तीज पर्वको वर्तमान सन्दर्भ : आधुनिकताको पराकाष्ठा कि समयको माग ?

1.5k
Shares

तीज पर्वको संघारमा वरिष्ठ सञ्चारकर्मी समा थापाले सामाजिक सञ्जाल फेसबुकमा रातो साडीमा सजिएको फोटो पोष्ट्याउदै लेखिन, ‘बल्ल सुरु हुँदैछ तीज, कति तडकभडक हो तीजका नाममा भन्दै ज्ञान पेल्न नआउनु है, बरु दर खान बोलाउनु । दसैं, तिहारजस्ता अनेक चाडमा पुरुषलाई रमाइलो गर्न दिने अनि भान्साबाट बिरलै बिदा पाउने महिलाले महिना दिन अघि दर खाएपनि आकाश खस्दैन र धर्ती फाट्दैन ।’

त्यस्तै, अर्की वरिष्ठ पत्रकार बबिता बस्नेतले तीजकै सन्दर्भमा सामाजिक सञ्जाल युबट्युबको प्लेटफर्ममा भिडियो बनाउँदै परम्परागत रुपमा मनाइने तीजपर्व र अहिले मनाइने तीजपर्वमा शैली फेरिनु स्वभाविक रहेको तर्क राखिन्, ‘त्यो बेला महिलाहरु घरका चार पर्खालभित्र सिमित थिए । उनीहरुमा केबल वेदना थियो, पितृसत्तारुपी सोचको प्रताडना थियो र उनीहरुको दायरा केबल घर र माइतीमा सिमित थियो । तर, अहिले महिला आत्मनिर्भर बनेका छन्, समाजको सोच फेरिएको छ, त्यससँगै चेतनाको स्तर उठेको छ र तीजको दायरा फराकिएको छ ।’ महिलाहरुले धेरै दिन दर खाए, तीजको मौलिकता हरायो भनेर ठूलो चिन्ता गर्नु पर्ने छैन बरु खुसी साटौं भन्ने उनको आशय देखियो ।

यसै सन्दर्भमा एक सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता पुरुषले स्टाटस लेख्दै भने, ‘तीजका नाममा कम्तीमा एउटा नभए ४/५ वटा साडी किन्ने पैसा कुनै असहायको सहायतामा खर्चिएको भए कति राम्रो हुन्थ्यो होला ?’ ती पुरूषको यही विचारको समर्थनमा अहिले महिलाले स्वतन्त्रताका नाममा तीज पर्वको मौलिकतालाई मासेको भनी तर्क गर्नेहरु पनि प्रशस्तै देखिन्छन् ।

अहिले नेपाली समाजलाई तीजको रमझमले झपक्कै छोपेको छ । के हिमाल, के पहाड त के तराई । अनि के पूर्व त के सुदुरपश्चिम बिना भुगोलको सिमाना, बिना समुदायको पगरी र बिना भेदभाव अनि पक्षपात । जसले जहाँ छ त्यही र जस्तो परिवेश छ, त्यस्तै अवस्थामा महिलाहरु तीजका नाममा खुलेर हाँसेका छन्, खुलेरै नाँचेका छन् । २/२ वर्षका बालिका देखि ८०/९० वर्षका आमाहरु, सबैको मुहारमा तीजको नामले चमक दिएको छ ।

नेपाली समाजका पर्व/उत्सवहरूले केबल धार्मिक आस्था मात्र नभई सामाजिक सम्बन्ध, संस्कार र सांस्कृतिक पहिचानलाई समेत अँगाल्ने गरेका छन् । तीमध्ये तीज पर्व नेपाली महिलाको जीवनमा विशेष महत्त्व राख्छ । हिन्दु परम्पराअनुसार भाद्र शुक्ल तृतीयादेखि पञ्चमीसम्म मनाइने यो पर्व विशेषतः शिव-पार्वतीको आराधना, ब्रत, भक्ति र मंगल कामनासँग सम्बन्धित छ । तर, आजको बदलिँदो सामाजिक, सांस्कृतिक र राजनीतिक परिस्थितिले तीजलाई पूर्णतया नयाँ आयाममा प्रवेश गराएको छ ।

अघिल्लो पुस्ताले तीजलाई कडा उपवास, पूजा/पाठ र धार्मिक संयमको पर्वका रूपमा लिँदा, नयाँ पुस्ताले यसलाई गीत/संगीत, नृत्य, फेसन र स्वतन्त्र अभिव्यक्तिको पर्वका रूपमा बुझ्न थालेका छन् । कतिपयले यसलाई आधुनिकताको पराकाष्ठा भन्छन् भने अर्कोतर्फ कतिपयले यो परिवर्तनलाई समयको स्वाभाविक मागका रूपमा देख्छन् । यति विमर्श पछि पङ्त्तिकारको मनमा एउटा प्रश्नले पिरोल्यो, ‘के तीज पर्वले साँच्चिकै आफ्नो मौलिकता गुमाउँदै गएको छ ? अथवा बदलिँदो समाजसँगै यो नयाँ स्वरूप लिनु अपरिहार्य हो ?’ आउनुहोस् छलफल गरौं ।

तीजपर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा अघिल्लो रात अर्थात् द्वितीयाका दिन दरिलो खाद्य परिकार अर्थात दर खाइन्छ । हिमालयपुत्री पार्वतीबाट सुरु भएको मानिने तीजको परम्परा निकै पुरानो छ । हिमालय पर्वतले आफ्नी पुत्रि पार्वतीको विवाह विष्णु भगवानसँग गरिदिने तय गरेको कुरा सखीहरुबाट थाहा पाई आफ्नो महादेव स्वामी पाउने दृढ प्रतिज्ञामा पार्वतीले शिव प्रतिमा बनाई निराहार ब्रत बसेर शिवजी स्वामी पाएको धार्मिक विश्वासका आधारमा तीजपर्वको परम्परा निरन्तर प्रचलनमा रहेको मानिन्छ । सखी(साथीहरु)द्वारा हरण गरिएकी पार्वतीको प्रसंगबाट यस पर्वलाई हरितालिका तीज भन्ने गरेको भनाई छ ।

हरितालिका तीजको ब्रत पवित्र मन-वचनका साथ बस्दा अविवाहितले चिताएको वर पाइने तथा विवाहितहरूले आफ्ना पतिको दीर्घायु तथा सुस्वास्थ्य प्राप्त गर्ने परम्परागत मान्यता छ ।

त्यस्तै हरितालिका तीजको ब्रत सकिएपछि मनाइने पञ्चमीको परम्परागत महत्त्व भने फरक छ । चाहे विवाहित हुन् वा अविवाहित सम्पूर्ण नारीले यो दिनलाई आफ्ना लागि मनाउँछन् । पञ्चमीमा टोकिने ३ सय ६५ वटा दतिवनका डाँठले वर्षभरि जान अञ्जानमा भए गरेका कायिक, वाचिक एवं मानसिक गल्तीबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ । यो दिनलाई महिलाको रजस्वलासँग प्रत्यक्ष जोडेर हेर्ने परम्परा छ । युवतीहरू प्रथम रजस्वलापछि मात्र पञ्चमी पूजामा सरिक हुन्छन् भने विवाहित प्रौढ एवं महिलाहरू रजस्वलाका बखत छुन नहुने चीज वा देवीदेवतालाई भूलवश छोइएको भए पनि दतिवन टोकेपछि सम्पूर्ण पाप पखालिने कुरामा विश्वास गर्छन् ।

यद्यपी, अहिले रजश्वलालाई छोईछिटो वा पाप लाग्ने विषयसँग जोडीनु सरसर गलत हो, यो प्राकृतिक एवंम् वैज्ञानिक विषय हो भनी महिलाहरुबाट पञ्चमीसँगको सन्दर्भमा केही असन्तुष्टीका आवाजहरु पनि आउने गरेका छन् । तथापी आफ्नो स्पष्ट धारणा सहित गरिने कुनैपनि कर्म आफ्नो-आफ्नो लागी स्वीकार्य देखिन्छ । यत्ति हो परम्परा वा आस्थाका नाममा मानव जीवनमै क्षती हुने गतिविधि हुनु भएन ।

तीज पर्वको परम्परागत महत्त्व सम्बन्धसँग जोडिएर आएको छ । सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । अहिले पनि यसको आस्था र महत्त्व उत्तिकै छ । अनदीको लट्टे, तिलको छोप हालिएको करेलाको अचार आदि परिकारको स्वादसँगै पुराना भाका र शैलीका गीत गाउने, पानी नपिई ब्रत बस्ने, पञ्चमीको पूजापछि कर्कलो खानेजस्ता परम्परागत संस्कार छन् । जति पहिलो पुस्तासँगको संगतबाट संस्कार सिकिन्छ त्यति अरूले गरेको देखेर प्राप्त हुँदैन । तीज पर्वको मर्म पनि पारिवारीक सम्बन्धसँगै पुस्ता-पुस्तामा हस्तान्तरण भएको देखिन्छ । तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्त्व छ ।

धार्मिक संस्कारयुक्त सर्वमान्य तीज पर्वका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको ब्रतमा अन्तरनिहित छ । तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । एक प्रकारले हेर्दा यसले महिलालाई पुरुषको अन्धभक्त बनाउन खोजेजस्तै देखिन्छ । पुरुषभक्त हुन गरिने ब्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमान् को दीर्घायु, सुस्वास्थ्य, प्रगति हुने मान्यता छ । अहिले समानताका पक्षधर कतिपय पुरुषहरुले श्रीमतीसँगै आफु पनि ब्रत वस्ने गरेको बताउँछन् । जसबाट श्रीमान् श्रीमती वीच समभाव र प्रगाड सम्बन्ध प्रवर्द्धन भएको पनि देखिन्छ ।

मान्छे जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । तीज मुलत नारी केन्द्रीत सांस्कृतीक पर्व हो । नेपालमा रहेका हिन्दू नारीले विषेश महत्त्व र उल्लासका साथ मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ ।यसले सामाजिक तथा सांस्कृतिक अन्तरघुलनमा टेवा पुग्नुका साथै आपसी सद्भाव र भाइचारा प्रवर्द्धनमा पनि उल्लेख्य भुमिका खेलेको छ । तीजलाई केबल धार्मिक दृष्टिकोणले मात्र नभई सामाजिक मिलन-मेलाका रूपमा पनि हेर्न सकिन्छ । परम्परागत रुपमा पनि विहे गरेर गएका दिदी-बहिनीहरू आफ्नो माइती घर फर्कने, आ-आफ्नो गुनासो पोख्ने, आपसी स्नेह आदानप्रदान गर्ने अवसरका रूपमा पनि तीजलाई महत्त्व दिइन्थ्यो । यसरी, परम्परागत तीजको आत्मा भक्ति, संयम र आपसी सम्बन्ध सुदृढीकरणमै केन्द्रीत थियोरहन्थ्यो । जुन कुरा आज पर्यन्त कायम छ ।

तीज पर्वको वर्तमान सन्दर्भ के हो ?

प्राचिन धार्मिक महत्त्व बोकेको तीज पर्वलाई मनाउने सन्दर्भमा वर्तमान समयको बहस के र किन भन्ने कुरा तीज पर्वको वर्तमान सन्दर्भको रुपमा व्याख्या गर्न सकिन्छ । वर्तमान तीजको आलोचना देहाय अनुसार हुने गरेको बुझिन्छ :

१. महिना दिन अघिदेखि दर खान्छन्: तीज पर्वका नाममा महिना दिन अघिदेखि महिलाहरु दरखाने गर्न थाले । जसबाट आर्थिक भार बढ्नुका साथै तीजको परम्परागत मौलिक मुल्य हरायो- पहिला केबल एक दिन(भाद्र शुक्ल द्वितीया) मात्र दर खाइन्थ्यो, त्यो पनि माइतमा गएर । महिनौं खाएको के दर हो ? यो विकृती हो यसले समाजलाई विगार्छ । त्यस माथि पनि पार्टीप्यालेसमा दर खाने यो कसरी दर हो ?

२. नयाँ सारी, गहना र फेसनको रुपमा तीज: तीज आयो कि महिलालाई नयाँ सारी वा फेसनेबल लुगा र गहना चाहिन्छ । यो फजुल खर्च हो । यसलाई निरुत्साहित गर्नु पर्दछ । हुनेले फेसनेबल पहिरन लगाउने र गहना प्रदर्शन गर्ने गर्दा नहुनेलाई त्यसले ठूलो असर पार्दछ । यसले समाजमा खाडल सिर्जना गर्दछ ।

३. अहिलेका तीज गितमा मौलिकता छैन: पहिला -पहिला जस्तो तीजको मौलिक महत्त्व बोकेका गीतहरु सुन्न पाइँदैन । गीतको मर्मले सही भन्दा गलत अर्थ बढी दिने गरेको छ । जसबाट समाजमा विकृती फैलिन्छ, यसलाई निरुत्साहित गर्नु पर्दछ ।

४. तीजका नाममा महिलाहरु सामाजिक सञ्जालमा बढी समय खर्चिन्छन्: महिलाहरु दर खाने, तीज मनाउने नाममा भेला हुने र टिकटक तथा अन्य सामाजिक सञ्जालमा बढी सक्रिय हुन थाले । जसले समय बर्बाद पार्नुका साथै समाजमा गलत सन्देश प्रवाह भएको छ । धेरै नौटंकी हुन थालेको छ ।

यी र यस्तै तर्कहरुले तीज पर्वको वर्तमान सन्दर्भलाई धुमिल पारेको छ । यसमा भएका सकारात्मक प्रभाव र मर्मलाई ओझेल पार्दै नकारात्मक सन्देशले प्रश्रय पाउँदा वर्तमान तीज पर्व आफैंमा आलोचनाबाट अछुतो रहन सकेको छैन ।

वर्तमान समाजमा तीजले महिलालाई आफ्ना पीडा, असमानता र अधिकारका मागलाई गीतमार्फत् मुखरित गर्ने अवसर दिएको छ । यसले तीजलाई केबल पूजा/ब्रतमा सीमित नराखी महिला सशक्तीकरण र चेतनाको पर्वका रूपमा पनि स्थापित गराएको छ । व्यस्त जीवनशैलीमा तीज महिलाहरूका लागि खुसी मनाउने, आत्मसन्तुष्टि प्राप्त गर्ने र सामाजिक सम्बन्ध बलियो बनाउने अवसर बनेको छ ।

के गर्ने ?

तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लैजानु पर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन ।

पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नभएका हुँदा एकदिन भए पनि मीठो- मसिनो ख्वाउन माइती पक्षकाहरू लामो समयदेखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौं अगाडिदेखि पर्खेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्व नेपाली महिलाको आत्मीय पर्व हो ।

अहिलेका महिलाहरु सशक्त भएकाछन् आफ्नो खुट्टामा उभिएकाछन् अनी उनिहरुको सामाजिक दायरामा पनि बढोत्तरी भएको छ र घर परिवारको संकृढ सोच पनि क्रमश: फराकिलो हुदै गएको छ । जसको प्रत्यक्ष एवं ज्वलन्त उपस्थिती तीज पर्वको मनाउने शैलिमा देखिएको छ । यसमा भित्रिएका केही असभ्य व्यवहारहरुलाई अपवाद मान्ने हो भने वर्तमान सन्दर्भको तीज पर्व नारी एकता, समानता, स्वतन्त्रता र खुसीको मूल बनेको छ । सम्बन्धमा दायरा फराकिला भएकाछन, हिजो बोल्न धकमान्ने महिलाहरु आज खुलेर गाउने/नाच्ने/आफ्नो कुरा राख्ने भएकाछन् ।

यसबाट महिला शसक्तिकरणमा टेवा पुगेको छ, सामाजिकीकरण भएको छ । जसका लागी राज्यले ठूलो लगानी गर्नु पर्ने हुन्छ, त्यो काममा वर्तमान सन्दर्भको तीज मनाउने शैलीले पनि इँटा थप्ने काम गरेको छ ।

यसरी, तीजको वर्तमान सन्दर्भ परम्परा र आधुनिकताको संयोजन हो । एकातिर यसमा अझै पनि भक्ति, संयम र पारिवारिक मूल्य विद्यमान छन् भने अर्कोतिर आधुनिक स्वतन्त्रता, आत्म-अभिव्यक्ति र महिला चेतनाको स्वरूप पनि मिसिएको छ । यदि यसलाई केबल प्रदर्शन वा उपभोगमा सीमित गरियो भने मौलिकता हराउने खतरा छ । तर, परम्परागत आत्मा र आधुनिक चेतनाबीच सन्तुलन कायम गर्न सकियो भने तीज भविष्यमा अझ सशक्त सांस्कृतिक सम्पदा बन्न सक्छ । तसर्थ, समाजका बुज्रुक जमातले यि महिलाहरु बिग्रिए वा तीजमा विकृती फैलाए भनेर कुरा काट्नु सट्टा भएका गलत व्यवहारलाई क्रमश: हटाउँदै लैजाने तर पर्वको शैली र मनोविज्ञानलाई सकारात्मक पृष्ठपोषण दिन जरुरी देखिन्छ ।

तीज पर्व नेपाली महिलाको मात्र नभई सम्पूर्ण नेपाली समाजको सांस्कृतिक पहिचान, आस्था र सामाजिक मिलनसँग गाँसिएको पर्व हो । यसको स्वरूप समयसँगै बदलिए पनि यसको मूल आत्मा अझै जोगिएको छ । आजको तीजलाई न त केबल आधुनिकताको पराकाष्ठाका रूपमा मात्र बुझ्न सकिन्छ, न त मात्र समयको माग भनेर व्याख्या गर्न सकिन्छ । यो दुबैको संयोजन हो । समाज परिवर्तनसँगै विकसित भएको तर आफ्नै मौलिकता बोकेको पर्व तीजको गरिमा अझ उँचो पार्न जरुरी छ । त्यसैले तीजलाई आजको सन्दर्भमा भक्ति र मनोरञ्जन, परम्परा र आधुनिकता, आस्था र स्वतन्त्रताको सन्तुलित समन्वयका रूपमा बुझ्दा मात्र यसको वास्तविक मूल्य प्रकट हुन्छ । महिलाको अधिकार, स्वतन्त्रता र चेतनालाई आत्मसात् गर्दै तीजलाई भक्ति, संयम सहकार्य र सहअस्तित्व स्वीकारिएको पर्वका रूपमा अघि बढाउन सक्दा मात्र यसले आफ्नो शाश्वत सान्दर्भिकता कायम राख्नेछ ।

Skip This