एक्स र विच्याटले विवरण उपलब्ध गराए, हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण

322
Shares

काठमाडौं । नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउने निर्णयसँगै हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भई पुनः सक्रिय भएका छन् । त्यस्तै, ट्वीटर (एक्स) र विइच्याटले आवश्यक विवरण उपलब्ध गराइसकेका कारण सूचीकरण हुने तयारीमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

सरकारको निर्णयअनुसार सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र निष्क्रिय गराइएको छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत ती सामाजिक सञ्जालको पहुँच बन्द गरिएको छ।

मन्त्रालयले असुरक्षित, अनाधिकृत र जोखिमयुक्त भीपीएन प्रयोग गरी निष्क्रिय गरिएका सामाजिक सञ्जालमा प्रवेश नगर्न र नगराउन अनुरोध गरेको छ ।

नेपालमा सञ्चालनमा रहेर हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण गर्न मन्त्रालयले पुनः आह्वान गरेको छ।

सूचीकरणका लागि कुनै शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरेसँगै सोही क्षणदेखि सामाजिक सञ्जाल पुनः सक्रिय गराइने व्यवस्था गरिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

Skip This