मेस्सीले दिए भारतका प्रधानमन्त्री मोदीलाई आफ्नो जर्सी उपहार

497
Shares

एजेन्सी । अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनल मेस्सीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो जर्सी उपहारमा दिएका छन् ।

मोदीको ७५औं जन्मदिवसको उपलक्ष्यमा बुधवार मेस्सीले सन् २०२२ को विश्वकप जित्दाखेरी लगाएको र हस्ताक्षर गरेको जर्सी उपहारमा दिएका हुन् ।

सन् २०२५ मै मेस्सीले भारत भ्रमण गर्ने सम्भावना छ ।

मेस्सीलाई भारत ल्याउन खोजिरहेका व्यवसायी शताद्रु दत्ताका अनुसार, मेस्सीले मोदीलाई जन्मदिनको उपहार पठाएका हुन् र उनी भारत आएपछि प्रधानमन्त्रीसँग भेटघाट गराउने प्रयास गरिनेछ ।

मेस्सीले उनका भारतीय प्रशंसकहरूलाई शुभकामना दिएको र दिल्ली एवं मुम्बईमा आएर प्रशंसकहरूलाई भेट्न पनि चाहेको शताद्रुले बताए ।

उनलाई डिसेम्बर १३ मा भारतको कोलकातामा स्वागत गरिने कार्यक्रम छ । कोलकातालाई भारतको फुटबल राजधानी मानिन्छ । त्यसको भोलिपल्ट उनी मुम्बई जानेछन् । अन्तिम दिन उनी दिल्लीमा हुनेछन् । दिल्लीमा उनले प्रधानमन्त्री मोदीलाई भेट्ने सम्भावना छ ।

मेस्सीले पछिल्लोपटक सन् २०११ मा भारत भ्रमण गरेका थिए । उनले कोलकाताको साल्ट लेक स्टेडियममा भेनेजुएलाका विरुद्ध मैत्रीपूर्ण खेल खेलेका थिए ।