बुङ्गल हाइड्रोपावरको आईपीओ बाँडफाँड, १९ लाख ७३ हजारको हात खाली

42
Shares

काठमाडौं । बुङ्गल हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । बिहीबार एक कार्यक्रमकाबीच बिक्री प्रवन्धक हिमालयन क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले भदौ १६ गते १७ लाख १ हजार ५०० कित्ता सेयर सर्वसाधरणका लागि निष्काशन गरेको थियो । जसमा २१ लाख ४३ हजार २५० जनाले आवेदन दिएका थिए ।

जसमध्येबाट १ लाख ७० हजार १५० जनालाई १० कित्ताका दरले सेयर परेको छ भने बाँकी १९ लाख ७३ हजार १ सय आवेदकको हात खाली भएको छ ।

कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र २ लाख ७ हजार ५०० कित्तासाधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगार गरी रहेका नेपालीहरुका लागि छुट्याएर बाँडफाँड भइसकेको छ ।

यस्तै, १ लाख ३ हजार ७५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुका लागि र ६२ हजार २५० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।