सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे उत्तर कोरियाली शासक किम

1.3k
Shares

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार बिहान विशेष रेलमार्फत चीन प्रवेश गरेका छन् । उनी दोस्रो विश्वयुद्धमा जापानले आत्मसमर्पण गरेको औपचारिक समारोहमा सहभागी हुन चीन पुगेको उत्तर कोरियाली राज्य सञ्चारमाध्यमले जनाएको छ ।

रोडोङ सिनमुनले जनाएअनुसार किम सोमबार प्योङयाङबाट प्रस्थान गरी मंगलबार बिहानै चीन प्रवेश गरेका हुन् ।

किम बुधबार बेइजिङमा आयोजना हुने सैन्य परेडमा सहभागी हुने अपेक्षा गरिएको छ । सो अवसरमा उनी चिनियाँ राष्ट्रपति सी जिनपिङसँगै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसउद पेझेस्कियनलगायत नेतासँगै हुनेछन् ।

रोडोङ सिनमुनले किम आफ्ना विदेशमन्त्री छोए सोन हुईलगायतको टोलीसँगै गाढा हरियो रंगको रेलमा यात्रा गरिरहेको तस्बिरसमेत प्रकाशित गरेको छ । उक्त रेल अघिल्ला पटक विदेशी भ्रमणका लागि प्रयोग गरिएको बुलेटप्रुफ रेलसँग मिल्दोजुल्दो देखिएको रोयटर्सले जनाएको छ ।

चीन प्रवेश गर्नु अघि किमले सोमबार एउटा क्षेप्यास्त्र प्रयोगशालाको अवलोकन गरेका थिए । त्यहाँ कार्बन फाइबर कम्पोजिट सामग्री प्रयोग गरेर अन्तरमहाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्रका इन्जिन विकास भइरहेको छ ।

राज्य सञ्चारमाध्यम केसीएनएले मंगलबार जनाएअनुसार, ‘कार्बन फाइबर कम्पोजिट प्रयोग गरिएको नयाँ ठोस इन्धन इन्जिनको अधिकतम प्रोपल्सन क्षमता १,९६० केएन छ, जसलाई ‘ह्वासोङ–१९’ सिरिज र आगामी पुस्ताको ‘ह्वासोङ–२०’ अन्तरमहाद्वीपीय क्षेप्यास्त्रमा प्रयोग गर्ने योजना छ ।’

सोमबार नै उत्तर कोरियाले सी जिनपिङले विश्वव्यापी शासन प्रणालीलाई अझ न्यायपूर्ण बनाउन गरेको वक्तव्यप्रति समर्थन जनाएको थियो । उत्तर कोरियाली उप–विदेशमन्त्रीले मन्त्रालयको वेबसाइटमा राखेको अभिव्यक्तिमा चीन–उत्तर कोरिया सहकार्य त्यस्तो मूल्य प्राप्त गर्न अझै प्रगाढ हुने बताए ।

सोमबारै सी जिनपिङले रूस र भारतका नेतासहित सहभागी शिखर सम्मेलनमा ‘ग्लोबल साउथ’ लाई प्राथमिकता दिने नयाँ सुरक्षा र आर्थिक व्यवस्थाको दृष्टिकोण अघि सारेका थिए । यो दृष्टिकोण अमेरिकाप्रति सीधै चुनौतीको रूपमा व्याख्या गरिएको छ ।