
काठमाडौं । जेनजीले वार्ता गर्न ६ बुँदे माग अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले वार्तामा आह्वान गरेपछि जेनजीले ६ बुँदे माग अघि सारेका हुन् ।
जसअनुसार तत्कालै गर्नुपर्ने भनेर शर्तको रुपमा विगत तीन दशकमा लुटिएको सम्पति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग राखिएको छ । यस्तै शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा र सञ्चारजस्ता पाँचवटा मूलभूत संस्थाको संरचनागत सुधार र पुनगठन गर्नुपर्ने माग अघि सारिएको छ ।
यसैगरी उनीहरुले वर्तमान राजनीतिक शून्यता र अस्थिरतालाई व्यवस्थापन गर्न जेनजी पुस्ताको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने (यो सरकार असफल पुराना दलहरुको प्रभावभन्दा स्वतन्त्र रहनुपर्ने), सम्पूर्ण हिंसात्मक गतिविधि रोक्ने, नागरिक सुरक्षाका ग्यारेन्टी गर्ने र राष्ट्रिय एकताको वातावरण सिर्जना गर्ने कार्य अन्तरिम सरकारको पहिलो प्राथमिकता हुने मागको रुपमा अघि सारिएको छ ।
यसका लागि सेना, प्रहरी र सशस्त्र निकायलाई जनसेवामा पुनः उन्मुख गराइने उल्लेख छ ।
यस्तै वर्तमान प्रतिनिधि सभा जनताबाट विश्वास गुमाइसकेकाले तत्कालै प्रतिनिधि सभा विघटन गरी राजनीतिक संक्रमणलाई स्पष्ट बनाउनुपर्ने, नयाँ पुस्ताको आकाँक्षा र जनताका वास्तविक चाहनालाई प्रतिविम्बित गर्ने खालको संविधान पुनरावलोकन वा पूर्ण रुपमा पुनर्लेखन गर्नुपर्ने (यो प्रक्रियामा नागरिक, विशेषज्ञ र विशेष गरी युवा पुस्ताको सक्रिय सहभागिता सुनिश्चित गरिनुपर्ने) तथा अन्तरिम अवधि सकिएपछि स्वतन्त्र, निष्पक्ष र प्रत्यक्ष जनसहभागितामा आधारित नयाँ चुनाव गर्नुपर्ने (प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व) माग अघि सारिएको छ ।







प्रतिक्रिया