
एजेन्सी । इजरायलले गाजा शहरबाट स्थानीयहरूलाई बाहिरिनका लागि अस्थायी बाटो खोलेको घोषणा गरेको छ ।
प्यालेस्टाइनी भूभागको मुख्य शहरमा व्यापक बमवर्षा गरेपछि इजरायलले अहिले स्थल आक्रमण थालेको छ र त्यसक्रममा स्थानीयहरूलाई सुरक्षित स्थानतर्फ जानका लागि बाटो खोलेको छ ।
सलाह अल–दीन सडकको बाटोलाई बाहिर निस्कनका लागि अस्थायी रूपमा खोलिएको इजरायली सेनाका प्रवक्ता अभिची अद्राईले बताए । यो बाटो ४८ घन्टाका लागि मात्र खोलिने उनको भनाइ छ ।
मंगलवारबाट इजरायलले गाजा शहरमा स्थल आक्रमण थाल्दै ट्यांक र रिमोटबाट नियन्त्रित बम फिट गरिएका बख्तरबन्द गाडीहरू पठाएको छ । इजरायलको यस आक्रमणलाई अन्तर्राष्ट्रिय जगतले आलोचना गरेको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघको आयोगले इजरायललाई प्यालेस्टाइनी भूभागमा नरसंहार गरेको आरोप लगाएको छ । इजरायलको विदेश मन्त्रालयले आयोगको प्रतिवेदनलाई तोडमरोड गरिएको र झूटो भनी प्रतिक्रिया दिएको छ ।
गाजा शहरमा चलाइएको आक्रमण पूरा हुन कैयौं महिना लाग्ने इजरायली सेनाको भनाइ छ । प्यालेस्टाइनी भूभागमा जनसंख्याको हिसाबले सबभन्दा ठूलो क्षेत्रका रूपमा रहेको गाजा शहरमा नियन्त्रण कायम गर्नका लागि इजरायलले पहिलोपटक समयतालिका सार्वजनिक गरेको हो ।
शत्रुलाई परास्त गर्न र प्यालेस्टाइनीहरूलाई बाहिर निकाल्नका लागि आक्रामक कारवाही चलाइएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । उनले हमासद्वारा बन्दी बनाइएका व्यक्तिको उद्धार गरिने कुरा उल्लेख गरेका छैनन् जबकि अहिलेको लडाइँ त्यसमा केन्द्रित हुने भनिँदै आएको थियो ।
बन्दी बनाइएका व्यक्तिको परिवार र तिनका समर्थकहरूले जेरुसेलममा रहेको नेतान्याहुको निवासमा मंगलवार विरोध प्रदर्शन गर्दै आफ्ना प्रियजनलाई नेतान्याहुले अलपत्र छोडिदिएको बताएका छन् ।








प्रतिक्रिया