चीनमा मोदी पुटिनसँग हिँड्दा पाकिस्तानका प्रधानमन्त्री हेरेको हेर्‍यै (भिडियो)

1.4k
Shares

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनपिङसँग न्यानो भेटघाट गरेका छन् ।

चीनको थ्यानचिन शहरमा आयोजना भइरहेको शाङ्हाई सहयोग संगठन (एससीओ) को शिखर बैठकमा यी तीन प्रभावशाली नेताहरूबीच सौहार्द्रपूर्ण कुराकानी भएको हो ।

उक्त समारोहमा खिचिएको एउटा भिडियोमा मोदीले पुटिनको हात समातेर उत्साहित हुँदै प्लेनरी सत्रमा जाँदै गर्दा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ठुस्स परेर हेरेको देखिएको छ ।

शिखर सम्मेलनमा खिचिएको पारिवारिक तस्बिरमा मोदी शरिफभन्दा निकै टाढा उभिएको देखिन्छ ।

पछि मोदीले आफू, पुटिन र सीसँगको फोटो पोस्ट गर्दै अन्तर्क्रियाहरू चलिरहेको जानकारी दिए ।

गत मे महिनामा भारत र पाकिस्तानबीच चार दिनसम्म संघर्ष भएको थियो । अप्रिल महिनामा जम्मु कश्मीरको पहलगाममा पाकिस्तानस्थित लश्कर–ए–तैयबाको शाखा द रेजिस्टेन्स फ्रन्ट नामक आतंकवादी संगठनले २६ जनाको हत्या गरेपछि भारतले पाकिस्तानस्थित आतंकवादी शिविरहरूमा आक्रमण गरेको थियो । त्यसपछि दुई देशका सेनाबीच क्षेप्यास्त्र हानाहान भएको थियो ।

भारतसँगको सैन्य संघर्षपछि पाकिस्तान अहिले अमेरिकासँग नजिकिने प्रयास गरिरहेको छ । उसले युद्ध रोक्न अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको भूमिका रहेको भन्दै उनलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको छ ।

तर, पाकिस्तानको डिरेक्टर जनरल अफ मिलिटरी अपरेशन्सले भारतीय समकक्षीलाई अनुरोध गरेपछि युद्धविराम गरिएको भारतले दाबी गर्दै आएको छ ।