
काठमाडौं । नेपाल सेनाले मंगलबार रातिदेखि बुधबार बिहानसम्मा काठमाडौंसहित विभिन्न स्थानबाट अराजक गतिविधि र लुटपाटमा संलग्न रहेका २७ जनालाई पक्राउ गरेको छ ।
सेनाले बुधबार बिहान पौने ११ बजे सुरक्षा अपडेट जारी गर्दै यस्तो जानकारी दिएको हो । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार काठमाडौँलगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ ।
साथै काठमाडौँको गौशाला (चाबहिल (बौद्ध) क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ । काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार ३१ नाल, म्यागजिन र गोलीगठ्ठाहरु बरामद गरिएको छ ।
यसका साथै २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको छ भने ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको सेनाले जनाएको छ ।







प्रतिक्रिया