जेनजीको नाममा विध्वंश हुँदा दशैंको मुखमा व्यापार चौपट भयो: व्यवसायी

483
Shares

काठमाडौं । जेनजी आन्दोलनमा भएको अराजक गतिविधिले मुलुकको उद्योग तथा व्यवसाय ध्वस्त भएको भन्दै व्यवसायीहरू चिन्तित बनेका छन् ।

भ्रष्टाचार नियन्त्रणको माग गर्दै जेनजी पुस्ताले गरेको आन्दोलन ठीक भए पनि त्यसमा भएको घुसपैठले सार्वजनिक तथा निजी सम्पत्तिले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै व्यवसायीहरू चिन्तित बनेका हुन् ।

आन्दोलनको क्रममा लुटिएका तथा आगजनीमा परेका सामानहरूको क्षतिपूर्ति कसले दिने भन्ने चिन्ता व्यवसायीमा छ । न्युरोडका कपडा व्यवसायीहरूले दशैंको मुखमा व्यवसाय सखाप भएको तथा नयाँ सामान ल्याउन भन्सारले नदिने भन्दै आफूहरू निकै पीडामा परेको बताए ।

राज्यसंरचना समेत ध्वस्त भएको कारण सरकारलाई भन्ने अवस्था समेत नरहेको कारण आफूहरूमा अन्योलता बढेको एक व्यवसायीको भनाइ छ ।

‘हामी व्यवसायीहरूलाई ठूलै धक्का परेको छ । अब यो सरकारले गर्छ कि कसले गर्छ हामीलाई बुझिदिनुपर्छ । दशैं नजिक आइसकेको छ । यो समयमा हामी एकदमै पीडामा छौं । बाहिरबाट ल्याउन लागेको सामान पनि नाकामा बगाइदियो । अब अहिले सामान ल्याउनको लागि भन्सार बन्द छ । राज्यको संरचना पनि ध्वस्त छ,’ उनले भने ।

जेन–जी पुस्ताको मागअनुसार अन्तरिम सरकार गठन गरेर मुलुकलाई अगाडि लैजानुपर्ने उनीहरूको माग छ । संविवधानको आवश्यक पुनरावलोकन गरेर प्रत्यक्ष कार्यकारीमा जाने व्यवस्था गर्नुपर्ने अर्का कपडा व्यवसायीको माग छ ।

‘अहिले सर्वसाधारणले पनि दुःख पाएको अवस्था छ । संकटा क्लबका साथिहरूको कारण हाम्रो त्यति धेरै क्षति हुन पाएन । अहिले जेनजीहरूलाई मेरो सुझाव छ, निर्णय छिटो लिनुस् । देशलाई अगाडि बढाउनतिर लाग्नुस्,’ उनले भने, ‘संविधानअनुसार अघि बढ्दा प्रत्यक्ष कार्यकारीको विषय कँही पनि उल्लेख गरिएको छैन । त्यो पनि विचार गर्नुहोस् । समयमै अन्तरिम सरकार बन्यो भने हामी व्यवसायी र मध्यम परिवारका मानिसहरूलाई राहत मिल्थ्यो कि भन्ने हो त्यत्ति हो ।’

भदौ २३ र २४ गते जेन–जी पुस्ताको आन्दोलनमा करिब ३ दर्जन व्यक्तिको मृत्यु तथा सिंहदरबार लगायत राज्यका भौतिक संरचनामा व्यापक क्षति पुगेको छ भने व्यवसायीमाथि आक्रमण भएको छ । कयौं व्यवसायीक प्रतिष्ठानमा आगजनी गरिएका छन् ।