म्युचुअल फण्ड

पुँजी बजारमा लगानी गर्न ४९ योजनाका ५९ अर्ब, १५ अर्बको नयाँ कोष थपिँदै


काठमाडौं । नेपालको पुँजी बजारमा म्युचुअल फण्ड अर्थात् सामूहिक लगानी कोषको उपस्थिति तीव्र रूपमा बढ्दो क्रममा छ । म्युचुअल फण्डले सामान्यतया स–साना लगानीकर्ताहरूको रकम संकलन गरी त्यसलाई विभिन्न वित्तीय उपकरण तथा सेयर बजारमा व्यवस्थित तरिकाले लगानी गर्ने गर्दछ ।

साना र धितोपत्र बजारको ज्ञान कम भएर जोखिम विश्लेषण गर्न नसक्ने व्यक्तिगत लगानीकर्ताले सीधै बजारमा जोखिम मोलेर प्रवेश गर्नु भन्दा म्युचुअल फण्ड अर्थात् सामूहिक लगानी कोषमा लगानी गर्नु राम्रो मानिन्छ । त्यति मात्रै नभएर सरकारले पनि सामूहिक लगानी कोषलाई प्रोत्साहन गर्न कर छुट दिने नीति लिएको छ ।

लगानी गर्दा सुरक्षा, पारदर्शिता र दीर्घकालीन प्रतिफल दुवै पाउने भएकाले यसमा आम मानिसको लोकप्रियता क्रमशः बढ्दै गएको छ ।

नेपालमा बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालन गरिरहेका बन्दमुखी र खुलामुखी गरी कुल ४९ वटा म्युचुअल फण्डहरू सक्रिय रहेका छन् । यीमध्ये बन्दमुखी योजनाको संख्या ३९ छ भने खुलामुखी योजनाको संख्या १० पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्यांक अनुसार साउन मसान्तसम्म यी फण्डहरूले ५८ अर्ब ९५ करोड ९० लाख रुपैयाँभन्दा बढी रकम परिचालन गरी सेयर बजार र मनि मार्केटका अन्य उपकरणमा लगानी गरेका छन् । गत साउन मसान्तमा सेयर म्युचुअल फण्डको कुल नेटवर्थ ६८ अर्ब ९६ करोड रुपैयाँ छ ।

म्युचुअल फण्डको धितोपत्र बजारको कुल लगानी भने ५३ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । जसमध्ये अधिकांश लगानी सूचिकृत कम्पनीको सेयरमा नै रहेको छ । केही बैंक निक्षेपमा पनि लगानी गरेका छन् भने केही मनि मार्केटका औजारमा लगानी गरे पनि त्यसको हिस्सा सानो छ ।

पछिल्लो समय बैंकमा निक्षेपको ब्याजदर घटेको, सरकारी ऋणपत्र र ट्रेजरी बिलको पनि रेट घटेको कारण म्युचुअल फण्डलाई यी उपकरणमा लगानी गर्नु भन्दा सेयर बजारमा गर्ने लगानी नै प्रभावकारी बन्ने अवस्था देखिन्छ ।

नेपालको सेयर बजारमा संस्थागत लगानीकर्ताको अभावमा सेयर बजारमा उतारचढाव कम गर्न महत्वपूर्ण भूमिका खेल्न नसकेको अवस्थामा सामूहिक लगानी कोषमार्फत सेयर बजारमा लगानी बढ्दा बजारको स्थायित्वमा समेत सकारात्मक प्रभाव पर्छ । यसले बजार दिगो हुने र दीर्घकालीन प्रतिफल प्राप्त हुने गरी सूचिकृत कम्पनीको प्रतिफल, संस्थागत सुशासन, कम्पनीको भविष्य समेतको आधारमा लगानी गर्ने हुँदा म्युचुअल फण्डले बजारमा फरक प्रभाव पार्ने विश्लेषण गरिन्छ ।

पुँजी बजारमा लगानी संरचनाको हिसाबले हेर्दा, बन्दमुखी फण्डहरूको लगानी धेरै रहेको छ । १ अर्बभन्दा बढीको कोष भएका २८ वटा बन्दमुखी म्युचुअल फण्ड रहेका छन् । त्यस्तै ११ म्युचुअल फण्डले ५६ देखि ९० करोडसम्मको कोषमार्फत लगानी गर्दै आएका छन् । बन्दमुखी म्युचुअल फण्ड अन्तर्गत ग्लोबल आईएमई समुन्नत योजना जस्ता केही ठूला फण्डहरू १ अर्ब ५० करोड रुपैयाँसम्मको कोष भएका छन् ।

सिद्धार्थ इक्विटी फण्ड र एनआईबिएल समृद्धि फण्ड–२ ले १ अर्ब ५० करोडको कोष छ भने एनएमबी हाइब्रिड फण्ड एल–२ को १ अर्ब ३६ करोड, एनआईबिएल ग्रोथ फण्डले १ अर्ब ३२ करोड, मुक्तिनाथ म्युचुअल फण्ड–१ र गरिमा समृद्धि योजनाको १ अर्ब २५ करोडको कोष छ ।

यता खुलामुखी तर्फका १० म्युचुअल फण्डले ४० करोडदेखि झन्डै ६ अर्ब रुपैयाँसम्म कोषमार्फत लगानी गरेका छन् । त्यसमध्ये केही म्युचुअल फण्डहरू भने उच्च परिमाणमा लगानी गर्न सफल भएका छन् । १ अर्ब रुपैयाँभन्दा बढीको कोष पुगेका ५ वटा फण्ड छन् ।

खुलामुखी म्युचुअल फण्डतर्फ एनआईबिएल सहभागिता फण्डले सबैभन्दा ठूलो कोष पुगेको छ । एनआईबिएलले पुँजी बजारमा ५ अर्ब ९८ करोड ८० लाख रुपैयाँको कोष पुर्‍याउँदा सबैभन्दा ठूलो सामूहिक लगानी योजना बनेको छ । त्यस्तै, एनएमबी सरल बचत फण्ड–ई को कोष ३ अर्ब ४७ करोडभन्दा बढी र एनआईसी एशिया डायनामिक डेब्ट फण्ड, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, नबिल फ्लेक्सी क्याप फण्डको कोष ३ अर्बभन्दा बढी पुगेको छ । खुलामुखी अन्य ५ म्युचुअल फण्डको कोष भने ४० करोडदेखि ६२ करोडको छ ।

बढ्दो लगानी र यसको संरचना हेर्दा नेपालमा म्युचुअल फण्ड विस्तार हुँदै गएको र यसप्रतिको आकर्षण पनि बढ्दै गएको छ । पछिल्लो आर्थिक वर्षमा म्युचुअल फण्डले दिएको लाभांशले पनि लगानीकर्ताको विश्वास बढ्दै जाने अवस्था बनेको छ । बैंकमा निक्षेप राख्दा बचतमा २.७५ प्रतिशत र मुद्दती निक्षेपमा १ वर्ष अवधिको लागि राख्दा ५ प्रतिशतको करिब मात्रै ब्याजदर पाइने अवस्था छ ।

हाल सञ्चालनमा रहेका अधिकांश सामूहिक लगानी योजनाले लाभांश प्रस्ताव गरिसकेका छन् । जसमध्ये अधिकतम २१.०५ प्रतिशत लाभांश घोषण हुँदा विभिन्न म्युचुअल फण्डका ३० वटा योजनाले १० प्रतिशत वा सोभन्दा माथि लाभांश दिएका छन् । लक्ष्मी सनराइज क्यापिटल कोष व्यवस्थापन गरेको ६ वटा सामूहिक लगानी योजनामध्ये ६ वटैले नै दोहोरो अंकको लाभांश दिएका छन् । त्यस्तै सिद्धार्थ क्यापिटल, सानिमा क्यापिटल, आर्बीबी मर्चेन्ट बैंकिङ कोष व्यवस्थापक रहेको म्युचुअल फण्डले पनि आकर्षक लाभांश दिएका छन् ।

गत आर्थिक वर्षको नाफाबाट लक्ष्मी उन्नति कोषले २० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र सिद्धार्थ इक्विटी फण्डले पनि २०/२० प्रतिशत लाभांश दिएका हुन् । यस्तै आरबीबी म्युचुअल फण्ड १ ले २० प्रतिशत र सानिमा लार्जक्याप फण्डले सबैभन्दा धेरै २१.०५ प्रतिशत लाभांश दिएको हो ।

अहिले पनि धेरै म्युचुअल फण्ड न्याभ भन्दा तल पाइएको अवस्था छ । यस्तै प्रतिफल पनि राम्रो दिइरहेको अवस्थामा बैंकमा निक्षेप राख्नुभन्दा म्युचुअल फण्डको लगानी प्रतिफलको हिसाबले पनि राम्रो देखिएको छ ।

विस्तार अझै प्रष्ट हुँदै गएको छ । पहिले सीमित लगानीकर्ताले मात्र प्रयोग गर्ने माध्यमको रूपमा रहेको म्युचुअल फण्ड अहिले सर्वसाधारणदेखि संस्थागत लगानीकर्तासम्म सबैको रोजाइ बन्दै गएको छ । यसले सेयर बजारमा पुँजी आपूर्तिको दायरालाई विस्तार गर्नुका साथै दीर्घकालीन वित्तीय स्थिरतामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

बोर्डले विवरणपत्र स्वीकृत गरेसँगै हिमालयन इन्भेष्टमेन्ट बैंकर कोष व्यवस्थापक र हिमालयन लाइफ इन्स्योरेन्स कोष प्रवर्द्धक रहेको ४ अर्बको हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड निष्कासन सुरु भएको छ ।

त्यस्तै आरबीबी फोकस ४० को १ अर्ब बराबरको म्युचुअल फण्डका इकाइ निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डले विवरणपत्र स्वीकृत गरेको छ । उक्त इकाइ निष्कासन हुन बाँकी छ ।

नेपाल धितोपत्र बोर्डमा हिमालयन क्यापिटलले खुलामुखी १ अर्बको हिमालयन दीर्घकालीन बचत योजना निष्कासनका लागि स्वीकृतिको लागि आवेदन दिएको छ । त्यस्तै माछापुच्छ्रे क्यापिटलको ५० करोड रुपैयाँको खुलामुखी माछापुच्छ्रे एसआईपी योजनाको इकाइ निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

यस्तै बन्दमुखी ७ वटा सामूहिक लगानी योजनाको इकाइ निष्कासनका लागि पनि बोर्डमा आवेदन परेको छ । यी ७ योजनाको ७ अर्ब ८० करोड सहित कुल ९ अर्ब ३० करोड रुपैयाँ बराबरको सामूहिक लगानी योजनाको इकाइहरू निष्कासनको लागि धितोपत्र बोर्डमा अनुमतिको प्रतिक्षामा छन् ।