बुधबार दिउँसो १२ बजेसम्म विमानस्थल बन्द, उडान रोकिएका यात्रुको पैसा फिर्ता हुने

1.1k
Shares

काठमाडौं । जेनजी आन्दोलनका कारण भएको ध्वंसात्मक गतिविधिसहितका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार साढे २ बजेदेखि बन्द छ । विमानस्थल मंगलबार दिउँसोबाट सुरु भएर बुधबार दिउँसो १२ बजेसम्म जारी रहने भएको छ । त्यो समयमा हुने सबै उडान र त्यसबाट प्रभावित यात्रुप्रति वायुसेवा कम्पनीले माफी मागेका छन् ।

आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले उडान प्रभावित भएर समस्यामा परेका यात्रुसँग माफी मागेको छ । देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिक गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको बुध्द एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले जानकारी दिए ।

मंगलबार र बुधबार जेनजी आन्दोलनका कारण उडान गर्न नपाएका यात्रुको भने पैसा फिर्ता हुने भएको छ । वायुसेवा सञ्चालक संघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर जेनजी आन्दोलनका कारण उडान गर्न नपाएका यात्रुको पैसा फिर्ता गर्ने बताएका छन् । यात्रुले सम्बन्धित वायुसेवा कम्पनीबाट नै उक्त रकम फिर्ता लिन सक्ने जानकारी पनि वायुसेवा सञ्चालक संघले दिएको छ ।

वायुसेवा सञ्चालक संघले सञ्चालनमा रहेका हेलिकप्टर कम्पनीबाट हुने पनि नेता तथा राजनीतिक नेतृत्वलाई उडान सेवा नदिएको दाबी गरेको छ । सामाजिक सञ्जालमा निजी वायुसेवाको जहाज प्रयोग गरेर नेता तथा राजनीतिक नेतृत्व भागको भन्ने हल्ला फैलिएकोले कुनै पनि निजी वायुसेवाले त्यस्तो उडान नगरेको उल्लेख छ ।