
एजेन्सी । पोर्चुगलस्थित लिस्बनमा रेल दुर्घटना हुँदा कम्तिमा १५ जनाको मृत्युको छ । प्रसिद्ध ग्लोरिया फ्यूनिक्यूलर दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ भने एक बच्चासहित अन्य १३ जनाको सामान्य चोटपटक लागेको अधिकारीहरूले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
बुधबार साँझ अभेनिडा दा लिबेर्दाजनजिक भएको दुर्घटनामा सुरुवाती रूपमा मानिसहरू फसेको बताइए पनि सबैलाई उद्धार गरिएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार फ्यूनिक्यूलर ब्रेक नलागी नियन्त्रण बाहिर गई मोडमा खस्दै भवनमा ठोक्किएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पहेँलो रेल पूर्ण रूपमा क्षतिग्रस्त देखिएको छ।
राष्ट्रपति मार्सेलु रुबेलु डुसोजा, लिज्बनका मेयर कार्लोस मोएडस, युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लाइअन र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । मृत्यु हुनेहरूमा विदेशी पनि भएको बताइएको छ, तर परिचय सार्वजनिक भएको छैन ।
पोर्चुगलमा नेपालीको पनि बाक्लो उपस्थिति रहेको छ ।
अहिलेसम्म दुर्घटनाको कारण स्पष्ट नभए पनि केही रिपोर्टअनुसार तार खुकुलो भएर रेल नियन्त्रण बाहिर गएको अनुमान गरिएको छ ।
फ्यूनिक्यूलर सञ्चालन गर्ने कम्पनी क्यारिसले मर्मत प्रोटोकल पालना भएको र घटनाको छानबिन सुरु भएको जनाएको छ।
सन् १८८५ मा सुरु भई पछि विद्युतीकरण गरिएको ग्लोरिया फ्यूनिक्यूलर लिज्बनको प्रमुख पर्यटक आकर्षण हो । छोटो दूरीमै रमणीय सडक यात्रा गर्ने यो सवारी गर्मीयाममा विशेष व्यस्त हुने गर्दछ।








प्रतिक्रिया