
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प बेलायतको राजकीय भ्रमणमा जाँदै गर्दा ठूलो दुर्घटनाबाट बचेका छन् ।
मंगलवार उक्त विमान न्युयोर्कको आकाशमा उडिरहेको बेलामा स्पिरिट एयरलाइन्सको यात्रुवाहक विमान नजिकै आइपुगेको थियो ।
स्पिरिटका पाइलटलाई एयर ट्राफिक कन्ट्रोल रूमले आइप्याड नचलाई ध्यान दिएर विमान उडाउन कडा चेतावनी दिएको थियो ।
स्पिरिटको विमान ट्रम्पको आधिकारिक एयर फोर्स वानको करिब १३ किलोमिटर नजिकबाट उडेको थियो ।
त्यति दूरीलाई फेडरल एभिएशन एडमिनिस्ट्रेशनले असुरक्षित मान्दैन तर त्यसले उड्डयन अधिकारीहरूलाई चिन्तित तुल्याएको थियो ।
स्पिरिट एयरलाइन्सको उक्त विमानले सम्पूर्ण प्रक्रिया अनुसरण गरेको र एयर ट्राफिक कन्ट्रोलका सबै निर्देशन पालन गरी बोस्टनमा विमानलाई अवतरण गराएको जनाएको छ ।
उक्त विमान फ्लोरिडाबाट मासाचुसेट्सतर्फ गइरहेको थियो ।
उडानको निगरानी गर्ने साइट फ्लाइटरेडार२४का अनुसार, ती दुई विमान ८ माइलको समानान्तर दूरीमा उडिरहेका थिए ।
यसको प्रारम्भिक अनुसन्धान गर्दा स्पिरिटले एयर फोर्स वानसँग आवश्यक दूरी कायम गरेको पाइयो ।
एयरबस ए३२१ विमानलाई कन्ट्रोलरहरूले दूरी कायम राख्न लगातार निर्देशन दिएका थिए ।
एयरफोर्स वानबाट राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प मंगलवार बेलुका बेलायत पुगेका थिए ।








प्रतिक्रिया