
एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले सोमवार थ्यान्चिनमा भएको “शांङ्हाई सहयोग संगठन प्लस (एससीओ) बैठकमा ग्लोबल गभर्नेन्स इनिसिएटिभको प्रस्ताव गरेका छन् ।
विश्वव्यापी सुशासन पहलको यो प्रस्ताव एससीओको विस्तारित बैठकको क्रममा आएको हो । त्यसमा सदस्य राष्ट्रहरूसँगै नेपाल लगायतका संवाद साझेदार र अफगानिस्तान लगायतका पर्यवेक्षक राष्ट्रहरू पनि सहभागी छन् ।
बैठकको उद्घाटनमा राष्ट्रपति सीले भने, “मानव जातिको साझा भविष्यका लागि न्यायपूर्ण र समतामूलक वैश्विक शासन प्रणाली बनाउन सबै देशसँग मिलेर काम गर्न म उत्सुक छु ।”
विश्व शासन “नयाँ दोबाटोमा” आइपुगेको सीले बताए ।
यस पहल अन्तर्गत “एससीओ प्लस” राष्ट्रहरूले सार्वभौमिक समानता पालन गर्नुपर्ने, अन्तर्राष्ट्रिय कानुनको नियमअनुसार अघि बढ्नुपर्ने, बहुपक्षीयतालाई अभ्यास गर्नुपर्ने, जनकेन्द्रित दृष्टिकोणलाई अघि बढाउनुपर्ने र “व्यावहारिक कार्यमा जोड दिनुपर्ने” सीले बताए ।
राष्ट्रपति सीले मानव जातिका साझा मूल्यहरूलाई समर्थन गर्ने उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिए । साथै, आगामी पाँच वर्षभित्र चीनले अन्य एससीओ मुलुकका लागि जन्मजात मुटु रोग भएका ५०० बिरामीको उपचार गर्ने, ५ हजार बिरामीको मोतियाबिन्दु अपरेशन गर्ने र १० हजार बिरामीको क्यान्सर परीक्षण गर्ने घोषणा गरे ।
यसअघि पनि उनले सुरक्षा, सभ्यता र विकास विषयमा तीनवटा यस्तै पहल अघि सारेका थिए ।
थ्यान्चिन शिखर सम्मेलन एससीओको इतिहासमै सबैभन्दा ठूलो कार्यक्रम भएको बताइन्छ ।सन् २००१ मा संगठन स्थापना भएपछि चीनले पाँचौंपटक यसको आयोजना गरेको हो । सम्मेलनमा नेपाल सहित करिब २० राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँगै विभिन्न अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरू सहभागी भएका थिए ।
यसअघि सोमवार नै एससीओ नेताहरूले थ्यान्चिन घोषणा पारित गर्दै अर्थतन्त्र र सुरक्षामा आपसी सम्बन्ध मजबुत पार्ने प्रतिबद्धता जनाएका छन् ।








प्रतिक्रिया