सेयर कर्जा र बिमकको लगानी बढेको-बढ्यै, ‘गुलजार बनेन बजार’

889
Shares

काठमाडौं । गत साउन १३ गते ३००२ बिन्दुमा पुगेर अडिएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार (भदौ १५ गते) २७४९ बिन्दुमा सीमित भएको छ । साउन १३ यताको २२ कारोबार दिनमा नेप्से २५३ अंकले घटेको छ भने कारोबार पनि निकै संकुचित बनिसकेको छ ।

गत साउन १३ मा नेप्से चार वर्ष यताकै उच्च बिन्दुमा पुग्न सफल भएको थियो । २०७८ भदौ २ गते ३१९९.०३ (त्यसदिन ३२२६) बिन्दुसम्म पुगेको नेप्से त्यसपछि घटेर माथि चढ्न सकेको थिएन । तर, गत साउनमा भने नेप्से एकै दिन ३०.७६ अंकले बढेर चार वर्षपछि ३००२ बिन्दुसम्म पुग्न सफल भयो, जुन बिन्दुमा एक दिन भन्दा बढी टिकिरहन भने सकेन ।

सूचकका हिसाबमा कुरा गर्दा नेप्सेले गत वर्षकै लय यस वर्ष पनि पक्रियो । गत वर्ष २०८१ असार १६ गते २०३७ बिन्दुमा रहेको नेप्से ३३ कारोबार दिनमा ९६३ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको थियो । त्यसपछि, यस वर्षको जस्तैगरी, घटेर नेप्से अधिकांश समय २७०० बिन्दु वरीपरी घुमेको थियो ।

गत वर्ष नेप्से ३००० बिन्दुमा उक्लिनेक्रममा कारोबार रकममा नयाँ रकर्ड नै कायम भएको थियो । अर्थात्, गत वर्ष एकै दिन (साउन ३१)मा २९ अर्ब ३० करोड रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । तर, नेप्से गत वर्षकै बिन्दुमा उक्लिँदा पनि कारोबारमा सो किसिमको उत्साह देखिएन । यद्यपि, साउन ११ गते नेप्से २९६४ बिन्दु (इन्ट्राडेमा ३०१३)मा भएको दिन २५ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भने भएको थियो ।

त्यसबाट घटेर आइतबार (भदौ १५ गते)सम्म आईपुग्दा कारोबार रकम ६ अर्बमा मात्रै सीमित भएको छ । लगानीकर्ता तथा विश्लेषकले यस पटक बजार माथिल्लो बिन्दु उक्लिने, नयाँ रेकर्ड बन्ने भनेपनि त्यो स्थिति अहिलेसम्म देखिएको छैन । नीतिगत तथा समग्र वित्तीय सूचक भने सेयर बजार अनुकुल नै देखिन्छन् ।

बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम थुप्रिँदा र घट्दो ब्याजदरका कारण यस वर्ष बैंक तथा वित्तीय संस्थाको सेयर धितो कर्जा प्रवाह उल्लेख्य मात्रामा वृद्धि भएको छ । यसका अलावा, बिमा कम्पनीहरुले पनि सेयर बजारतर्फको लगानी ठुलो मात्रामा बढाएको तथ्यांकले देखाउँछ ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष सेयरबजारमा बैंकदेखि बिमा कम्पनीसम्मको आकर्षण उच्च मात्रामा वृद्धि भयो । बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा उल्लेख्य मात्रामा बढाउँदै गर्दा बिमा कम्पनीले पनि यसतर्फको लगानीलाई उच्च मात्रामा बढाए। निर्जीवन बिमा कम्पनीको भन्दा जीवन बिमा कम्पनीको सेयर तर्फको आकर्षण अझै उत्साहपूर्ण छ ।

ब्याजदर न्यून हुँदा बिमकको लगानी सेयर बजारमा ‘सिफ्ट’

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ९० अर्ब ९ करोड रुपैयाँ लगानी गरेका बैंक तथा वित्तीय संस्था (वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी) ले गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा आईपुग्दा ५६.१७ प्रतिशत (५० अर्ब रुपैयाँ)ले बढाएर १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ पुराएका छन् ।

अघिल्लो आर्थिक वर्षमा ७० अर्ब ३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका वाणिज्य बैंकले गत आर्थिक वर्षसम्म आईपुग्दा ६६.०५ प्रतिशतले बढाएर १ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ पुराएका छन । अघिल्लो आर्थिक वर्षमा १५ अर्ब ५९ करोड रुपैयाँ लगानी गरेका विकास बैंकहरुले गत वर्षको सोही अवधिमा आईपुग्दा २५.३१ प्रतिशतले बढाएर १९ अर्ब ५४ करोड रुपैयाँ पुराएको तथ्यांक केन्द्रीय बैंकसँग छ ।

यस्तै, अघिल्लो आर्थिक वर्षमा ५१ करोड ५४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका फाइनान्स कम्पनीले गत आर्थिक वर्षमा आईपुग्दा ४.७४ प्रतिशतले वृद्धि गर्दै ४३ करोड ५१ लाख रुपैयाँ लगानी सेयर धितो कर्जामा प्रवाह भएको छ । बैंकसँगै बिमा कम्पनीको सेयर धितो कर्जा तर्फको लगानी हेर्ने हो भने यसतफै धेरै हौसिएको पाउन सकिन्छ ।

तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १९ अर्ब १२ करोड ६४ लाख रुपैयाँ लगानी सेयर बजारमा गरेका जीवन बिमा कम्पनीले गत आर्थिक वर्षमा ५९.५८ प्रतिशतले बढाएर ३० अर्ब ५२ करोड २८ लाख रुपैयाँ पुराए । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८६ करोड ५ लाख रुपैयाँ लगानी गरेका निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्षमा १४.५४ प्रतिशतले बढाउँदै ४ अर्ब ४२ करोड १८ लाख रुपैयाँ बराबरको लगानी सेयर बजारमा गरेको देखिन्छ ।

युनाइटेड अजोड इन्स्योरेन्सका नायब–प्रमुख कार्यकारी अधिकृत (डि–सीईओ) रेना रिजाल मुद्दती निक्षेपको ब्याजदर घटेर जाँदा अधिकांशको लगानी स्टकतर्फ सिफ्ट भएको बताउँछिन् । ‘पछिल्लो समय बैंकको ब्याजदर न्यून बिन्दुमा खुम्चिएको र अझै केही समय वृद्धि हुने अवस्था देखिँदैन,’ रिजाल भन्छिन्, ‘यहि, कारण बिमा कम्पनीहरुको लगानी स्टकतर्फ सिफ्ट हुँदा अघिल्लो वर्षको तुलनामा गत वर्षको वृद्धि उच्च देखिएको हो ।’

सेयर कर्जा र लगानी बढ्दा पनि किन ओरालो लाग्यो नेप्से?

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेयर धितो कर्जा बढेको बढै छ । अर्कोतर्फ, बिमा कम्पनीले सेयर धितो कर्जामा गर्ने लगानी पनि उल्लेख्य बढेको देखिन्छ । तर, सेयर बजारले भने लय समाउन सकेको छैन । अझ, भनौं गत वर्ष जस्तै नेप्से यस वर्ष पनि ३००२ बिन्दुमा पुगेर २७००/२८०० बिन्दु वरीपरी नै घुमिरहेको छ । अर्थात्, बजारमा जुन किसिमले लगानी बढेको छ त्यसको रिफ्लेक्सन देखिएको छैन ।

‘समग्र वित्तीय सूचक, बजार साइकल तथा माहोल हेर्दा यो पटक बजारले नयाँ रकेर्ड बनाउने आँकलन हामीले गरेका थियौं । तर, बजार सोचे जस्तो हुँदैन भन्ने जस्तै यस वर्ष पनि देखियो,’ एक विश्लेषकले भने, ‘खासगरी, २०७८ मा नेप्से उच्च बिन्दुमा हुँदा धेरै लगानीकर्ता फसे । हालसम्म पनि त्यसैको त्रासले सूचक माथि जान नसकेका हो कि जस्तो देखिन्छ ।’ उनले नेप्से ३२०० पुगेर लगातार घट्दै २००० भन्दा तल आउँदाको मनोवैज्ञानिक असर लगानीकर्तामा अझै रहेको बताए ।

जीवन बिमा कम्पनीको लगानी
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष जीवन बिमा कम्पनीले पनि सेयर बजारमा गरेको लगानी पनि ५९.५८ प्रतिशतले बढाए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १९ अर्ब १२ करोड ६४ लाख रुपैयाँ लगानी सेयर बजारमा गरेका जीवन बिमा कम्पनीले गत आर्थिक वर्षमा ५९.५८ प्रतिशतले बढाएर ३० अर्ब ५२ करोड २८ लाख रुपैयाँ पुराए ।

व्यक्तिगत कम्पनीहरुको सेयर बजारमा आकर्षण हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ३३९ प्रतिशतले सिटिज लाइफले वृद्धि गरेको देखिन्छ । अघिल्लो आर्थिक वार्षिक वर्षको तुलनामा गत आर्थिक वर्ष सन नेपाल लाइफले १५७ प्रतिशत, नेशनल लाइफले १५२ प्रतिशत र सूर्यज्योति लाइफले १२९ प्रतिशतले सेयर बजारतर्फको लगानी वृद्धि गरेको देखिन्छ ।

तथ्यांकअनुसार सर्वाधिक सेयर बजारमा लगानी गर्ने कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ जसले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १० अर्ब ८५ करोड रुपैयाँको लगानी गरेको छ । सबैभन्दा कम सेयर बजारमा लगानी गरेको राष्ट्रिय बिमा कम्पनीको यस्तो लगानी ५४ करोड रुपैयाँ छ ।

निर्जीवन बिमा कम्पनीको लगानी

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष निर्जीवन बिमा कम्पनीहरुले पनि सेयर बजारतर्फको लगानी १४.५४ प्रतिशतले बढाएको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८६ करोड ५ लाख रुपैयाँ लगानी गरेका निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्षमा१ ४.५४ प्रतिशतले बढाउँदै ४ अर्ब ४२ करोड १८ लाख रुपैयाँ बराबरको लगानी सेयर बजारमा गरेको देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चार वटा निर्जीवन बिमा कम्पनीले सेयर बजारतर्फको लगानी घटाउँदा एक कम्पनीले स्थिर र अन्य कम्पनीले बढाएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सानिमा जीआईसीले २८९ प्रतिशतले सेयरमा लगानी बढाउँदा नेपाल लाइफले १९८ प्रतिशतले लगानी वृद्धि गरेको छ ।

निर्जीवन बिमा कम्पनी मध्येमा सबैभन्दा बढी सेयर बजारमा लगानी गर्ने कम्पनीमा राष्ट्रिय बिमा कम्पनी रहेको छ जसले कुल ७९ करोड ४१ लाख रुपैयाँको लगानी गरेको छ । सगरमाथा लुम्बिनीले ७१ करोड र नेको इन्स्योरेन्सले ५४ करोड १७ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाको सेयर धितो कर्जा
अघिल्लो वर्षको तुलनामा गत वर्ष मार्जिन प्रकृतिको सेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाको लगानी उल्लेख्य मात्रामा बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ९० अर्ब ९ करोड रुपैयाँ लगानी गरेका बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा आईपुग्दा ५० अर्ब (५६.१७ प्रतिशत)ले बढाएर कुल लगानी १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ पुराएका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष फाइनान्स कम्पनीले मात्रै सेयर धितो कर्जाको लगानी ४.२७ प्रतिशतले बढाएका छन् । अघिल्लो आर्थिक वर्ष ४ अर्ब १५ करोड रुपैयाँ लगानी गरेका फाइनान्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्म आईपुग्दा बढाएर कुल ४ अर्ब ३५ रुपैयाँ पुराएका छन् ।

यस्तै, सेयर धितो कर्जामा अघिल्लो आर्थिक वर्षमा १५ अर्ब ५९ करोड रुपैयाँ लगानी गरेका विकास बैंकहरुले गत वर्षको सोही अवधिमा आईपुग्दा २५.३१ प्रतिशतले बढाएर १९ अर्ब ५४ करोड रुपैयाँ पुराएका छन् । अघिल्लो आर्थिक वर्षमा ७० अर्ब ३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका वाणिज्य बैंकले गत आर्थिक वर्षसम्म आईपुग्दा ६६.०५ प्रतिशतले बढाएर १ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ पुराएका छन् ।

तथ्यांकअनुसार गत आर्थिक वर्षको असारसम्ममा मार्जिन प्रकृतिको सेयर धितो कर्जामा नबिल बैंकले सर्वाधिक १६ अर्ब ७६ करोड, ग्लोबल आईएमई बैंकले १२ अर्ब ३० करोड, कुमारी बैंकले १० अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष माछापुच्छ्रे बैंकले यस्तो कर्जा ४२.१० प्रतिशत र नेपाल एसबीआई बैंकले २०७.१५ प्रतिशतले बढाएको छ ।