
काठमाडौं । अन्तरिम सरकार गठनका विषयमा आज पनि छलफल हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार छलफल गरे पनि निष्कर्ष ननिस्किएकाले आज पनि छलफलले निरन्तरता पाउने भएको हो ।
जेन–जी समूहबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारमा प्रधानमन्त्री बनाउन सबैबीच समझदारी भएको छ तर संसद विघटन गर्ने विषयमा भने सहमति जुट्न सकेको छैन ।
वार्तामा सकारात्मक प्रगति भएको भए पनि अन्तिम टुंगो लाग्न बाँकी रहेको वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्याल बताउँछन् । आज बिहान ९ बजेपछि फेरि बैठक बस्ने तयारी रहेको उनको भनाइ छ । उनी जेनजी-बालेन समूहको नेतृत्व गर्दै बैठकमा सहभागी छन् ।
अन्तरिम सरकार र संसद् विघटनका विषयमा कसरी संवैधानिक प्रक्रिया पूरा गर्ने भन्ने विषयमा छलफल केन्द्रित छ ।
संविधान अनुसार प्रधानमन्त्री हुन प्रतिनिधिसभा सदस्य हुनुपर्छ । तर संसद बाहिरकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई जेनजीले अघि सारेपछि अब कुन प्रक्रियाबाट उनलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने भन्ने विषयमा राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग बिहीबार परामर्श गरेका थिए ।
राष्ट्रपतिसँगको छलफलका लागि शीतल निवास पुगेका संविधानविद्हरू विपिन अधिकारी, भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली लगायतले संविधानभित्रकै विकल्पबाट समाधान खोज्न राष्ट्रपतिलाई सुझाव दिएका थिए ।
वर्तमान संविधानको धारा ६१ (४) मा रहेको बाधा अड्काउ फुकाउको व्यवस्थाअनुसार राष्ट्रपति पौडेल अघि बढ्नु पर्ने सुझाव उनीहरुले दिएका थिए ।








प्रतिक्रिया