देश भयानक अस्थिरतामा छ, खरानीबाट उठेर देश पुनर्निर्माण गरौंः योगेश भट्टराई

35
Shares

काठमाडौं । नेकपा एमालका सचिब योगेश भट्टराईले खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नुपर्ने भएकाले यसमा सबैले समन्वय गर्न आवश्यक रहेको बताएका छन् । बुधबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै भट्टराईले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिलाई ईंगित गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम सम्पन्न गर्ने अठोट गरौं,’ भट्टराईले भनेका छन्, ‘हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबीचको एकतालाई बलियो बनाऔं।’

देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्ने पनि उनले औंल्याएका छन् । विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्ने उल्लेख गर्दै उनले यही आधारमा अन्तर्राष्ट्रि समुदायलाई आह्वान गर्नुपर्ने पनि बताएका छन् ।

‘हामी यतिबेला इतिहासकै गंभीर संकटको अवस्थामा छौ । देश र समाज भयानक अस्थिरतामा छ । हामीसबै तनावमा छौं । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्याउँदैन,’ भट्टराईले भनेका छन्, ‘विकसित घटनाहरूलाई राम्रोसित विश्लेसण गरौं हामीबाट भएका कमजोरीको समिक्षा गरौं ।’ उनले गल्तीप्रति आत्मालोचित हुनुपर्ने पनि बताएका छन् ।