने भएका छन् ।

यस सम्झौताले भारतको राष्ट्रिय सुरक्षा र दक्षिण एसियाको स्थिरतामा पार्ने असरलाई नयाँ दिल्लीले अध्ययन गरिरहेको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले विज्ञप्ति जारी गर्दै साउदी अरब र पाकिस्तानबीच लामो समयदेखि चलिआएको सहमतिलाई अहिले सम्झौताका रूपमा औपचारिकता दिएको बताए । यसको सम्भावित परिणामलाई भारतले नजिकैबाट नियाल्ने उनको भनाइ छ ।

यस्तो घटनाक्रम विकसित हुँदा भारतको राष्ट्रिय सुरक्षा सर्वोपरि रहने उनको भनाइ छ ।

खाडीका अरब मुलुकहरूले अमेरिकालाई परम्परागत सुरक्षा प्रदायकका रूपमा अविश्वास गर्न थालेपछि अन्य मुलुकसँग रक्षा सम्झौता गर्न थालेका हुन् । इजरायलले कतारमाथि हालै गरेको आक्रमणले खाडी क्षेत्रका मुलुकमा तनाव बढाएको छ भने कतिपय राज्यले आफ्ना रणनीतिक साझेदारीमा पुनर्विचार गरिरहेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बुधवार साउदी अरब भ्रमणका क्रममा यस सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
साउदी अरब र पाकिस्तानबीच लगभग ८० वर्षदेखि सम्बन्ध कायम छ । साझा रणनीतिक स्वार्थपूर्ति र निकट रक्षा सहकार्यका लागि दुई देशले सम्झौता गरेको उनीहरूले बताए ।

आफ्नो सुरक्षालाई बढाउन र क्षेत्र तथा विश्वमा सुरक्षा एवं शान्ति कायम गर्नुका साथै बाह्य आक्रमणलाई संयुक्त रूपमा रोक लगाउन सहमति गरेको साउदी अरब र पाकिस्तानले जनाएका छन् । एकमाथि गरेको आक्रमणलाई अर्कोमाथि पनि गरेको मानेर संयुक्त प्रतिकार गर्ने उनीहरूले जनाएका छन् ।

पाकिस्तान र साउदी अरबले लामो समयदेखि रक्षा साझेदारी गरिरहेका छन् । साझा रणनीतिक र धार्मिक स्वार्थमा यो सम्बन्ध टिकेको छ ।

सन् १९६० को दशकमा पाकिस्तानी सेना पहिलोपटक साउदी अरबमा तैनाथ गरिएका थिए । यमन युद्धमा इजिप्ट सहभागी भएपछि क्षेत्रीय तनाव बढ्दा पाकिस्तानले साउदीलाई सहयोग गरेको थियो ।

सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति भएपछि पाकिस्तान र साउदीबीचको सम्बन्ध थप गहिरिएको हो । तेहरानसँग सम्भावित द्वन्द्व पर्न सक्ने भनी साउदीले चिन्ता व्यक्त गरेको थियो । पाकिस्तानले इस्लाम धर्मका पवित्र स्थान मक्का र मदीनालाई सुरक्षा दिने प्रतिबद्धता व्यक्त गर्दै रक्षा सहकार्यको मियो त्यसैलाई बनाएको थियो ।

सन् २००७ मा विकिलिक्सले प्रकाशन गरेको अमेरिकी कूटनीतिक केबलमा साउदी अरबले पाकिस्तानीहरूसँग मिलेर हतियार कार्यक्रम चलाउने प्रस्ताव गरेको थियो ।

साउदी अरब आफू र खाडी क्षेत्रको रक्षा गर्न चाहन्छ । अन्य मुलुकले आर्थिक कठिनाइका कारण यस्ता हतियार बनाउन सक्दैनन् । त्यसैले बलियो अर्थतन्त्र भएको साउदी अरबले संरक्षणकर्ताको भूमिका निर्वाह गर्न खोजेको छ । ऊ विभिन्न क्षेत्रीय द्वन्द्वमा शान्ति मध्यस्थताकर्ताका रूपमा सहभागी हुन थालेको छ ।

आफ्नो देशमा गैरसैन्य आणविक ऊर्जा कार्यक्रमलाई सहयोग गर्नका लागि साउदीले अमेरिकाको सहयोग खोजिरहेको छ । उसले युरेनियम संवर्धनमा चासो देखाएको छ जसलाई आणविक अप्रसार विज्ञहरूले चिन्ताजनक भनेका छन् ।