सूचीकृत होटलले कमाए सवा अर्ब नाफा, ‘विमानस्थल स्तरोन्नतिले गर्दा पर्यटनमा अपेक्षित सुधार भएन’

पर्यटनका ६ सूचीकृत कम्पनीले कमाए सवा अर्ब नाफा, सोल्टी र हायातकै १ अर्ब १८ करोड


आर्थिक वर्ष २०८१/८२ मा सूचीकृत पर्यटन कम्पनीले सवा अर्ब रुपैयाँ नाफा कमाउन ६ अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेका छन्। उनीहरुको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ३.८१ % ले बढी हो ।

काठमाडौं । आर्थिक गतिविधि वृद्धिसँगै देशमा पर्यटक आगमनको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको देखिए तापनि होटल तथा पर्यटन क्षेत्रका सूचीकृत कम्पनीको व्यापारमा भने अपेक्षाकृत सुधार नभएको देखिएको छ । सरकारले आव २०८१/८२ मा आवास तथा भोजन (होटल) क्षेत्रको वृद्धिदर ५ प्रतिशत हुने अनुमान गरेको थियो । तर, दोस्रो बजारमा सूचीकृत ६ कम्पनीको व्यापार भने मात्रै १.४३ प्रतिशतले मात्रै बढेको छ ।

यसबीचमा नयाँ तारे होटलहरु बढ्दा होटल क्षेत्रले अर्थतन्त्रमा गर्ने योगदानको हिस्सा बढ्नु र ब्यापार बाढिनुलेसमेत पुराना होटलको आम्दानी उल्लेख्य मात्रामा बढ्न नसकेको देखिएको छ ।

आव २०८१/८२ को चौथो त्रैमासिक अवधि (२०८२ वैशाख, जेठ, असार) मा पर्यटकीय व्यावसायिक गतिविधि तथा क्रियाकलापहरु तुलनात्मक रुपमा बढेको देखिन्छ । नेपाल पर्यटन बोर्डले प्रकाशित गरेको तथ्यांक अनुसार अप्रिल महिनामा १ लाख १६ हजार ४६०, मे महिनामा ८६ हजार २१६ र जुन महिनामा जम्मा ३ लाख १४ हजार ५८८ जना विदेशी पर्यटक नेपाल आएका छन् । अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमासमा ३ लाख १० हजार ६२३ जना पर्यटक नेपाल आएका थिए।

अघिल्लो वर्षको तुलनामा गत आवमा कुल पर्यटक संख्या ०.२६ प्रतिशतले मात्र बढेको छ । तर, चौथो त्रैमासिक अवधिमा अक्युपेन्सि दर अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने केही प्रतिशतले कम भएको छ ।

अर्कातर्फ नेपालको पर्यटन क्षेत्रमा तारे होटलको संख्या बढ्दो क्रममा छ । व्यवसायिक प्रतिस्पर्धाका कारण पनि सूचीकृत होटलको कमाइ उल्लेख्य नबढेको उनीहरुले प्रकाशन गरेको चौथो त्रैमास अन्त्यको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

यसैगरी हिउँद अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीका कारण उडान अवरोध हुनुको प्रभाव पनि होटलको आम्दानीमा परेको उनीहरुले वित्तीय विवरणमा उल्लेख छ ।

सन् २०२५ को सात महिनामा ६ लाख ४७ हजार पर्यटक भित्रिए

नेपाल पर्यटन बोर्डका अनुसार महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ । यसले कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्रले पुनः लयमा आएको छ ।

सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ जना अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ । जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो ।

कुन होटलको व्यापार र नाफा कति ?

पर्यटन क्षेत्रका ६ वटा सूचीकृत संस्थाले पछिल्लो एक वर्षमा सवा अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेप्सेमा सूचीकृत तारागाउँ रिजेन्सी होटल (हायात रिजेन्सी),सोल्टी होटल, ओरियन्टल होटल (र्‍याडिसन), सिटी होटल (हायात सेन्ट्रिक), चन्द्रागिरि हिल्स र कालिञ्चोक दर्शनले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

पर्यटन क्षेत्रका यी ६ संस्थामध्ये सोल्टी र हायात होटलको मात्रै नाफा १ अर्ब १८ करोड रुपैयाँ छ । सिटी होटल घाटामा छ भने अरुको नाफा निकै कम छ ।

गत वर्ष पर्यटन क्षेत्रका सूचीकृत कम्पनीमध्ये सबैभन्दा बढी नाफा कमाउने होटल हो सोल्टी । एक वर्षमा ६७ करोड रुपैयाँ नाफा कमाएको सोल्टीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ । सोल्टी होटलले कमाएको यस्तो नाफा गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा ११.७८ प्रतिशतले बढी हो । गत वर्ष सोल्टीले कमाएको ६० करोड नाफको तुलनामा यो वर्ष गरेको नाफा ७ करोड रुपैयाँले बढी हो ।

यो नाफा गर्ने क्रममा सोल्टी होटलले २ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तो आम्दानी अघिल्लो आव २०८०/८१ को तुलनामा १० प्रतिशतले बढी हो । गत वर्ष सोल्टीले २ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गरेको थियो । आर्थिक वर्ष २०८१/८२ मा सोल्टीले १ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेको तथ्यांकले देखाएको छ । अरु होटलको तुलनामा धेरै नाफा कमाएको सोल्टीको प्रतिसेयर आम्दानी भने ६.५६ पैसा मात्रै छ । अन्य कम्पनीको सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य हुनेमा सोल्टीको १० रुपैयाँमात्र छ । यसर्थ प्रतिसेयर आम्दानी निकै उच्च हो ।

गत आर्थिक वर्षमा ५१ करोड रुपैयाँ नाफा कमाएको तारागाउँ रिजेन्सी होटल (हायात रिजेन्सी)को नाफा अघिल्लो वर्षको तुलनामा ०.५५ प्रतिशतले घटेको छ । यसको नाफा अघिल्लो वर्षको तुलनामा घट्दा प्रतिसेयर आम्दानी २६ रुपैयाँ २७ पैसा छ ।

हायातले २०८२ को असारसम्म १ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गर्दा १ अर्ब ८ करोड रुपैयाँ खर्च गरेको थियो ।

गत आर्थिक वर्षमा र्याडिसन होटलले १ अर्ब ४ करोड रुपैयाँ कमाउँदा यसको ९३ करोड खर्च छ । बैंकले २ करोड ९५ लाख रुपैयाँ मात्रै नाफा गर्न सकेको छ ।

सिटी होटलले ४८ करोड रुपैयाँ आर्जन गर्दा ३७ करोड खर्चिएको छ । होटल २० करोड रुपैयाँ घाटामा छ । होटल घाटामा गएका कारण यसको प्रतिशेयर आम्दानी पनि ११ रुपैयाँ नकारात्मक छ ।

गत वर्ष ९० करोड रुपैयाँ आर्जन गरेको चन्द्रागिरि हिल्सको खर्च ५४ करोड छ । कम्पनीले २१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ छ ।

गत वर्ष कालिन्चोक दर्शनले ७ करोड ९३ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । कम्पनीको खर्च ४ करोड ८१ लाख रुपैयाँ हुँदा खुद नाफा २ करोड ७८ लाख रुपैयाँ तथा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा छ ।