नेपाली युवा पुस्ता स्वदेशमा बस्न नसक्नुका ७ कारण

224
Shares

पछिल्लो समय युवापुस्तामा चरम नैराश्यता देखिएको छ । युवाको भावना अनुरुपका शिक्षा, स्वास्थ्य र रोजगारी नहुँदा युवा बिदेसिने क्रम उच्च छ । देशमै बसेका युवा पनि उपयुक्त अवसरको खोजीमा छन् ।

नैराश्यताले सीमा नाघेको र बेथितिले उग्र रुप लिएको परिस्थितिलाई युवापुस्ताले स्वीकार्न सकिरहेका छैनन् । सोमबारमात्रै देशका विभिन्न स्थानमा नयाँ पुस्ताले प्रणालीको बिरोध गरिरहेको छ । खासगरी उच्च ओहोदामा रहेकाहरुका छोराछोरीको बिलासी जीवनशैली र आम सर्वसाधारणलाई हातमुख जोड्नै हम्मेहम्मे परेको विरोधमा इन्डोनेसिया, फिलिपिन्समा भएको प्रदर्शनको लहर नेपाल आइपुगेको छ ।

युवाहरु नेपाल बस्न किन सकिरहेका छैनन् । यो आलेखमा हामी विभिन्न कारण औंल्याइएको छ । राज्यको नीति युवाको भावना तर्फ नहुनु, चाकरी र चाप्लुसीको सिद्धान्तलाई शिरोधार्य गर्नु, आफ्ना र आफन्तलाई योग्यता नभए पनि योग्य हो भन्ने आभास बनाई भर्ती गर्नु, देशमा आवश्कता अनुसार उद्योग कल कारखाना नखुल्नु र खुलेका पनि सत्यानास बनाउनु, आईटी सिक्ने शिक्षालय नबनाई आइटी हबको कुरा गर्नु, सिपलाई स्वीकार गर्न नसक्नु, कृषि अर्थशास्त्रको अवधारणा नहुुुनु, कृषि प्रधान देशमा कृषि सम्बन्धी हुनुपर्ने स्रोत साधन नहुनु र भएका पनि निष्क्रिय देखिनु तथा कामको सम्मान नहुनुलाई युवा नेपालमा बस्न नसक्नु वा पलायन हुनुको मुख्य कारण मान्न सकिन्छ ।

अब यी कारणलाई पालैसँग केलाऔं ।

१) राज्यको नीति एवं निर्देशन तय गर्ने व्यक्तित्वमा दुरदर्शिता नहुनु
‘दुर’को अर्थ टाढाको भविष्य तर्फ हेर्ने र ‘दर्शिता’ भनेको दर्शनलाई आत्मसाथ गर्ने क्षमता भन्ने हुन्छ । भविष्यमा हुने कुरा वर्तमानमा देख्न सक्ने क्षमताको राजनेताको खाँचो भएका कारण देशमा विकास र समृद्धि आउन सक्दैन । नेतृत्वमा रहेको दुरदर्शिताले गर्दा आज विकसित मुलुकहरु चीन, भारत, अमेरिका जस्ता देश कहाँबाट कहाँ पुगे भन्ने कुरा अञ्जानले पनि ठम्याउन सक्छ ।

विकास गर्ने सोच एवं धारणाको विकास हुनको लागि विद्वत व्यक्तित्व र देश प्रति माया गर्ने व्यक्तित्व नहुञ्जेलसम्म विकासका पूर्वाधार निर्माण हुने छैनन् र भए पनि त्यसमा यूवा अटाउन सक्ने अवस्था हुँदैन ।

२) गुणस्तरीय एवं प्राविधिक शिक्षा नहुनु
हाम्रो शिक्षा हेर्दा व्यवहारिकता कम र सैद्धान्तिक पक्ष बढी छ । २१ औं शताब्दीमा सैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक शिक्षा आवश्यक पर्छ । सैद्धान्तिक शिक्षालाई मात्र आत्मसाथ गर्ने हो भने त्यस देशका युवा वर्ग त्यहाँ रहन सक्दैनन् । सिद्धान्त बिक्री गर्ने थोरै मान्छे छन् र अवसर पनि पाउलान् । तर, अधिक व्यक्तित्वहरु यो अवस्थामा नरहन सक्छन् ।

३) कल कारखाना एवं विकासका पूर्वाधारहरु द्रुर्त गतिमा नबन्नु, भएका पनि बेच्नु
तत्कालीन अवस्थामा ३० देखि ३५ वटासम्म कल कारखाना खुलेको सुनेका थियौं । केही अवशेषका रुपमा अहिले पनि देख्न पाइन्छ । राज्यले देश, काल र परिस्थिति अनुसारका कल कारखना खोल्नु आवश्यक छ । तर, यहाँ भएका पनि कौडिको भाउमा बेचेको पाइन्छ । उद्योग कल कारखाना बन्नु भनेको देशको लागि आर्थिक एवं आत्मनिर्भर हुनु हो ।

युवालाई देशको खम्बा मानिन्छ । यो खम्बालाई कसरी संरक्षण गर्ने भन्ने कुरा सरकारले सोच्न बाध्य हुनुपर्छ हो । आजको बिडम्बना देशका कल कारखाना बेचेर देशका युवा बिदेसिन बाध्य बनाइएको होइन भन्न सकिँदैन । रेमिट्यान्सको कारण जसरी हुन्छ नजानिँदो तरिकाले विदेश धकेलिएको पाइन्छ । गाँउगाउँका युवा रोक्न कृषि औजार र कल कारखाना खोल्ने, त्यहीँ प्याकिङ देखि लेबलिङ गर्ने सम्मका लघु उद्योगको व्यवस्था नगरेकाले युवाहरुले अवसर खोजिरहेका छन् ।

४) कृषि क्रान्तिको मुल मन्त्रलाई मैजारो तर्फ लैजानु
विश्वमा जति सुकै विज्ञानको चमत्कार भए पनि खाद्यवस्तु मानिसलाई अपरिहार्य छ । यो कुरा मानव सबैले बुझेका पनि छन् । छिमेकी मित्र राष्ट्र भारत र चीनमा गरिएको कृषि क्रान्तिबाट पनि हेरेर हामी परजिवी हुनबाट बच्नु पर्छ भन्ने ज्ञान किन नआएको होला ? भारतले कुनै कारणबस शीतयुद्धको अवस्थामा हामीले के खाने ? हामी कसरी बच्ने ? हाम्रा युवालाई कसरी परिचालन गर्ने ? कस्तो प्रकारले हामी अन्नबाली सञ्चित गर्ने सकिन्छ ? भन्ने सोतको थियो । यस्तो कुरा तर्फ सरकार लाग्नु पर्ने हो । तर सरकारले कृषकलाई जसरी हुन्छ दुःख दिने भन्ने बाटोमा मात्र लागेको देखिन्छ ।

‘सरकार हामीलाई मल देउ’, ‘सरकार हामीलाई उखुको पैसा देउ’, ‘सरकार हामी काम गछौं, व्यवस्था मिलाई देउ’ भन्दा सरकारले मल बिज दिने बेलामा ‘बजेट छैन, हामी सक्दैनौं’ भन्छ । सरकार कृषि प्रति उत्तरदायी नै छैन, दुरदर्शी छैन । भिजन भएका युवा नेतृत्वमा आउन खोज्दा उसलाई अवरुद्ध गरिन्छ, अनि युवाहरु कसरी कृषि क्रान्तिमा रहन सक्छन् त ? सरकारले गाउँगाउँ कृषि सम्बन्धी ज्ञान, ध्यान र विवेक जहिले पु¥याउँछ त्यो दिन मात्र युवा देश फर्किन्छ ।

५) कामको सम्मान नहुनु
हामीले कामको सम्मान गर्न सिकेनौं, सिक्दै सिकेनौं । फलाम बनाउने, लुगा सिलाउने, मादल बनाउनेहरुलाई पानी बाराबार गर्‍यौं । सिलाउने, फलामको काम गर्ने, छालाको काम गर्ने व्यक्तिलाई अन्य काम गर्दा अत्यावश्यक काममा बाधा पर्ने भएकाले उनीहरुलाई नचलाउनु , नबराल्नु, भन्ने कडीमा रहेको बेला कामको सम्मान थियो । पछि यसलाई कथित सुकिला मुमिला भन्नेहरुले गाँउ समाजमा नै पानी बाराबार गरेको कुरा स्पष्ट छ ।

हामी आज खेतबारीमा काम गर्ने, सरसफाई गर्ने, कृषिमा काम गर्ने लगायतलाई हेर्ने दृष्टि, अहिले पनि कहाँ राम्रो नजरमा छ र ? हामीले काममा सम्मान गरेको भए हाम्रो समाज यस्तो हुँदैन थियो । राज्य बनाउने व्यक्ति पनि त्यही समाजबाट गएको हुन्छ । उसले देख्ने भनेको दुषित समाज हो । नयाँ सोच, नयाँ जाँगर लिन बाहिरी अवस्था बुझेको, माटो सुहाउँदो राज्यको नीति बनाउन राम्रो स्थानको उच्च ज्ञान हुनैपर्छ ।

६) नातावाद, कृपावाद र चाकरीवाद हाबी हुनु
नातावाद, कृपावाद र चाकरीवाद भनको व्यवसाय, राजनीति, मनोरञ्जन क्षेत्र, धर्म र अन्य गतिविधि लगायतका विभिन्न क्षेत्रमा कुनै काममा योग्यता, न्याय अन्यायको ख्याल नगरी आफ्नो आफन्तको पक्ष लिने प्रवृति हो । यो क्याथोलिक पोप तथा पादरीहरुले आफ्ना भाइ भतिजा तथा नातेदारलाई जिम्मेवारी सुम्पने प्रवृतिबाट यो शब्दको उत्पत्ति भएको हो । यस विषयमा अरस्तु, तिरुवल्लुवर र कन्फ्युससियस सहित धेरै दार्शनिकहरुले आलोचना गर्दै आएको पाइन्छ ।

यसको चरितार्थ आज उदारवादी अर्थतन्त्र र समाजवाद उन्मुख भनिएको नेपाली समाजमा नातावाद, परिवारवाद र चाकरीवाद हराउनुको साटो झन् मौलाउँदै गरेका उदाहरण धेरै छन् ।

संस्थाका लागि अचुक राम्रो होस भनेर सल्लाहकार नियुक्त गर्ने चलन छ । देखावटी रुपमा राम्रो गरे पनि जहाँ खायो त्यही थुक्ने प्रवृति सल्लाहकारमा नभएको होइन । कुनै पनि संघ, संस्था एवं कार्यालयमा १८/२० वर्ष जागिर खाएका कर्मचारीलाई बिनाकारण यहाँ पदवी तलमाथि पार्ने, कर्मचारी प्रति नभएका बहाना बुनेर कसरी आफ्नो लाभको लागि दुःख दिने, सकेसम्म पाखा लाउने जस्ता कामले गर्दा आज आफ्नो कामप्रति उत्तरदायि भएका कर्मचारी मानसिक रुपमा बिचलन ल्याउने कार्य भएको कारण आज युवा बिदेसिनु बाध्य भएको पाइन्छ ।

७) आर्थिक असमानता
नेपालमा गरिबीको स्तर अझै उच्च भएको महसुस हुन्छ । गाउँका युवाहरुले सहरमा राम्रो काम पाउन संघर्ष गर्नुपर्छ । परिवारका लागि आर्थिक सहयोग पु¥याउन, दाइजो प्रथालाई सजिलो पार्न, लालाबालालाई पढाउन खुवाउनका लागि उनीहरु बिदेसिन बाध्य भएको कुरा हामीबीच छर्लङ्ग छ । यस्ता प्रकारका विविधताले आज युवाहरु बिदेसिन बाध्य भएको पाइन्छ ।

निष्कर्ष
नेपालको शिक्षा प्रणालीमा सैद्धान्तिक भन्दा व्यवहारिकताको आवश्यकता छ । जहिलेसम्म व्यवहारिक शिक्षा लागु हुँदैन, व्यवहारिक काम सुरु हुँदैन, देशमा कल कारखाना यथोचित खोलिँदैन, गाँउगाउँमा लघु उद्योग खुल्दैनन्, जनताका दिन प्रतिदिन गरिएको कृषि लगानीको सम्मान हुँदैन, उत्पादन भएका वस्तुको जिम्मा सरकारले लिँदैन, गाउँको भावना बुझ्दैन, राजनीतिमा दुरदर्शिताको दृष्टि खुल्दैन, नयाँ यवाको उदय हुँदैन, नातावाद, कृपावाद र चाकरी चाप्लुसीवाद अन्त्य हुँदैन, कामको सम्मान हुँदैन, कामलाई सिरोधार्य गरिँदैन, कृषि पेशा गर्नेलाई आत्मबलको महसुस गराइँदैन, आर्थिक रुपमा गरिबलाई कुनै काम गर्ने वातावरण एवं शिक्षाको गतिमा स्वीकार गर्न सकिँदैन, तबसम्म हाम्रो जस्तो देश अगाडि बढ्न सक्ने अवस्था आउँदैन । तबसम्म देश सबल बन्न सक्दैन । आत्मविश्वास लिन सक्दैन, आफूले फलाएको अन्नबाली १ वर्षमा जस्तो सुकै अवस्था आए पनि टेरिँदैन भन्ने अवस्था आउनको लागि दुरदृष्टि भएको सरकारको आवश्यकता छ ।

हाम्रो देशलाई कृषिप्रधान देश भनिएको छ । साँच्चिकै कृषिप्रधान देशमा युवा पलायनको अवस्था रहन्छ ? ठिकै छ, लौ कृषिप्रधान नै हो रे । कृषिप्रधान देश भएपछि कृषिका लागि गर्नुपर्ने र हुनु पर्ने व्यवस्था छ त ? छैन भने कसरी कृषिप्रधान मान्ने ? लौ कृषिप्रधान नै मानौ । तर, कृषिप्रधान भएपछि आफूले १ वर्ष जस्तो अवस्था आए पनि कहीँ कतै शीतयुद्ध भए पनि बाँच्न सक्ने अवस्था हुनपर्छ कि पर्दैन ? भन्ने कुरा सोचनीय छ । यति मात्र सोच्ने अवस्था आएको खण्डमा युवा बिदेसिनु पर्दैन । र, देशले आफ्नो अस्तित्वमा रहन सक्छ ।

(लेखक कार्की डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालमा कार्यरत छन् ।)