सामाजिक सञ्जाल बन्द हुने प्रधानमन्त्रीका मुख्य सल्लाहकारको संकेत

0
Shares

काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन् । बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म धेरैका लागि लतझैँ बनेको बताएका छन् ।

रिमालले लेखेका छन्, ‘प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक रूपमा दर्जनौँ स्टाटसमार्फत आफ्ना गतिविधि र भावना सार्वजनिक गर्ने चलन बढेको छ। यस्ता प्लेटफर्म अचानक बन्द भए के होला भन्ने जिज्ञासा उठ्छ।’

उनका अनुसार केही अवाञ्छित गतिविधि र गैरजिम्मेवार प्रयोगकर्ताको कारण सर्वोच्च अदालतले नेपालमा सम्पर्क बिन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन प्रणाली र आवासीय गुनासो अधिकारी तोक्ने व्यवस्था नगरेसम्म यस्ता कम्पनीलाई सूचीकृत नगरी सञ्चालन गर्न नदिने आदेश दिएको छ।

यस्तो छ उनको स्टाटस

सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म प्रायः हामी सबैको लत बनेको छ । प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौं स्टाटस मार्फत् आ–आफ्ना गतिविधिबारे जानकारी दिने र भावनाको साटासाट गर्ने गरिँदै आएको छ । यस्तो लागछ– केही गरी यी प्लेटफर्महरु बन्द भयो भने के होला ?

सायद, केही अवाञ्छित तत्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ । सम्भवत दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन्।

लतकै रुपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचिकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस्।