
काठमाडौं । एक महिनामै नेपालको विदेशीमुद्रा (विदेशी विनियम ) सञ्चिति १ खर्ब २८ अर्ब ३६ करोड रुपैयाँले बढेको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा २०८२ साउन मसान्तमा विदेशी विनियम सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ पुगेको उल्लेख छ ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी विनियम सञ्चिति एक महिनामा १ खर्ब २८ अर्ब रुपैयाँले अथात् ४.८ प्रतिशतले बढेको हो ।
अमेरिकी डलरमा विदेशी विनियम सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ साउन मसान्तमा २.७ प्रतिशतले वृद्धि भई २० अर्ब ३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ साउन मसान्तमा ४.० प्रतिशतले वृद्धि भई २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ साउन मसान्तमा १२.० प्रतिशतले वद्धि भई २ खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ । २०८२ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत छ ।
गत आर्थिक वर्षके तुलनामा साउनमा आयात बढे पनि रेमिट्यान्समा भएको वृद्धिसँगै विदेशी मुद्रा सञ्चिति पनि बढेका सञ्चिति पर्याप्तता सूचकमा पनि वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को साउन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।
२०८२ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५.९ प्रतिशत, कुल आयातसँगकोको अनुपात १३८.३ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू ३६.० प्रतिशत छ । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत थिए ।








प्रतिक्रिया