मोदी चीन जानुअघि मिसाइल परीक्षण, रणनीतिक सन्देश के हो ?

दक्षिण एसियामा मिसाइल दौड तीव्र, भारत-पाकिस्तानले एकअर्कालाई मात्र दिएका छैनन् ध्यान

910
Shares

एजेन्सी । भारतले अगस्ट २० मा आफ्नो मध्यम दूरीको क्षेप्यास्त्र अग्नि–५ को सफल परीक्षण गरेको घोषणा गर्‍यो । यो परीक्षण उडीसा राज्यको बंगालको खाडी तटस्थित परीक्षण मैदानमा गरिएको हो ।

अग्नि–५ को लम्बाइ १७.५ मिटर छ, यसको तौल करिब ५० हजार किलो हुन्छ । यसले १,००० किलोभन्दा बढीको आणविक वा सामान्य बम बोक्न सक्छ । यो मिसाइल ५,००० किलोमिटरभन्दा टाढासम्म पुग्न सक्छ र प्रति घण्टा ३०,००० किलोमिटरको गतिमा उड्न सक्छ । यसलाई विश्वकै छिटो क्षेप्यास्त्रमध्ये एक मानिन्छ।

यो परीक्षण पाकिस्तानले आफ्नो नयाँ आर्मी रोकेट फोर्स कमाण्ड गठनको घोषणा गरेको एक सातापछि भएको हो। पाकिस्तानले यो कमाण्ड भारतसँग गत मे महिनामा भएको चार दिने झडपमा देखिएको कमजोरीलाई सुधार्न बनाएको बताइन्छ।

तर धेरै विज्ञहरू भन्छन्, भारतको यो परीक्षण पाकिस्तानलाई भन्दा बढी चीनलाई सन्देश दिनका लागि हो।

अग्नि–५ को दायरा एशियाको धेरै भाग र युरोपका केही भागसम्म पुग्छ । यसले चीनका उत्तर भागसम्म सजिलै प्रहार गर्न सक्छ । यो मिसाइल सन् २०१२ देखि अहिलेसम्म १० पटक परीक्षण भइसकेको हो । गत वर्ष मार्चपछि पहिलो पटक यसको प्रक्षेपण गरिएको हो । विश्लेषकहरूका अनुसार यसको समय निकै अर्थपूर्ण छ।

यो परीक्षण प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमण भन्दा केही दिन अघि भएको हो । मोदी चीनमा शंघाई सहयोग संगठन सम्मेलनमा जान लागेका छन् । भारत–चीनबीच सीमाको कारण वर्षौं तनाव भए पनि अहिले सम्बन्ध केही सुधार भइरहेको छ । यसमा अमेरिकाले भारतमाथि बढाएको करले पनि भूमिका खेलेको छ । अमेरिकाले हालसालै भारतबाट आयात हुने सामानमा कर दोब्बर बढाएर ५० प्रतिशत पुर्‍याएको छ ।

तर सम्बन्ध केही न्यानो भए पनि भारत अझै पनि चीनलाई आफ्नो मुख्य खतरा मान्छ । विज्ञहरूका अनुसार भारतले मध्यम र लामो दूरीका क्षेप्यास्त्रहरू विकास गर्नुको मुख्य कारण चीनसँग बराबरी गर्न हो ।

पाकिस्तानसँगको तुलनामा भारतको लाभ

भारतले गत मे महिनाको झडपमा आफ्ना केही लडाकु विमान गुमाएको स्वीकार गरेको थियो । तर भारतले पाकिस्तानका सैन्य आधारमा ठूलो क्षति पुर्‍याएको पनि देखियो, खासगरी यसको सुपरसोनिक ब्रह्मोस मिसाइल प्रयोग गरेर ।

ब्रह्मोसले ३०० किलोसम्म बम बोकेर ५०० किलोमिटर टाढा पुग्न सक्छ । यो जमिन नजिकै तल्लो उचाइमा तीव्र गतिमा उड्ने भएकाले रोक्न कठिन हुन्छ। त्यसैले पाकिस्तानको क्षेत्रमा सजिलै प्रवेश गर्न सक्छ ।

यस कारण धेरै विज्ञहरू भन्छन्, अग्नि–५ को परीक्षण पाकिस्तानले एआरएफसी घोषणा गरेकै कारण भएको होइन । बरु, यो चीनलाई सन्देश दिने उद्देश्यले भएको हो ।

सन् २०२० मा भारतीय र चिनियाँ सैनिकबीच घातक भिडन्त भएपछि चार वर्षसम्म सीमा क्षेत्रमा दुवै देशका सेना आमनेसामने उभिएका थिए । त्यसपछि मात्र सन् २०२४ को अक्टोबरमा मोदीले रसियामा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटेर सम्बन्ध सुधार्ने प्रक्रिया सुरु गरेका थिए ।

मोदीको आइतबार हुने चीन भ्रमण २०१८ पछि पहिलो पटक हुनेछ । भारतले अघिल्लो पटक चीनसँग सम्बन्ध सुधार्ने प्रयास गरे पनि पछि प्रायः चीनले सीमा क्षेत्रमा आक्रामक व्यवहार देखाएको भारतको आरोप छ ।

‘भारतलाई लामो दूरी पुग्ने तर अन्तरमहादेशीय नभएको क्षेप्यास्त्र आवश्यक हुनुको कारण चीनप्रति उसको भय हो,’ नयाँ दिल्लीस्थित सेन्टर फर एयर पावर स्टडीज की विज्ञ मनप्रीत सेठी भन्छिन् ।

‘अग्नि–५ भनेको ५,००० किलोमिटर पुग्ने आणविक क्षमतायुक्त क्षेप्यास्त्र हो, जुन भारतले चीनविरुद्ध प्रतिरोधको लागि बनाएको हो । पाकिस्तानसँग यसको सम्बन्ध छैन,’ उनले भनिन् ।

न्यूयोर्कस्थित युनिभर्सिटी एट अल्बानीका प्राध्यापक क्रिस्टोफर क्लेरी पनि यसैमा सहमत छन् ।

‘यद्यपि अग्नि–५ पाकिस्तानविरुद्ध प्रयोग गर्न सकिन्छ, यसको मुख्य लक्ष्य भने चीन हो,’ उनले भने, ‘चीनको पूर्वी तटमा यसको सबैभन्दा महत्वपूर्ण शहरहरू छन्, जुन भारतबाट सजिलै पुगिँदैन । त्यसैले भारतलाई लामो दूरीको क्षेप्यास्त्र चाहिन्छ ।’

दक्षिण एसियामा क्षेप्यास्त्र दौड

भारत र पाकिस्तानले पछिल्ला वर्षहरूमा आफ्नो मिसाइल भण्डार विस्तार गर्दै आएका छन् । दुवैले अझ टाढासम्म पुग्ने नयाँ प्रणालीहरू सार्वजनिक गर्दै आएका छन् ।

एआरएफसी घोषणा गर्नु अघि पाकिस्तानले फतह–४ देखाएको थियो । यसको दायरा ७५० किलोमिटर छ र यसले परम्परागत र आणविक वारहेड दुवै बोक्न सक्छ ।

भारत भने अग्नि–६ मा काम गर्दैछ, जसको दायरा १०,००० किलोमिटरभन्दा बढी हुने र यसले एमआईआरभी (मल्टिपल इन्डिपेन्डेन्टली टार्गेटेबल रिइन्ट्री भेइकल्स) प्रणालीसहितका वारहेड बोकेर विभिन्न लक्ष्यमा प्रहार गर्न सक्छ। यस्तो क्षमता पहिले नै अग्नि–५ मा देखाइएको छ ।

एमआईआरभी सक्षम मिसाइलले एउटै प्रक्षेपणमा धेरै आणविक वारहेड बोक्न सक्छ । प्रत्येक वारहेड फरक–फरक लक्ष्यमा जान सक्छ, जसले नाशको शक्ति धेरै बढाउँछ ।

अस्ट्रेलियाको नेशनल युनिभर्सिटी अन्तर्गतको स्ट्राटेजिक एण्ड डिफेन्स स्टडिज सेन्टरका अध्यापक मन्सूर अहमद भारतको पछिल्लो परीक्षणले अन्तरमहादेशीय मिसाइल क्षमतामा भएको वृद्धिलाई देखाउने बताउँछन् ।

‘भारत विभिन्न प्रकारका अग्नि मिसाइलमा काम गर्दैछ । यो परीक्षण भारतको उदीयमान पनडुब्बी–आधारित ब्यालिस्टिक मिसाइल क्षमताको प्रविधिक प्रदर्शन हो,’ अहमदले भने।

‘भारतको एसएलबीएमका वारहेड संरचनामा निर्भर गर्दै, भारत आगामी दशकमा आफ्नो एएबीएन पानी जहाज, सबमेरिन बालेस्टिक, न्युक्लियर जहाज मात्रै २००–३०० वारहेड राख्न सक्नेछ,’ उनले थपे। एसएसबीएन भनेको आणविक ऊर्जाले चल्ने पनडुब्बी हो, जसले एसएलबीएम बोकेर प्रहार गर्न सक्छ । भारतसँग हाल दुईवटा एसएसबीएन सञ्चालनमा छन् र थप दुईवटा निर्माणाधीन छन्।

पाकिस्तानसँग लामो दूरीको मिसाइल वा आणविक पनडुब्बी छैन । यसको सबैभन्दा लामो दूरीको परिचालित ब्यालिस्टिक मिसाइल शाहीन–३ हो, जसको दायरा २,७५० किलोमिटर छ।

‘पाकिस्तानसँग दक्षिण एसियाको पहिलो एमआईआरभी सक्षम ब्यालिस्टिक मिसाइल अबाबील छ, जसले २,२०० किलोमिटर टाढा प्रहार गर्न सक्छ । तर यो विश्वका आणविक शक्ति भएका कुनै पनि देशको एमआईआरभी मिसाइलमध्ये सबैभन्दा छोटो दायराको हो,’ अहमदले भने।

पाकिस्तानी पूर्वब्रिगेडियर र आणविक नीतिका विज्ञ तुघ्राल यामिन भारत र पाकिस्तानका मिसाइल लक्ष्य फरक रहेको बताउँछन् ।

‘पाकिस्तानको कार्यक्रम केवल भारतको लागि हो र यो रक्षात्मक छ । तर भारतको लक्ष्य दक्षिण एसियाभन्दा बाहिर छ । भारतका लामो दूरीका मिसाइलहरू चीनलाई ध्यानमा राखेर बनाइएको हो र ठूलो शक्ति सावित गर्नका लागि बनाइएका हुन्,’ यामिनले भने । उनी ‘द इभोल्यूशन अफ न्यूक्लियर डेटरेन्स इन साउथ एसिया’ पुस्तकका लेखक पनि हुन् ।

तर केही विज्ञहरू पाकिस्तानको मिसाइल कार्यक्रम केवल भारतलाई मात्र लक्षित नरहेको तर्क गर्छन् ।

कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेशनल पिसमा रणनीतिक मामिलाको चेयर एश्ली जे टेलिस भन्छन्, ‘भारतले चीन र पाकिस्तान दुवैलाई लक्ष्य बनाउने क्षमता चाहन्छ । तर पाकिस्तानले इजरायल र अमेरिका समेत आफ्नो दायराभित्र राख्ने प्रयास गरिरहेको छ ।’

दुवै देशका परम्परागत मिसाइल फौज मानवसहितको लडाकु विमान जोखिममा नपारी महत्त्वपूर्ण लक्ष्यमा प्रहार गर्न डिजाइन गरिएको उनको भनाइ छ ।

पाकिस्तानको महत्वाकांक्षामाथि अमेरिकाको चिन्ता, भारतप्रति समर्थन

पाकिस्तानको मिसाइल कार्यक्रम गत वर्ष डिसेम्बरमा धेरै चर्चामा आयो । त्यतिबेला अमेरिकी ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले पाकिस्तानको बढ्दो महत्वाकांक्षाबारे चेतावनी दिएका थिए ।

त्यतिबेला बाइडेन प्रशासनमा रहेका जोन फिनरले पाकिस्तानको उन्नत मिसाइल प्रविधि हासिल गर्ने प्रयासलाई अमेरिकाका लागि ‘नयाँ खालको खतरा’ भनेका थिए ।

सन् २०२५ को अगस्ट १४ मा पाकिस्तानको ७८औँ स्वतन्त्रता दिवसमा इस्लामाबादमा गरिएको प्रदर्शनीमा पाकिस्तानले सार्वजनिक रूपमा फतह–४ देखाएको थियो ।

फाइनरले सीईआईपीको कार्यक्रममा भने, ‘यदि यो क्रम जारी रह्यो भने पाकिस्तान दक्षिण एसियाभन्दा टाढा, यहाँसम्म कि अमेरिकासम्म प्रहार गर्ने क्षमता हासिल गर्नेछ ।’

यता भारतको बढ्दो मिसाइल भण्डारलाई अमेरिका वा उसका सहयोगीहरूले अस्थिरताकारी भनेका छैनन्।

‘पाकिस्तानको क्षमताहरू असुरक्षाको दृष्टिले हेरिन्छ, किनकि यसको आणविक कार्यक्रमको सुरुमा पश्चिम विरोधी भावना थियो। ९/११ पछि र एबटाबादमा ओसामा बिन लादेन पक्राउ परेको घटनापछि अमेरिकी विरोध अझ बढेको छ,’ टेलिसले भने ।

क्यानबेरास्थित शैक्षिक विज्ञ अहमदले भने भारतको लामो दूरीको मिसाइल विकासलाई पश्चिमी मुलुकहरूले खुलेआम समर्थन गरेको बताए । यो अमेरिकी नेतृत्वको एशिया–प्रशान्त रणनीतिको हिस्सा भएको उनी बताउँछन्।

‘अमेरिका र युरोपेली देशहरूले भारतलाई क्षेत्रीय सुरक्षा प्रदायकको रूपमा देखेका छन् । भारत–अमेरिका सिभिल न्यूक्लियर सम्झौता र एनएसजी (न्युक्लियर सप्लायर्स ग्रुप) बाट २००८ मा पाएको छुटले भारतलाई एनपीटीमा हस्ताक्षर नगरी पनि वास्तविक आणविक शक्ति बनाइदियो,’ उनले भने।

एनपीटी भनेको शीतयुद्धकालको सन्धि हो, जसले आणविक हतियार फैलिन नदिने, शान्तिपूर्ण प्रयोग बढाउने र नाश कम गर्ने लक्ष्य राख्दछ । यसले केवल अमेरिका, रसिया, चीन, फ्रान्स र बेलायतलाई मात्र औपचारिक रूपले आणविक शक्ति राष्ट्र मान्दछ।

तर २००८ मा ४८ देशको समूह एनएसजीबाट पाएको छुटले भारतले एनपीटी साइन नगरी पनि विश्वव्यापी आणविक व्यापारमा भाग लिन पायो । यसले भारतको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढायो ।

तर युनिभर्सिटी अफ अल्बानीका प्राध्यापक क्रिस्टोफर क्लेरी बाइडेन प्रशासनको विपरीत, अहिलेको ट्रम्प प्रशासनले पाकिस्तानको मिसाइल कार्यक्रम वा भारतको अग्नि–५ परीक्षणबारे कुनै चिन्ता नदेखाएको बताउँछन् ।

‘अहिलेलाई, पाकिस्तानले शाहीन–३ वा अबाबीलले देखाएको दायरा भित्रै परीक्षण सीमित राखे भने पश्चिमी मुलुकहरूले दक्षिण एसियाको मिसाइल विकासप्रति धेरै ध्यान दिने छैनन्। उनीहरूलाई अन्य धेरै समस्याले व्यस्त राख्छ,’ उनले भने ।

(अलजजिरामा प्रकाशित हुसेनको लेखको अनुवाद ।)