टिमोर–लेस्तेमा सांसदहरूलाई गाडी उपलब्ध गराइने भएपछि चर्को विरोध, जनताले देखाए शक्ति

406
Shares

एजेन्सी । टिमोर–लेस्ते सरकारले सांसदहरूलाई सित्तैमा गाडी उपलब्ध गराउने योजजना खारेज गरेको छ ।

हजारौं मानिसले यसका विरुद्ध सडकमा प्रदर्शन गरेपछि सरकार पछि हटेको हो ।

मंगलवार प्रदर्शनकारीहरूले टायर जलाएका थिए । उनीहरूले सरकारी गाडीमा आगजनी गरेका थिए ।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रूग्यास प्रहार गरेको थियो । तर, जनताको प्रदर्शन जारी रहेपछि सरकारले गाडी किन्ने योजनालाई खारेज गरेको छ ।

सरकार पछि हटे पनि राजधानी दिलीमा बुधवार २ हजार प्रदर्शनकारीहरू भेला भएका थिए ।

कारहरू उपलब्ध गराउने विषयमा विरोध भए पनि जनताले सेवानिवृत्त सांसदहरूलाई दिइँदै आएको आजीवन पेन्सन पनि हटाउनुपर्ने माग राखेका छन् ।

युवा प्रदर्शनकारीहरूले एसियाका विभिन्न देशमा नेताहरूको विलासी जीवनशैलीमा प्रश्न उठाउँदै विरोध गरिरहेका छन् । नेपालदेखि इन्डोनेसियासम्म यो लहर फैलिएको छ ।

टिमोर–लेस्तेमा सांसदहरूले वार्षिक ३६ हजार डलरको न्यूनतम तलब पाउने गरेका छन् । त्यो देशको औसत आमदानीभन्दा १० गुणा बढी हो ।

यसअघि पनि सांसदहरूलाई नयाँ कार किन्ने विषयमा सन् २००८ मा विरोध प्रदर्शन भएको थियो ।

टिमोर–लेस्तेमा उच्च आय असमानता र बेरोजगारीको समस्या छ । राम्रो शिक्षा, खानेपानी र ढल निकासीको पनि समस्या छ ।

जनताले आधारभूत सेवासुविधा नपाएको बेलामा सांसदहरूले आफ्नो सुविधा थपेको भनी मानिस आक्रोशित छन् ।