इजरायलले गरेको आक्रमणमा अमेरिकाले पूर्वसूचना दिएको दाबीलाई कतारले गर्‍यो खारेज

0
Shares

एजेन्सी । इजरायलले मंगलवार कतारको राजधानी दोहामा रहेको आवासीय क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेपछि कतारहरू आक्रोशित छन् ।

दोहामा रहेको हमास समूहका वार्ताकारहरूलाई लक्षित गरी इजरायलले उक्त आक्रमण गरेको थियो ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायलबाट आक्रमण हुन लागेको भनी कतारी अधिकारीलाई बताएको दाबी गरेका छन् । तर, कतारीहरूले ट्रम्पको यो दाबीलाई खारेज गरेका छन् ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सरकारलाई आक्रमणको पूर्व जानकारी दिइएको दाबी पूर्णतया झूटो भएको बताए ।

पछि कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इजरायलबाट क्षेप्यास्त्र प्रहार भएको १० मिनेटपछि मात्र अमेरिकाको फोनकल आएको बताए । उनले यसलाई राज्यसमर्थित आतंकवादको संज्ञा दिए ।

हमासले यस आक्रमणमा आफ्ना पाँच सदस्य मारिएको तर मुख्य वार्ताकार टोली जीवितै रहेको जनाएको छ । मृतकमध्ये एकजना कतारका सुरक्षा अधिकारी रहेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

ट्रम्पले पछि आक्रमणको लोकेशनका बारेमा नराम्रो अनुभव गरेको बताउँदै कतारलाई यस्तो कार्य नदोहोरिने आश्वासन दिए ।

‘(आक्रमणको) यो निर्णय प्रधानमन्त्री नेतान्याहुले लिएको, यो मैले लिएको निर्णय हैन,’ ट्रम्पले ट्रुथ सोससलमा लेखे ।

ह्वाइट हाउसले विज्ञप्ति जारी गरेर यस आक्रमणले इजरायल र अमेरिकाको लक्ष्य पूरा नहुने जनाएको छ । आफूले विशेषदूत स्टिभ विटकोफलाई कतारलाई सुच्ना दिन भनेको तर आक्रमण रोक्न ढिलाइ भएको ट्रम्पले बताए ।

कतारले इजरायल र हमासबीचको वार्ताका लागि संयोजन गर्दै आएको छ ।

यस आक्रमणपछि हमासले नेतान्याहु र उनको सरकार सहमतिमा पुग्न नचाहेको र सबै अवसरलाई गुमाउन उद्यत रहेको बताएका छन् ।

यस आक्रमणका लागि इजरायलका साथै अमेरिकी प्रशासन पनि जिम्मेवार रहेको हमासको भनाइ छ ।