
एजेन्सी । अफगानिस्तानमा आइतवार राति आएको भूकम्पमा परी मर्नेहरूको संख्या ११ सय नाघेको रोयटर्स समाचार संस्थाले समाचार प्रकाशन गरेको छ ।
अफगान रेड क्रिसेन्ट सोसाइटीलाई उद्धृत गर्दै रोयटर्सले लेखेअनुसार, कम्तीमा ११ सय २४ जनाको मृत्यु भएको छ । ३२ सय ५१ जना घाइते भएका छन् । ८ हजारभन्दा बढी घरहरू ध्वस्त भएका छन् ।
धेरै मानिसहरू भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
अफगानिस्तानमा संयुक्त राष्ट्रसंघका संयोजकले मृत्युसंख्या बढ्न सक्ने बताएका छन् ।
हिन्दुकुश पर्वतशृंखला रहेको अफगानिस्तानमा भारतीय र युरेसियाली टेक्टोनिक प्लेटहरू ठोकिने भएकाले त्यहाँ भूकम्पको जोखिम उच्च छ ।
६ म्याग्निच्युडको भूकम्प जम्मा १० किलोमिटरको गहिराइबाट आएको थियो । पूर्वी क्षेत्रका कुनार र नानगरहार प्रान्तहरूमा बढी क्षति पुगेको छ ।
कुनारका गाउँहरूमा उद्धार कार्य जारी छन् । पहाडको दुर्गम भूभाग तथा खराब मौसमका कारण उद्धारकर्ताहरूलाई कठिनाइ आइरहेको छ ।
पहाडका साँघुरा बाटोहरूमा गाडी लैजान गाह्रो परेको छ । डोजर लगाएर बाटोबाट भग्नावशेषहरू हटाइँदैछ ।








प्रतिक्रिया